बटौली कि बुटवल साइकल सिटी !
साँझमा तिनाउ चीसिएर तीखो हुँदै गर्दा किल्लाचौरबाट म तिनाउ तिमीलाई प्रश्न गरिरहेको छु, 'तिमी बुटवललाई बुटवल साइकल सिटी भन्छौ कि बटौली साइकल सिटी ?' तिनाउले उत्तर दिइरहेकी थिइन् । उत्तर आफै बुझ्नुस् ।
अशोक सिलवाल
लुम्बिनी प्रदेशको दाङस्थित देउखुरी उपत्यकामा रहेको नवघोषित राजधानी भालुवाङबाट हिजो हिंडेका थियौं हामी, साइकलमा सरर … । आज आइपुगेका छौं, लुम्बिनी प्रदेशको राजधानी हुने भनेर निकै समय बहुप्रचारित बुटवलमा । तर, बुटवल केवल बुटवल रह्यो । रुपन्देहीको सदरमुकाम त भैरहवा छँदैछ ।
सदरमुकाम भैरहवा भए पनि बुटवल आफैमा सदरमुकामजस्तो । खासमा त यो देशकै एउटा महत्वपूर्ण सेन्टरजस्तो । पोखरा, बाग्लुङ, स्याङ्जा, पर्वत, पाल्पा, अर्घाखाँची आदिको नुनतेल किन्ने पुरानो बजार थियो यो । तर, त्यो बुटवल थिएन । बटौली थियो । बटौली बजार थियो । बाउबाजेले ननु, सिद्रा तमाखु आदि किन्न आउने ठाउँ थियो । कालान्तरमा बटौली हरायो, उदायो बुटवल । र, बुटवल विशाल बन्यो ।
‘मेन बजार यहीँ थियो । पारीसम्म बजार बिस्तार भयो’, स्थानी कुशराज गुरुङले तिनाउ नदीकिनारमा पुरानो बटौली बजारसँगै टाँसिएको जितगढी किल्ला परिसरमा मछेउकै रातो प्लास्टिक कुर्सीमा बसेर भने ।
‘यहाँ आइसकेपछि फूलबारी पनि जानु है’, उत्तरतिर देखाउँदै उनले भने, ‘फूलबारी डेटिङ पार्कको रुपमा पनि परिचित छ । अरु पनि घुम्ने ठाउँहरु छन् ।’
‘नदीतिर औला देखाउँदै भने, ‘तिनाउ ।’
‘हिलपार्क’, माथि पहाडतिर आँखा तन्काउँदै भने ।
‘सिद्धबाबा र रामापिथेकस पार्क पनि उत्तिकै जानलायक छ’, उनले थपे, ‘हामी बसेको यो किल्ला त झनै आउनै पर्ने ठाउँ हो ।’
…
म अहिले तिनाउ नदीतिरमा अवस्थित जितगढी किल्ला, बुटवलमा छु र यो वाइफार्ई फ्री जोन हो । फ्रि वल्र्डलिंक जितगढी वाइफाई जोडेर म मेरो ल्यापटप र फोन पनि चलाइरहेको छु । नेपाल साइकल उत्सवको यो ११ औं दिन हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट साइक्लिङ गर्दै हामी यहाँ आइपुगेका हौं ।
‘यो विजयभूमि ऐतिहासिक, पुरातात्विक एवम सामरिक महत्वको सम्पदा स्थल हो’, किल्लाको प्रवेशद्धार छिर्नेबित्तिकै लेखिएको छ, ‘जितगढी किल्ला १८७१ देखि १८७२ सम्म एक बर्ष चलेको नेपाल–अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्धमा चलेको वीर नेपालीले विजय हाँसिल गरेको ऐतिहासिक स्मारक स्थल हो । बुटवलगढी कब्जा गरी पाल्पा हान्ने र तिब्बतसम्म पुग्ने उद्धेश्यसाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जनरल सुलेभान वुड र कमान्डर क्रोकरको नेतृत्वका आधुनिक हतियारले सुसज्जित अंगे्रज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमानमा अदम्य साहस, रणकौशल, पौरख, एवम् वीरतासाथ युद्ध गरी नेपालीले विजय हाँसिल गरेको भुमि हो यो किल्ला । १८७२ बैशाख ७ गते युद्धमा विजय हाँसिल भएको खुशीयालीमा कृष्ण जन्मास्टमीको भोलिपल्ट रणउजेश्वरी भगवती जात्राको रुपमा पाल्पामा विजय उत्सव मनाइएको र सोही परम्परा बमोजिम बुटवलमा विजय हाँसिल गरेकै दिन वैशाख ७ मा विजय दिवस समेत मनाइने गरिएको छ ।’
किल्लाको एक छेउमा प्लास्टिकको रातो कुर्सीमा बसेर माथिका पंक्तिहरु टाइप गर्दै थिएँ । गेली शेर्पा म नजिक आए । छेउमै आएर ओखलढुँगाको खिजीदेम्बा गाउँपालिका ८ बुसिङ्गाका उनले आफ्नो मोबाइलको स्क्रिन देखाउँदै भने, ‘पत्रकार सर ! हाम्रो गाउँमा पनि साइकल यात्रा हुन्छ नि । यी यहाँ हेर्नोस् त’ त्यसो भन्दै उनले मेरो आँखैअगाडि मोबाइल ल्याइपुर्याए ।
‘यो कहाँ हो ?’, स्क्रिनमा हिमाली क्षेत्रमा साइकलहरु उक्लिरहेको दृश्य हेर्दै मैले उनलाई सोधें ।
‘पीके डाँडा सर !’
‘तपाईंको गाउँबाट कति टाढा वा नजिक छ ?’
‘मेरो गाउँबाट त्यस्तै ६ घन्टा जति लाग्छ । बाटो उकालो छ । पीके डाँडा ओखलढुँगा र सोलुखुम्बुको सीमानामा पर्छ ।’
‘त्यहाँ साइकल टन्नै जाने गर्छन् ?’
‘जाँदारहेछन् । मैले पनि अहिले भर्खर मोबाइलमा देखेर थाहा पाएको । तर, मलाई साइकल चलाउन आउँदैन सर ! म चाहिँ कोरियन कुक हुँ । परिआए नेपाली, इन्डियन र युरोपियन खानाका आइटमहरु बनाउन पनि पछि पर्दिनँ ।
‘अस्ति चैतमा लकडाउन सुरु भएपछि काम ठप्पै भयो । त्यसपछिको यो मेरो पहिलो काम हो । म असाध्यै खुशी छु’, उनले भने । उनी नेपाल साइकल उत्सवका कुक हुन् र सँगै रहनेछन् २४ दिनसम्म हामीसँगै ।
‘म तपाईंहरुको च्वाइस अनुसारको खाना बनाएर खुवाइरहेको छु । तपाईंहरुलाई खाना मीठो लागिरहेको छ कि छैन थाहा छैन तर यो यात्रा मलाई एकदमै मीठो लागिरहेको छ’, उनले भने, ‘पूर्वपश्चिम सबैतिर घुम्न पाउँदा मलाई एकदमै रमाइलो लागिरहेको छ ।’
यसअघि उनी कुकको रुपमा नेपालका प्राय सबै हिमाली क्षेत्र गए पनि तराई र पहाडी क्षेत्रहरु पुग्न पाएका थिएनन् रे । ‘पहिलोचोटि यसरी देशको धेरै ठाउँमा घुम्न पाएकोमा धेरै खुशी छु’, उनले भने ।
‘यस्तो खालको साइकल टीमसँग हिंडेको पनि मेरो जीवनको यो पहिलो पटक हो सर’, उनले भने, ‘मसँग अर्का सहयोगी कुक पनि छन् । उनको नाम शेरा शेर्पा हो ।’
यही साइकल यात्रामा जीवनमै पहिलो पटक लुम्बिनी पुग्न पाएकोमा शेरा झनै खुशी छन् । गेलीचाहिँ यसअघि एक पटक बुद्धजन्मस्थल लुम्बिनी आइसकेका रहेछन् ।
‘यो यात्रामा यति दिन बिताएपछि साइकल स्वाथ्यको लागि एकदमै राम्रो रहेछ भन्ने बुझियो’, उनले निष्कर्ष सुनाउँदै अफर गरे, ‘सर ! चिया पिउनुहने कि कफी ?’
‘चिया नै खाउँ’, मैले भनेँ ।
कफीको कुराले म जिवेन्द्र दाई मीस गर्दै थिएँ । मेरो प्रिय दाई तर मेरो कफी पार्टनर । अलि अघिमात्र जिवेन्द्र दाईकै शब्दमा ‘ब्राम्हणपुत्र’ भरत शर्माले बहुत खुशीले मच्चीमच्ची काठमाडौंमा घडेरी पास भएको सुसमाचर सुनाएका थिए ।
चिया नआइपुग्दै छेउमा आइपुगे फेरि स्थानीय गुरुङजी ।
तिनाउ बगिरहेकी थिइन् । त्यसमा ठुल्ठुला ट्रकहरु गुडिरहेको ध्वनि पनि थपिइरहेको थियो । र, हावामा तिनाउ शीतलशीतल लाग्दै थिइन् । मैले चुरोट सल्काएँ । आद्त ने मारा !
बुटवल उपमहानगरपालिकाले उनलाई किल्ला संरक्षणको जिम्मा दिएको छ । ‘पछिल्लो १३ महिनादेखि म यहाँ छु । यहाँ म एक्लै छु । सरसफाइदेखि सुरक्षासम्मको काम गर्छु । र, पर्यटकहरु आउँदा किल्लाबारे थाहा पाएसम्मका जानकारी पनि दिने गर्छु’, उनले भने, ‘लकडाउनअघिसम्म विद्यार्थीहरु धेरै आउँथे ।’
‘तर, आज हामी थुप्रै आएका छौं । र, हाम्रा थुप्रै साइकल आएका छन् । र, थुप्रै स्लिपिङ ब्याग र टेन्टहरु पनि आएका छन् । मैले हाँस्दै भनेँ ।
‘… र, २६ सीट क्षमताको दुई जापानी कोस्टर पनि छन्, एउटा रेस्क्यु र अर्को एकोमोडेसनको लागि । र, यी दुईका सारथी तपाईकै अगाडि छन्’, हँसिला ड्राइभरद्धय दीपक नेपाली र सुवास ढुँगानालाई देखाउँदै मैले भनें ।
क्षेत्रफल लक्ष्य दुई बिघाहा ८ कठ्ठा भए पनि अहिलेसम्म किल्ला त्यति क्षेत्रफलमा फैलिसकेको भने रहेनछ । किल्लादेखि लगभग १ किलोमिटर उत्तरमा रहेको फूलबारीस्थित मणिमुकन्द सेनको दरबारसम्म समारिक तथा ऐतिहासिक सुरुङमार्गलाई थप उत्खनन् गरी खोल्ने योजना समेत रहेको बताइएको छ ।
अलिपर नदीनजिक पीपल र पुरानो बट्यौली बजार बरको ठूलो रुख छ । छेउछाउ अनेक रंगका दर्जन बढी टेन्टहरु छन् । महेन्द्र अधिकारी, मान चन्द, एच बि बर्मा र हिम गुरुङ टेन्टकै छेउमा गफिइरहेका छन् । किचेनछेउ राजेन्द्र सापकोटा र सुभाष केसी किचेनलाई सहयोग गरिरहेका छन् । मुक्ति पान्डे र माधव नेपाल तिनाउतिर अघि नै गएका थिए । सम्राट पान्डे अघि भर्खर मैले ल्याटप चलाइरहेको फोटो खिच्दै थिए । नीरा बराल स्र्पोटस् ड्रेसमा हल्का एक्सरसाइज गर्दै थिइन् । एक्स्पान्सन दाहाल र पुष्कर शाह कता गएछन् कुन्नि ? नेपाल साइकल उत्सवको मेचीदेखि महाकालसम्मैको मिडिया साथी म ‘अशोक’को वरिपरि अशोक वृक्षहरु छन् ।
…
तिनाउ खोला बटौलीको छेउ
आउ न नजिक बसेर माया गाँसिदेउ
प्रकट ब्यान्डको बहुचर्चित यो गीत त सुनिएन बुटवलमा यसपटक तर साइकल सिटी बुटवल र बुटवल उपमहानगरपालिकाले किल्लाकै चौरमा गरेको स्वागत कार्यक्रममा गीतजस्तै गफ सुनिए बुटवल, बट्यौली, जितगढी किल्ला र साइकलबारे । गाथाकार थिए, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमा आचार्य, पुरानो बटौली (बुटवल–१) का अध्यक्ष महेन्द्र लिगल, साइकल सिटी बुटवलका अध्यक्ष विनोद कार्की, उपाध्यक्ष विमल बस्नेत, सचिव मनिक विश्वकर्मालगायत । अर्कोतिर विश्व साइकलयात्री तथा नेपाल साइकल उत्सवका संयोजक पुष्कर शाहले पनि किल्लाचौरमा आफ्नो बुटवलको निकै पुरानो स्मृति सुनाएर हँसाएका थिए ।
हामी हाँसेको एकै छिनमा हाम्रो अवतार बदलिसकेको थियो । साइकल सिटी बुटवलले उपहारित गरेको एक समानको टिर्सटमा थियौं हामी । टिर्सटमा लेखिएको थियो, साइकल सिटी बुटवल ।
तर, साँझमा तिनाउ चीसिएर तीखो हुँदै गर्दा किल्लाचौरबाट म तिनाउ तिमीलाई प्रश्न गरिरहेको छु, ‘तिमी बुटवललाई बुटवल साइकल सिटी भन्छौ कि बटौली साइकल सिटी ?’
तिनाउले उत्तर दिइरहेकी थिइन् । उत्तर आफै बुझ्नुस् ।




