पिकाडली सर्कस इन सिंहदरवार
मीरा प्रसाईं
के तपाईंले सुन्नु भएको छ ?
विश्व मानचित्रमा पागलहरुको एउटा
सानो बस्ती छ रे
त्यो कहाँ छ ?
– नेपालको सिंहदरवारमा ।
तर !
पहिला त त्यो पागलहरुको बस्ती थिएन रे
सहि मानेमा मानिसहरु बस्थे रे त्यहाँ
नयाँ नेपाल समृद्ध नेपाल बनाउने उदेश्यले
अराजक बनाएको छ रे तिनीहरुलाई अहिले
लोभ क्षोभ र मानसिक अपाङ्गताको भुमरीमा फसेका छन रे
आकाशमा थुक्न खोज्छन् रे
गरिबका पसिनाको आँसु पिउँछन रे ।
निकै बर्ष भयो मैले सुनेको,
बेलायतको `पिकाडली सर्कस´
जस्तै एउटा त्यस्तो बस्ती पनि छ रे त्यहाँभित्र
जहाँ वेश्याको छातीमा होइन
नितान्त रामरउसका निम्ति
माटोको छातीमा स्खलित हुन्छन् रे पागलहरु
र पुस्छन रे विर्य हिमाल पहाड र तराईका पछ्यौरीहरुले ।
त्यति मात्रै होइन,
पागलहरुको त्यो बस्तीमा
स्वयम्भूका ढेडु बाँदरहरुको पनि बाक्लै उपस्थिति छ रे
कहिले आफ्नै मुख चिथोर्छन रे
कहिले आफैं बसेको घर भत्काँउछन रे ।
अँ साच्चैँ –
-पागल र बाँदरको चटक कस्तो देखिन्छ होला हगि ?
कहिलेकाहीँ छिमेकीहरु भन्छन् रे,
-आराम गर र सुम्प भार सद्धेहरुलाई ।
पागलहरु भन्छन् रे
-अझै जमेको छैन काउकुती लगाउने रोमहर्ष
-अझै सुकेको छैन सन्तानको बीउ रोप्ने विर्य ।
सोचाईमा घुम्छ मथिङ्गल,
-कसरी जाग्राम बस्छ होला पागल र बाँदरहरुको संभोग
र रोपिन्छ होला विर्य सिंहदरवारको पाठेघरमा ।
अचम्म ,
पागलहरु फाँट जोत्छौँ भन्दै हिडेका छन्
गर्भ बोकाउछौँ भन्दै प्रेमालापमा छन्
नारीएका छन् तारेमाली गोरुहरु फाटभरी
तर !
जोत्न सकेका छैनन् केही कित्ता पनि
नाप्न सकेका छैनन् केही फित्ता पनि ।
महोदय,
नदिनु पागलहरुलाई अब त्यो बस्तीमा पस्न
जस्ले खोसेको छ
-मनको शान्ति
-मेरुदण्डको भविष्य
-सर्टिफिकेट्को वर्तमान ।
पागलहरुको के भर ?
जुनसुकै बेला –
आमाको फरिया जुवामा हार्न सक्छन
मेरुदण्ड भाँच्न सक्छन् ।
ढुङ्गा हानेर भत्काउन सक्छन् घर
फुटाउन सक्छन् टाउको
फुटाउन सक्छन योद्धाहरुको सपना
ज्युदाँहरुको विपना ।
त्यसैले महोदय !
नदिनु पागलहरुलाई अब त्यो बस्तीमा पस्न ।
नदिनु बाँदरहरुलाई घरसम्म आउन
र बन्न नदिनु सिंहदरवारलाई
–पिकाडली सर्कस ।
(पिकाडली सर्कस प्रोस्टिच्युटहरुको एरिया भनेर चिनिन्छ ।)