
लकडाउन नभएको भए हाम्रो सम्बन्धविच्छेद भइसक्थ्यो
मुर्दार-२
सविना सापकोटा
‘छोरीले कत्ति गरे पनि नजाने आग्रह गरेकी त थिई तर मैले जे भए पनि ऊ तेरो बाउ हो । अझै पनि मेरो नाम उसकै थरले पुरा भएको छ । मेरो नाम पार्वती दनै छ, जुन नामका करले पनि म जानुपर्ने हुन्छ । तेरो लागि भए पनि जानुपर्छ । कोरोनाका कारण लकडाउन नभएको भए हाम्रो सम्बन्धविच्छेद भइसक्थ्यो । तर, अहिलेसम्म त अदालतले फैसला गरेको छैन । त्यसैले पनि जानुपर्छ भन्दै हातमा सानो व्याग बोकेर अस्पतालतिर आएकी हुँ ।’
‘अस्पताल पुग्दा विरामीको पहिचान हुन नसकेका कारण सामान्य उपचार मात्र गरेर राखेका रहेछन् । म पुगेपछि मात्र छिटो छिटो कागजपत्र मिलाएर आईसियुमा पठाएका हुन् डाक्टरहरुले ।’
पार्वतीका भोगाइ सुनिसकेपछि उनलाई पनि यो व्यथा कता सुनाऊँ जस्तो भइरहेको कुरा आफुले सुनिदिन पाउँदा खुशी लाग्यो ।
दिदीका आफन्तहरु दिदीका हालचाल जान्न आएकोले फेरि कुरा गर्न आउनेछु भन्दै म त्यहाँबाट निस्किएँ ।
म लगभग दुइ घण्टा पछि उनी भएको ठाउँमा आइपुग्दा उनीसँग एउटी सोह्र-सत्र बर्षकी केटी पनि साथ थिइन् । म नजिकै पुग्नासाथ उनले भनिन्, ‘हेर्नोस् त मेरी छोरी । बालकुमारी क्याम्पसमा विविएस प्रथम बर्षमा पढ्दैछे । जागिर पनि खान्छे, जापानिज भाषा पढाउने काम गर्छे’, उनले सरर भनिन्, जस्तो कि कुनै पण्डितले पुजा–हवन गर्दा श्लोक भन्ने गर्छन् ।
त्यति भनिरहँदा उनको अनुहार निकै चम्किरहेको थियो । त्यो भन्दै गर्दा एकपलको लागि आफु अस्पतालमा छु भन्ने पनि बिर्सिन् होला ।
अस्पतालमा आईसियुअगाडि विरामीका आफन्तहरु भित्रबाट डाक्टर–नर्स बाहिर आउनासाथ ‘फलानो नम्बरको विरामीको अवस्था के छ, कत्तिको सुधार भएको छ’ आदि सोधिरहेका देखिन्थे । डाक्टर–नर्सहरु सकेसम्म अवस्थालाई सामान्य बनाएर भन्दै थिए । ‘आइसियुमा भएको विरामी हो, कृत्रिम अक्सिजन दिएर राखेको ! अहिलेसम्म त ठिकै छ तर वार्डमा नसारेसम्म केही भन्न सकिँदैन’, भन्दै सम्झाउँदै गरेका देखिन्थे ।
‘तिमीहरु हामीलाई भित्र जान दिँदैनौ, विरामीलाई अप्ठ्यारो परेको बेला हेर्दैनौ अनि यस्तो अनर्थ हुन्छ’, कुनै विरामीका आफन्तले त्यसो भन्दै एउटा भित्र जाँदै गरेको डाक्टरको घाँटीमा समातेको देखियो । विरामी पक्षकाहरु घाँटी समात्नेलाई तान्दै डाक्टरसँग माफी मागिरहेका थिए ।
डाक्टरहरु पनि झोक्किँदै थिए, ‘बिहानदेखि खाना नखाई नखाई काम गरिरहेका छौँ । तपाईंहरु यस्ता यस्ता कुरा भन्नुहुन्छ । कसरी काम गर्ने यस्तोमा ? विरामीलाई सकेसम्म बचाऊँ नै भनेको हुन्छ नि डक्टरले पनि ।’
यस्तै बहस चलिरहेको थियो । म भने बाहिर निस्केर चौरमा बसेर भिड कम भएपछि भित्र जाने सोच्दै थिएँ । ती आमा–छोरी कता गए पत्तो भएन ।
केही समयपछि भिड कम भयो । म भित्र जाँदा उनीहरु त्यही छेउमा बसिरहेका थिए । मलाई देख्नासाथ झट्ट सोधिनँ, ‘तपाईं कहाँ जानु भएको ? घर जानु भयो कि भन्ने सोचेका थियौं ।’
‘अब एकछिनमा भाइ आउँछ अनि जाने’, मैले भनेँ । म किन त्यहाँ आएको भनेर पहिले नै कुराकानीको क्रममा उनलाई भनिसकेकी थिएँ ।
उनकी छोरीसँग कुरा गर्दागर्दै अनुज आइपुग्यो र म घर फर्केँ ।
आफु हिँड्ने चक्करमा ‘उनीहरुलाई रातभरि को बस्छ ? के गर्छौ ?’ केही नसोधी हिँडेकोमा पछुतो लागिरह्यो ।
रातभरि पनि उनकै कुरा खेलिरहे, ‘आफ्नो कहिल्यै भनेन् । आज म नै उसको भएँ रे । सम्बन्धविच्छेदको लागि निवेदन दिएको चार महिना हुँदा पनि अदालतले फैसला गरेन ।’
कता के नमिले, कता के नमिले जस्तो लागिरहयो । अलि अलि कानुन त पढेजस्तो लागेको थियो । त्यतिकै त अधिवक्ताको प्रमाणपत्र आएको होइन भन्ने पनि लाग्यो । अलि घमण्ड चढेछ सायद । उकुसमुकुस भयो । झट्ट अनितालाई फोन गरेँ अनि मात्र उसले सम्झाई, ‘लकडाउनभित्र हदम्याद पर्नेहरुको प्रतिउत्तर हाल्ने म्याद थपिँदा यस्तो भएको रहेछ ।’
मन शान्त भयो र निद्रा लाग्यो । भोलि अस्पताल जादाँ पनि उनी रहिछन् भने अझै गफ गर्नुपर्ला भन्ने सोचेर मस्त सुतेँ ।
भोलिपल्ट बिहान छिटो छिटो खाना खाएर अस्पतालतिर दौडिएँ । त्यसो त सधैँ दौडिएरै पुग्थेँ । अनुज दुइ घण्टा अगाडि नै निस्किने भएकाले म सकेसम्म छिटो पुग्नुपथ्र्यो । कोरोना बढ्दै गएकाले अस्पताल वरिपरि खाना खान सम्भव थिएन । त्यसैले घरमा खाएरै जान्थेँ । त्यो दिन मेरो लागि थप जिम्मेवारी थियो, हिजो भेटिएकी महिलासँग कुरा गर्नु ।
‘उनी त्यहाँ होलिन् कि नहोलिन् ? भए त ठिकै हुन्थ्यो । नभए पनि के नै गर्नसक्थेँ र ?’ यस्तै यस्तै सोच्दै म अस्पताल पुगेर सरर आँखा घुमाएँ । उनी कतै दखिइनन् । नजिकैको कुर्चीमा बस्ने ठाँउका लागि अनुरोध गरेको व्यक्ति ऊनै महिला रहिछिन् ।
मैले उनको अनुहार बिर्सिसकेछु । हुनत म प्राय मान्छेको अनुहार बिर्सिन्छु । आफुसँगै पढेका साथीहरुलाई क्याम्पस बाहिर भेटिँदा त नचिन्ने मैले उनलाई पनि चिनिनँ । साथीहरु त मैले नचिनेको जानकारी गराउँदा रिसाएका छन् । धरैजना त अझै बोलेका छैनन् । केही साथीले मात्र मेरो समस्यालाई बुझेका छन् । र, बेलाबेला हाँसिदिन्छन् ।
उनले त मलाई एकतमास हेरिरहेकी थिइन् । जब मेरो नजर उनीमाथि पर्यो, उनी मुसुक्क मुस्काइन्, मलाई अड्कल गर्न गाह्रो परेन ।
विरामीका कुरुवाहरु यत्रतत्र छरिएर बसेका थिए । सायद डाक्टर–नर्सहरुको पालो फेरिने समय भएकोले होला, धेरै नै यताउता गरेका देखिन्थे । म ती महिलाको नजिकैको बेञ्चमा बसिरहेकी थिएँ । सामान्य सञ्चो विसञ्चोको कुराकानीपछि मैले विस्तारै कुराको गाँठो खोलेँ, ‘अहिले तपाईंहरु अलग बस्नुहन्छ ?’
यति मात्र के भनेकी थिएँ, उनी त पुरै उफ्रिन पो थालिन् । यताउताका मानिहरुले पनि चासो दिएर सुन्न थाले । उनी भन्दै गइन्, ‘के अहिले भन्नुहुन्छ ? कहिल्यै पनि हामी सँगै बसेनम् । छोरी १८ बर्ष भइसकी । छोरीले बाउको घरमा एक रात काटेको छैन ।’
‘अनि तपाईं अहिले यहाँ कसरी त ?’, मैले बिस्तारै सोधेँ ।
उनले झन् कड्किदै भनिन्, ‘सोझो देखेर प्रहरीले पनि हेपेको नि । म आउँदिन भन्दा प्रहरीले भ्यान नै लिन पठाइदिन्छु भनेपछि आउन करै लाग्यो । बल्ल बल्ल नयाँ कोठा खोजेर बसेका छौँ । त्यहाँ पनि लफडा भयो भने हामी आमा–छोरीको विजोग हुन्छ भनेर आएकी ।’
यति भनेर उनी चुप बसिन् ।
(भोलि क्रमशः)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



