गोपी सापकोटा बिर्यानी पकाउँछ
गोपी सापकोटा
कुनै जमानामा
स्कूल र क्याम्पसमा अङ्ग्रेजी पढाउने
कविता लेख्दै स्वतन्त्रताको जुलुसमा
भट्भटाउँदै हिंड्ने
प्रयोगधर्मी नाटक लेख्दै मन्चन गराउने
बागबजारका गल्लीमा
भुस्याहा कुकुरहरुलाई तर्साउँदै हिंड्ने
गोपी सापकोटा नाम गरेको मान्छे
अचेल कहाँ छ भनेर
कसैले सोध्यो भने
भनिदिनु
गोपी सापकोटा
अचेल बेलायतमा बिर्यानी पकाउँछ ।
देशको भविष्यका लागि गरिएको आन्दोलनमा
देशका भविष्य भनिने
कलिला केटाकेटी चढेको स्कूल बसमा
ढुङ्गा हानिएपछि
आफ्ना छोराछोरी काखी च्यापेर
उ परदेश लागेको हो
पलायन हुनु भनेको त्यस्तै हो
जनतन दुःख सुख गरेर
छोराछोरी पालेको छ
फुर्सद्को दिन उ किचेनमा पस्छ
धमाधम प्याज काट्छ
आफ्ना दुःखका आँसुलाई
प्याजको आँसुमा साट्दै
गोपी सापकोटा
अचेल बेलायतमा बिर्यानी पकाउँछ
त्रिविले दिएका सर्टिफिकेटलाई
नेप्कीन बनाउँछ, र
किचेनमा भिजेका हात पुच्छ
पत्रिकामा छापिएका पुराना पुस्तक समीक्षामा
उब्रेको धनिया पोको पार्छ
सडकको धूलोमा कुनै दिन नाटक गर्ने
गोपी सापकोटा
अचेल बेलायतमा बिरयानी पकाउँछ
देशको माया मा-र्यो भन्नेहरुले भनिरहुन्
बिदेशमा मोज ग-र्यो भन्नेहरुले भनिरहुन्
देशको सम्पत्तिमा रजाई गरेर
करोडौंको गाडी चढ्नेहरु चढिरहुन्
परदेशमा पन्ध्र वर्ष पुरानो टोयोटा
उ घ्यारघ्यार पार्दै चलाउँछ
किचेनमा राता टमाटर मज्जाले काट्छ
र, ‘हु गिभ्स अ ड्याम’ भन्दै
गोपी सापकोटा
अचेल बेलायतमा बिर्यानी पकाउँछ ।
…
(प्रिय साथी !
तपाईं पनि गोपीजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । तपाईंकै लागि हो कलाक्याफे । र, nepalnamcha@gmail.com कलाक्याफेको इमेल । सम्पादक)
So sweet heart touching poem , congratulation to Gopijee
एक सशक्त सर्जक हुनुहुन्छ गोपी सापकाेटा उहाँका सृजनामा मानवीय जीवनको अपरिहार्य संघर्ष का विम्ब प्रतिबिम्ब भेटिन्छन यो कविताले वैदेशिक रोजगारीमा हराएका धेरैको प्रतिनिधि भावना बोकेको पाइन्छ
हामीले जीवनको सुन्दर अतीतलाई यसरी नै जीवन्त बनाउनु छ सम्झनाका बागमा हराउँदै गर्दा स्वर्णिम आनन्द मिल्दछ धेरैको गुनासो छ कि तिम्राे कथा ब्यथा सँग हाम्राे यथार्थ चित्रण गरिएको हुन सक्छ र नलेख्न दबाब दिन पुग्छन्
गोपी सापकोटा केवल बिर्यानी मात्र होइन धेरै परिकार पकाउन सक्नुहुन्छ नपत्याए हेर्नुहोस कोरा कागज आउँदैछ जसबाट धेरै कुराको तालमेल पेश गरिएको छ