कविताः नउदाएको चन्द्रमा
तेजबहादुर गुरुङ
एक अध्याँरो साँझ
वेनामी कालो मूर्ति झैँ
प्रतिक्षामा ठिङ्ग उभेर कुरिरहेछ
चन्द्रमा उदाउने पर्खाई
र, उत्सुकतामा तर पूर्वाभाष लाली छर्दाछर्दै
एक्कासी अस्ताए पलमै
र न्यानो प्रेमस्पर्शका किरणहरु
त्यसै विलाए कतै क्षितिजमा ।
मेरो खुशी र आशामाथि
एकैचोटी वज्रपात गरे निराशाले
तिरमिराए मेरा आँखाहरु
र, छाए अन्धकारहरू
गुमाए झैँ लाग्यो सब प्राप्तिहरु
खोसिएझैँ लाग्यो मेरा अधिकारहरू
झ्वाट्टै मबाट ।
विलिन भएछु अन्धकारभित्र
सब लुटिएर रित्तो म
चिनिन मैले आफैँलाई
किनकी
नउदाउँदै अस्ताएको कालो चन्द्रमाको
चिसो सिरेटो ओढेर
हाँस्नु न रुनुको मुद्रामा थिएँ म
के हुन्थ्यो होला ?
के हुन्थ्यो होला
यदि मेरो आकाशमा पनि चन्द्रमा उदाए
कति मौलाउथ्यो होला ?
मभित्रका कुण्ठित प्रेमका प्यासहरू
मर्दैनथे होला मेरा इच्छा र भावहरू
सायद ! साकार बन्थ्यो होला
रोमियो, शाहजहाँ र मदनजस्तै
प्रेमभक्त बन्ने मेरा चाहनाहरू
तर… तर !
एकै चिहान भए यी सब
जब कोरिन् चन्द्रमाले प्रेमरेखा
र नउदाउदै अस्ताइन् मेरो आकाशबाट ।
तिमी कतै उदाउन
यहाँ अस्ताएको हुनुपर्छ
तिमी रम्ने दूनियाँ
सायद अर्कै हुनुपर्छ
तिम्रो मिठो र न्यानो किरण पाउने
भाग्यमानी प्रेमपुरुष
सायद अर्कै हुनुपर्छ ।
त्यसैले … त्यसैले !
जाउ चन्द्रमा तिमी आफ्नै
आकाश खोजेर जाउ
कहिल्यै नअस्ताउने आकाश रोजेर जाउ
पुर्णिमाको रात लिएर जाउ
फेरि पनि भुलेर
यहाँ नउदाउँदै अस्ताउन नआउ ।
…
(प्रिय साथी !
तपाईं पनि तेजबहादुरजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । तपाईंकै लागि हो कलाक्याफे । र,
nepalnamcha@gmail.com हाम्रो इमेल ठेगाना हो ।)
)