बैरागी काइँलालाई कवितापत्र
सीमा आभास
रक्सी छुनुअघि ‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरियसी’ भन्दै मैले टेक्ने भूमिलाई दिनहुँ प्रणाम गर्छु
म आध्यात्मिक रक्स्याहा हरेक बिहान रक्सीले मुख धोएर सूर्यस्नान गर्छु
रक्सीकै जल चढाएर भन्छु ‘ॐ सूर्यायः नमः’
बैरागी काँइला ! तिमी कविताका हरफ–हरफमा माते झैँ
मेरो देउताको थाप्लोमा तुरूक्क ब्राण्डेड रक्सी चढाएर बाँकी सबै पिएपछि
मेरो भूमेदेउता र म सँगै मातेका हुन्छौँ आफ्नै पूजाकोठामा ।
काइँला ! तिम्रो कविता ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ भर्खरै पढेर सिध्याएको छु
कविताले धङ्धङिएको म सधैँ झैँ बिहान जानुछ देवकोटा पुस्तकालय यो साता पत्रिकामा छापिएको समाचार पढ्न
समाचार पढिसकेर खल्तीको लार्जपेग पुस्तकालयको चौरमा बसी एक्लै पिएर फेरि फिर्नुछ भट्टी ।
भट्टीमा घन्किरहने रेडियोले नभनोस् आज यो देशको खबर
बरू तीब्रसँग कुनै रैथाने रक्स्याहाले भनोस्
‘भैँसी तस्करले सस्तोमा मासु बेचे, आज दिनभर मःमः को भाउ घट्छ ।’
काइँला ! रक्सी पिएर छाती पोलेपछि तिम्रो कविताको पानी पिएर रक्सी बेच्नेलाई सोध्छु
क–कसको आँसु बोतलमा जम्मा पारेर बेच्छौ रक्सी ?
यो तीतो रक्सीमा क–कसको खुन मिसिएको छ ?
यसमा कसरी आइरहेछ अपहरित नानीहरूको पिसाबको गन्ध ?
भरि गिलासमा निहुरिएर हेर्दा किन देख्छु आँधीबेहरीले हल्लाइरहेको मेरो गाउँको नक्सा ?
मेरी हजुरआमा र जिजूमाको सतित्व चाकाचुली खेलिरहेको बोतलमा
किन कुँदेको बनारसभन्दा पनि उतै उड्ने बडेमान हवाईजहाजको चित्र ?
मेरो प्रश्नको जवाफ नदिनेकोमा रक्सी नपिउँ भन्छु, मन मान्दैन
यो शहरको नामी जुवाघरको पेटीमा दिउँसै एक लार्जपेग रित्याएपछि कराएर भन्न मन लाग्छ–
‘मातेर सडकमा नकरा’ भन्दै मलाई गाली गर्ने को हो त्यसलाई चिन्नु छैन
राष्ट्रप्रेमी हुन कसैको राष्ट्रिय गान गुनगुनाउनु छैन
मेरो माटोको सिमाना चिनेर दुर्बल नागरिक कहलिनु छैन
बरू गर्वका साथ कहलिनुछ एक नामुद रक्स्याहा ।
सोझो खुट्टाले सोझो सडकमा हिँड्न सक्तिनँ
सोझो मान्छेको सोझो नाक देख्तिनँ
मसी पिएर कवितामा कलम मातेको देख्ने म
मन्दिरको देउता पनि मातेको देख्छु
भो अब रक्सी पिउन कविता पढ्नु छैन ।
ए कवि ! म एक रक्स्याहालाई जान्नुछ—
यो देशका जोगीहरू कविता सुन्छन्, सुन्दैनन् ?
यो देशका चोरहरू कविता बुझ्छन्, बुझ्दैनन् ?
काइँला ! डाँकासभामा कहिल्यै कविता सुनाएको छ, छैन ?
तिम्रा कविता रक्सीसँग सितन बनाएर खान सकिन्छ, सकिँदैन ?
म एक रक्स्याहा कुन लिङ्गमा पर्छु ? स्त्री या पुरुष ?
कुन जातमा पर्छु ? उँच या नीच ?
रक्स्याहा र कविको देश हुन्छ, हुँदैन ?
जब अर्को पेग थपेर जुवाघरको पेटीमा सुस्ताउँछु
नौ बर्षअघि हलोले कुटेर मारिएका मेरा बाउ शंख फुक्तै पशुपतिनाथ छिरेको किन देख्छु ?
पँधेरा जाँदा हराएका बहिनीहरू सम्माननीयको कोटमा रूमाल भएर सिउरिएको किन देख्छु ?
दिवंगत छिमेकीको घर–बगैँचामा फल्ने रुद्राक्ष लगाई जुवाघर छिर्दै गरेका जुवाडेहरू किन देख्छु ?
ए कवि ! तिम्रा कविताका हरफमा म उभिएको जमिन धाँजा फाटेको किन देख्छु ?
काइँला थाहा छ ? आज फागुन सात गते सखारै भट्टीमा हाजिर छु
रक्सीमा आठौँ रंग मिसिएको इन्द्रेणीले घोचेपछि चह-याइरहेछ मेरो कलेजो
यहीबेला मजस्तो रक्स्याहाको चित्त शितल हुनेगरीे सुनाउन तिम्रो युगको प्रेमकविता ।
…
(प्रिय साथी !
तपाईं पनि सीमाजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि विधामा रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)