‘सब अच्छा हुवा, सब बढिया हुवा, सब हिन्दुस्तान हुवा’

कविताः म, छिमेकी र रोटी

उदय मैनाली अविरल
विर्तामोड २, झापा ।

बेटी, ए बेटी क्या हाल छ ?
रोटी खाऊ भोक लाग्यो होला
रोटी दिदै दलिनमै आईपुग्यो
मेरो छिमेकी ।

रोटीबाट आँखा हटाउँदै
उसको पाउतिर नजर लगाएँ ।

छिमेकी अलि पछि सर्यो ।

भकारीमा हेरे धान सकिएको रहेछ
छिमेकीको रोटी लिनै पर्यो ।

छाती फुलाएर रोटीसँगै घरभित्र आयो
र, भन्यो रोटीमा शक्ति हुन्छ
एक बार खाएर त हेर
धेरै बेरसम्म अडिलो हुन्छ,
भो नखाऊ भात अब
रित्तो भकारी सम्झिएँ र सोचेँ
धान भए पो भात खानु ।

धान फलाउनु पर्छ भनेर कम्मर
नकसेको पनि हैन
बिस्तारै रोटी खाने बानी परेको म
धान र मान बिर्सन थालेछु ।

रेडिमेट रोटीमा रमाउन थालेको म
अब किन मिहेनत गर्थे र ?

छिमेकी खुसी हुँदै भकारीमा
रोटी भरिदियो
र, मेरो घर छिचोलेर
माथि डाँडामा चढ्यो
र, कराउन थाल्यो
सब अच्छा हुवा
सब बढिया हुवा
सब हिन्दुस्तान हुवा ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button