हिरोइनले फोन उठाएनन्, सीतालाई सम्झेँ

ब्राह्मणपुत्रको लकडाउन डायरी – २२
भरत शर्मा

म चलचित्रको पारखी परिनँ । हलमा गएर मुस्किलले १० वटा चलचित्र हेरेँ हुँला अहिलेसम्म । पहिलो चलचित्र ‘गोठालो’ हेरेको याद छ । पछिल्लो पटक हिन्दी चलचित्र ‘केदारनाथ’ हलमा गएर हेरेको थिएँ ।

‘भरतजी ! तपाईंको डायरीमा हिरोइनका कुरा समेट्न पाए गज्जब हुन्छ, मान्छेले पढ्छन्’, गोजी फोनबाट नेपालनाम्चाका सम्पादक अशोक सिलवालले बिहानै भने । हिरोइनको नम्बर माग्न प्रसिद्ध रंगपत्रकार ध्रुव लम्साललाई फोन गरेँ । लम्सालले दुई हिरोइनका नम्बर दिए । दुवैलाई सम्पर्क गरेँ तर फोन उठेन । त्यसो त लम्सालले नम्बर दिँदादिँदै भनेका थिए, ‘मैले फोन गरेको बेला त उठ्दैन तर प्रयास गर्नुस न ।’

लकडाउनको बेला भएकोले कामको फोन आउँदैन भनेर हिरोइनहरुले फोन उठाएनन् होला ।

त्यसपछि आजको डायरीमा कालियुगको होइन, त्रेता युगका वास्तविक हिरोइनबारे लेख्ने योजना बनाएँ । सीताबारे लेख्ने योजना बनाएँ ।

शास्त्रले समेत सीताको नाम नभनी रामको नाम लिने गरेका छैन, ‘सीताराम’ । कृष्णको नाम भन्दा राधाको अगाडि ‘राधाकृष्ण’ । यस्ता उदाहारण धेरै छन् ।

रामायणकालीन समयका रामले सीताको बारेमा लेखेको कुरा अहिले कलियुगमा पनि सार्थक छ । रामले भाइ लक्ष्मणसँग सीताकोबारे भनेका थिएः

कार्येषु मन्त्री, करणेषु दासी, धर्मेषु पत्नी, क्षमया धरित्री ।
स्नेहेषु माता, शयनेशु रम्भा रङ्गे सखी लक्षण सा प्रिया मे ।।

हे लक्ष्मण, सीता मलाई परामर्श दिनमा मन्त्री समान, कार्य गर्नका निकै सहयोगी, धर्मको काममा पत्नी र पृथ्वीसमान सहनशील नारी हुन् । आमा समान स्नेहशीला, सहवासमा दिव्यस्त्री, सुख दुःखमा साथ दिने आचरणशीला ।

त्रेता युगकालीन सीता कलियुगमा कहाँ खोज्ने ? यो असम्भव छ । तर, कलियुगमा सीताको एउटा मात्र चरित्रका काम गर्ने महिलालाई समाजमा यो त सीता जस्तै छिन् भनेर भन्ने गरेका छौं ।

आज उनै सीतालाई सम्झने दिन हो, ‘सीता जयन्ती’ । बैशाख शुक्ल नवमीको दिन नेपालको जनकपुर, जानकीनगरमा सीताको जन्म भएको भन्ने हामीले सुनेको हो । सीतालाई लिन अयोध्याका राजा दशरथपुत्र राम, लक्ष्मण, भरत, शत्रुध्न र गुरु वशिष्ठ आएको कथा पनि पढेका छौं ।

सीताले राजमहलमा बसेर पाएको सुख, १४ बर्षे जंगलयात्रामा पाएको दुःख, लक्ष्मणले निर्धारण गरेको लकडाउन पालना नगर्दा भेषधारी रावणले गरेको अपहरण, लंकाको वृक्षस्थलीमा नजरबन्दमा रहनु परेको कथा, अध्योध्या फर्केपछि फेरि बाल्मिकी आश्रममा जानु परेको पीडा, पुत्रद्वय लव र कुशको पराक्रमको रामायण कथा साँच्चै शिक्षाप्रद छ । अनेक भूमिकामा सीताको जीवनले समाजलाई शिक्षा दिएको छ ।

शास्त्र र पहिलेका कुरामा धेरै आर्दश हुन्छ । वैश्विक समाज अहिले आर्दशमा चल्न छाडेको छ । महिलालाई सीता जस्तो नारी हुनुपर्छ भन्दा उनीहरु त्रेता युगमा खोज्न जानुस् भनेर दुर्वाच्य बोल्छन् ।

सीताको चरित्र चित्रण गर्नु भनेको महिलालाई नै अपमान गर्न खोजेको भन्छन् अहिलेका कतिपय महिला अधिकारवादीहरु ।अहिले त प्रेम विवाह, अन्तर्जातीय विवाह, अन्तर्देशीय विवाह हुने समाजमा राम–सीताको कथालाई एक कानले सुन्ने अर्को कानले उडाउने गरिएको छ ।

सीताको जन्मजयन्तीमा म सम्झन्छु, महामारीमा विरामी पत्नीलाई अस्पतालबाट छोडेर भागेको समाचार । तातो मरुभूमि र कोरियामा खोरिया खनेर पतिले उताबाट यता पठाएको रकम पत्नीले स्वाहा पारेका समाचार । अहिले नारीधर्म–पुरुषधर्मका कुरा गर्नु नै बेकार छ । नारी भन्दा समाजमा पुरुष नै पीडित भएको देखेको, भोगेको र सुनेको छु । यसो भन्दा यो लेखकलाई नारीविरोधी पनि भन्न सक्छन् ।

स्वदेशको कुरा मात्र होइन, विश्वका दुई ठूला जनसंख्या भएको देश भारत र चीनमा पनि महिलाको अधिकार नै बढी छ । त्यसो त चीनमा महिलालाई निकै सम्मान गरिन्छ । रामायणकालिन समयमा रामले सीतालाई माया गरेजस्तो चीनमा पुरुषहरुले महिलाहरुलाई माया गर्ने गर्दछन् ।

चिनियाँ पुरुषले महिलालाई यतिसम्म सम्मान र माया गर्छन् कि घुम्न जाँदा महिलाले बोकेको झोला मात्र होइन, सन्तानलाई समेत रेखदेख गर्ने जिम्मा पुरुषको हुन्छ । महिला संख्या कम भएको चीनमा पुरुषले विवाहपछि सासुससुराको हेरचाहमा पनि ध्यान दिने परम्परा छ । चीनमा छोराले भन्दा ज्वाईँले सासु ससुरालाई धेरै माया गरेको दृश्य देखेर आएपछि लाग्छ, चीनमा ‘सीता’हरुको निकै सम्मान छ ।

सीता जयन्तीमा छिमेकी देशका ‘सीता’हरुका कथा लेख्दा निकै रमाइलो लागिरहेछ तर धेरै लेख्नुभन्दा पनि अर्गानिक लेख्नु राम्रो भन्ने सम्पादकको आदेश मान्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button