‘बाई द वे, मेरी क्रिसमस टु यु’

कुमार शर्मा / सिड्नी, अस्ट्रेलिया

काम सुरु गर्नुअघि पार्कमा बसेर एक सर्को तान्दै थिएँ। एउटा भर्खरको केटो नजिक आइपुग्यो। उमेर हुँदो हो त्यस्तै १६-१७।

भन्यो- ‘कृपया, एउटा चुरोट पाउन सक्छु?’
सिड्नीमा यस्ता दृश्य बग्रेल्ती भेटिन्छन्। चुरोट पिउने गर्नुहुन्छ भने एक दुई खिल्ली माग्ने यहाँ जहीं तहीं भेटिन्छन्।
उसको अनुहारतिर हेर्दै सोधें- ‘कति भयो उमेर?’

‘१८ भएँ, १८’- उसले हतार हतार तर आत्मविश्वासका साथ भन्यो। अलि ढिला भने मैले उसको कुरा पत्याउन्नँ कि भन्ने उसलाई लाग्यो होला।

यो अलग कुरा हो कि मैले उसको कुरा फेरि पनि पत्याइनँ।

भनें- ‘१८ हो भने त आफै किन्दा पनि भयो।’

‘हो तर मसँग पैसा छैन। माग्दा माग्दा हैरान भैसकें’- उसले भन्यो।

क्लिन्ट इस्टउडको सन् २००८ को चलचित्र ‘ग्रान टोरिनो’मा उनले निर्वाह गरेको पात्रले फिल्ममा एक-दुई पटक एउटा डाइलग भन्छ। डाइलगको पृष्ठभूमि र जुन अन्दाजले इस्टउडको मुखबाट त्यो शब्द निस्किन्छ- मलाई हमेशा खतरा लाग्थ्यो। फिल्मको त्यो डाइलग थियो- मेक माई डे!

भनें- ‘ठीक छ। म तिम्रो आजको दिन बनाईदिन्छु। आई विल मेक योर डे!’

म सकारात्मक हुन्छु होला भन्ने कुरा सायद उसले अपेक्षा गरेको कुरा थिएन। कुरा सुनेर ऊ मुस्कुरायो। एक खिल्ली चुरोट हातमा पर्दा थप अनुग्रहित देखियो।

सोधे- ‘लाइटर त छ नि?’

हाँस्दै भन्यो- ‘छ छ।’

धन्यवाद भनेर ऊ हिंड्यो। अलि पर पुगेपछि फेरि उसको आवाज सुनियो।

‘बाई द वे, मेरी क्रिसमस टु यु,’ म तिर हेर्दै ऊ भनिरहेको थियो। १८ भन्दा कम उमेर भएकाले यता चुरोट किन्न पाउँदैनन्। कसैले बेच्यो भने पनि त्यो गैरकानुनी हुन्छ। अठार नपुगेकालाई यसरी सार्वजनिक स्थलमा चुरोट दिनु पनि एक हिसाबले गैरकानुनी काम नै हो। तर उता देशको राजनीतिक गन्जागोलले देखाइसकेको छ- कि कसैको दिन बनाउनु छ भने सधैं कानुनको बाटो हिंडिरहन पर्दैन।

मैले फर्केर ‘सेम टु यु’ भनुन्जेल केटो त्यहाँबाट विलीन भैसकेको थियो। दिन त होइन सायद उसको पाँच मिनेटको क्षण तयार हुँदै थियो।


(नोटः सिगरेट स्वास्थ्यविरोधी छ । सं)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button