कविताः चौतारी सुस्ताएछ


निर्भीकजंग रायमाझी

पहाडको उकालोलाई चुनौति दिने
थकित यात्रीलाई विश्रान्ति दिने
जंगलबीचको चौतारी
आफैंमा वनको देउताजस्तो
आफैंमा वरदान पाएजस्तो

विगतका जस्ता दुर लाहुरबाट घर फर्कने
बहादुर–बहादुर बटुवाहरू
हाट भर्न जाने, तरुणा–तन्नेरी जोडीहरू
आउँदैनन् अचेल चौतारीको बाटो
सोध्दैनन् गाउँघरको हालखबर

मानिस थिए र त
दिएको थियो चौतारीले विश्रान्ति
यात्री थिए र त
देखाएको थियो चौतारीले मूलबाटो

अचेल, घर रुँगेर बस्ने एक्लो वृद्धजस्तो
उदास छ चौतारी
बाटो हेरेर परदेशी कुर्ने बैंसजस्तो
निद्धदेश्य छ चौतारीे
केवल बाँच्नमात्रै सास फेरिरहेको घाइतेझैं
बतासको ढुकढुकीमा बाँचेको छ चौतारी

अहो ! मादल र बाँसुरी घन्कने चौतारी
आज शुन्यतामा रोएछ
बतासको वेग नै लर्काइदिने चौतारी
आज सुस्ताएछ !

One Comment

  1. गजबको कविता भाइ पढेर म पनि सुताउँदै सम्झें आफ्नै गाउँको देउराली अनि त्यहाँ अबस्थित बुढो बर अनि बुढी पीपल ….अहो ! साँची बर्षौं भो नदेखेको ति कस्ता भए होलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button