
‘सब अच्छा हुवा, सब बढिया हुवा, सब हिन्दुस्तान हुवा’
कविताः म, छिमेकी र रोटी
उदय मैनाली अविरल
विर्तामोड २, झापा ।
बेटी, ए बेटी क्या हाल छ ?
रोटी खाऊ भोक लाग्यो होला
रोटी दिदै दलिनमै आईपुग्यो
मेरो छिमेकी ।
रोटीबाट आँखा हटाउँदै
उसको पाउतिर नजर लगाएँ ।
छिमेकी अलि पछि सर्यो ।
भकारीमा हेरे धान सकिएको रहेछ
छिमेकीको रोटी लिनै पर्यो ।
छाती फुलाएर रोटीसँगै घरभित्र आयो
र, भन्यो रोटीमा शक्ति हुन्छ
एक बार खाएर त हेर
धेरै बेरसम्म अडिलो हुन्छ,
भो नखाऊ भात अब
रित्तो भकारी सम्झिएँ र सोचेँ
धान भए पो भात खानु ।
धान फलाउनु पर्छ भनेर कम्मर
नकसेको पनि हैन
बिस्तारै रोटी खाने बानी परेको म
धान र मान बिर्सन थालेछु ।
रेडिमेट रोटीमा रमाउन थालेको म
अब किन मिहेनत गर्थे र ?
छिमेकी खुसी हुँदै भकारीमा
रोटी भरिदियो
र, मेरो घर छिचोलेर
माथि डाँडामा चढ्यो
र, कराउन थाल्यो
सब अच्छा हुवा
सब बढिया हुवा
सब हिन्दुस्तान हुवा ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



