‘कोसी’ सम्पादक सुविद गुरागाईको हाइकु–काव्य
१. कुहिरोमा काग
प्रजातन्त्रको
महा–उत्सवकै बेला
गल्र्याम–गुर्लुम !
कर्कलोमा शीत
सम्पूर्ण प्रजातन्त्र
आँखा तरी मर !
संसद् कहाँ छ ?
खोजिरहेछ दुनियाँ
कुहिरोमा काग ।
…
२. नम: शिवाय !
भन्नु पो हुन्न
उर्लिन्छन् मान्छेहरू
तर बोल्दैनन् ।
मुलुकमा कठै
चिहानभन्दा गहिरो
मूर्दा चिसो छ ।
हावामा छैन,
धर्म निरपेक्षता
नमः शिवाय !
…
३. कालोपत्रे
बढेका बढ्यै
कुहिरोमा कागहरू
के होला अब ?
फरक परेन
सबैभन्दा खुसी छन्
भ्यागुताहरू ।
परेको बेला
कालोपत्रे ओसियो
राम्रो भएन ।
…
४. बोधिसत्व
बिरालाहरू
ङ्यार्र–ङुरर्र गर्दैछन्
तुवाँलो चाटेर ।
आकाशगर्भमा
साधना भङ्ग हुँदा
बुद्धत्व दुख्छ ।
चिसैचिसो छ
बिचरा बोधिसत्व
हुरुक्क होला ।
…
५. फलैँचा
खाली फलैँचा
पर्खिरहेछ अझै
फुर्सदिलो मन !
झिँजो नमानी
फलैँचाको नियति
पर्खिनु धर्म !
बिर्सिए पनि
बटुवाले फलैँचा
अर्को आउँछ ।