ममी ! यतिबेलासम्म नसुतेर के गर्नुभएको ?

लघुकथा: खिल

गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ

श्रीमान् मस्त निद्रामा घुर्न थाल्दा पनि रिमा निदाउन सकिन । घरी ओल्टे घरी कोल्टे फिर्दैमा रात छिप्पिन थाल्यो । उसलाई छोरीको फुङ्ग उडेको आकृतिले चसक्क मुटुमा घोचिरह्यो ।

ऊ जुरुक्क उठी र अर्को कोठामा गएर छोरीलाई फोन लगाई ।

‘ममी ! यतिबेलासम्म नसुतेर के गर्नुभएको ?’, उताबाट आवाज आयो ।

रिमाले निराश हुँदै भनी, ‘छोरी ! तिमी बिस्तारै बिस्तारै उतैको बसाइमा अभ्यस्त हुँदै जाउली भन्ने सोचेकी थिएँ । तर जति पछिपछि भयो उतिउति तिम्रो अनुहारको हाँसो गायब हुँदै छ ।मलाई यही कुराले सकस दिएर निदाउन सकिनँ ।’

एकछिन सन्नाटा छायो । दुबैतिरको भिडियो अफ भयो । छोरीले रुन्चे स्वरमा भनी, ‘त्यस्तो केही होइन ममी । आज फार्ममा काम गर्न जाँदा मौरीले टोक्यो । त्यही दुखाइले अलिअलि अनुहार अँध्यारो भयो होला ।’

छोरीको कुराले रिमा आँत्तिई । उसले हडबडाउँदै भनी, ‘टोकेको ठाउँमा फलाम दलिनौ छोरी ?’

‘मैले टोक्नासाथै सेप्टीले खिल निकालिसकेँ ममी !’, छोरीको कुरा सुन्नासाथ रिमाको मुखबाट एक्कासि क्रन्दन मिश्रित ममता बोल्न थाल्यो, ‘तिमीले त सेप्टीको सहायताले छिट्टै खिल निकालिछ्यौ छोरी, तर तिमीलाई दुखेको खबरले मेरो मुटुमा गाडेको खिल झिक्न मैले केको सहायता लिने होला ?’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button