प्रिन्सुको चकचके बानी

H2O (Himalaya to Ocean) Nepal Book Journey

“चकचक गर्दा त रमाइलो हुन्छ , तर जिम्मेवार बानी नै असल बानी हो।”
टिनी नि… टिनी नि… टिनी नि…! मोबाइलको घन्टी बज्यो।
“हैन, यस्तो बेलामा कसले फोन गर्‍यो?” भन्दै नितुले फोन उठाइन्। त्यतिबेला उनी छोरी प्रिन्सुलाई विद्यालय पठाउने तयारीमा थिइन्।
“हेलो, को बोल्नुभएको?” नितुले सोधिन्।
“नानी, म तिम्री आमा ऋतु बोल्दै छु,” उता आमाको स्वर आयो।
“ए आमा! सन्चै हुनुहुन्छ? खाना खानुभयो?” नितुले मायालु स्वरमा सोधिन्।
“म सन्चै छु। तिमीलाई एउटा खबर दिन फोन गरेकी,” आमाले भनिन्।
“कस्तो खबर हो आमा?”
“तेरो दाइकी छोरीको बिहे पर्सि शनिबार सूर्यविनायकको शानदार पार्टी प्यालेसमा छ। सबैजना आउनुपर्छ है।”
“ओहो! मलाई त थाहा नै थिएन। अवश्य आउँछु, घरमा सल्लाह गरेर खबर गर्छु,” नितुले खुसी हुँदै भनिन्।
त्यत्तिकैमा प्रिन्सुले हतारिँदै भनिन्, “मम्मी, मलाई ढिला भइसक्यो। छिटो गरिदिनुस् न! ढिला भयो भने मिसले गाली गर्नुहुन्छ।”
“ल, ल… आइहालेँ। कति हतार भएकी तिमी!” भन्दै नितुले छोरीलाई विद्यालय पठाइन्।
शुक्रबार बेलुका नितुले श्रीमान् प्रकाशलाई भनिन्, “सुन्नुस् न, भोलि मेरो दाइकी छोरीको बिहे छ। आमा बिहान फोन गर्नुभएको थियो। म जानै पर्छ।”
“अवश्य जाऊ। प्रिन्सुलाई पनि लिएर जाऊ न,” प्रकाशले सुझाव दिए।
नितुले मुस्कुराउँदै टाउको हल्लाइन्।
“अहँ, उसलाई अहिले लान्न। ऊ जहाँ गए पनि धेरै चकचक गर्छे, भनेको पनि मान्दिन। तपाईं घरमै बसेर उसलाई हेर्नुहोस्।”
“हुन्छ, म घरमै बस्छु,” प्रकाशले सहजै स्वीकारे।
उनीहरूका सबै कुरा प्रिन्सुले ढोकाको पछाडि लुकेर चुपचाप सुनिरहेकी थिइन्।
भोलिपल्ट बिहानै प्रिन्सु आमाको सारी समातेर रुन थालिन्।
“मम्मी, म पनि बिहेमा जान्छु।”
“हुँदैन, तिमी फेरि धेरै दुःख दिन्छौ,” नितुले सम्झाइन्।
“म झगडा गर्दिनँ, प्लीज मम्मी!” प्रिन्सुले अनुरोध गरिन्।
छोरीको आग्रह देखेर अन्ततः नितु मानिन्।
“ल, छिटो लुगा लगाऊ।”
प्रिन्सु खुसीले उफ्रिन्। उनी दराजभरिका सबै लुगा निकालेर कहिले यो, कहिले त्यो लगाउन थालिन्। कुन लगाउने भन्ने निर्णय गर्नै गाह्रो भयो।
त्यसपछि बाबाले हाँस्दै भन्नुभयो, “तिम्रो रातो घुम्ने घाँघर लगाऊ, तिमीलाई त्यही धेरै सुहाउँछ।”
प्रिन्सुले रातो घाँघर लगाइन् र ऐनाअगाडि फन्को मार्दै आफूलाई हेर्न थालिन्। त्यसपछि आमाको लिपस्टिक चुपचाप निकालेर खाटमुनि लुकी मुखभरि पोतिन्।
यो दृश्य प्रकाश र नितुले चुपचाप हेरिरहेका थिए। छोरीको त्यो नटखट व्यवहार निकै रमाइलो लागेपछि उनीहरूले मोबाइलमा भिडियो खिचे। आफूलाई सबैले हेरेर हाँसेको देख्दा प्रिन्सु लाजले राती भइन्।
केही बेरपछि प्रकाशले हाँस्दै भने, “ए आमा–छोरी! शृंगार सकियो कि अझै? मैले ट्याक्सी बोलाइसकेँ।”
“अलिकति राम्री बन्न खोज्दा पनि हतार गराइहाल्नुहुन्छ,” नितुले मुस्कुराउँदै भनिन्। “अब भयो, जाऔँ।”
बाहिर बसेकी प्रिन्सुले ट्याक्सी आएको देखिन्।
“बाबा! ट्याक्सी आइसक्यो। मम्मीलाई बोलाउनुस् न!” भन्दै उनी कोठाभित्र दौडिइन्।
ट्याक्सीमा बस्दा प्रिन्सु अत्यन्त खुसी भइन्। झ्यालबाट बाहिरका घर, रूख, सडक र मानिसहरू हेर्दै उनी रमाइरहेकी थिइन्।
“नानी, झर्ने ठाउँ आयो। अब ओर्लनुपर्छ,” आमाले भनेपछि उनी झसङ्ग भइन्।
विवाहस्थलमा उनीहरूका धेरै आफन्तहरू पहिले नै पुगिसकेका थिए। प्रिन्सुले सबैलाई हात जोडेर नमस्कार गरिन्। सबैले “कति ज्ञानी र प्यारी छोरी!” भन्दै उनको गालामा माया गरेर चुम्बन गरे।
नितुलाई विवाहका सबै संस्कार हेर्न निकै मन पर्ने भएकाले उनी प्रिन्सुलाई सँगै लिएर विवाह मण्डपतिर बसिन्।
तर प्रिन्सुलाई धेरैबेर एउटै ठाउँमा बस्न मन परेन। बिस्तारै उनी आमाको छेउबाट उठेर वरिपरि घुम्न थालिन्।
त्यहाँ उनले रंगीचंगी लुगा लगाएका मानिसहरू, झिलिमिली सजावट, बेलुन, मिठामिठा परिकार र रमाइला खेलहरू देखिन्। सबैले आइसक्रिम खाइरहेको देखेर उनलाई पनि धेरै रहर लाग्यो। उनले आफैँ गएर आइसक्रिम खाइन्, बेलुनसँग खेलिन्, पानीसँग रमाइन् र आफ्नै संसारमा मस्त भइन्।
उता नितुले छोरीतिर हेर्दा उनी कतै देखिनन्।
“प्रिन्सु…! प्रिन्सु…!” भन्दै उनी आत्तिँदै यताउति खोज्न थालिन्।
सबै आफन्तसँग सोध्दा पनि कसैले देखेको बताएनन्। बरु केहीले, “छोरीको राम्रोसँग ख्याल गर्नुपर्दैन?” भन्दै उल्टै नितुलाई नै सम्झाए।
अब नितुको मन डरले भरियो।
खोज्दै जाँदा उनी विवाहस्थलको मुख्य गेटसम्म पुगिन्। त्यहाँ प्रिन्सु सजावटका बेलुनसँग रमाउँदै खेलिरहेकी थिइन्।
छोरीलाई देख्नेबित्तिकै नितुले राहतको सास फेरिन् र भावुक हुँदै भनिन्,
“प्रिन्सु, तिमीले त मेरो सातो नै उडाइदियौ नि!”
आमाको अनुहारमा डर र चिन्ता देखेपछि प्रिन्सुले आफ्नो गल्ती महसुस गरिन्।
“मम्मी, मलाई माफ गरिदिनुस्। अबदेखि म यसरी एक्लै कतै जाँदिनँ,” उनले शान्त स्वरमा भनिन्।
नितुले छोरीलाई मायाले अँगालो हालिन् र भनिन्, “रमाउन पाइन्छ, तर आमाबुबालाई नभनी कहिल्यै एक्लै जानु हुँदैन।”
प्रिन्सुले टाउको हल्लाउँदै, “हुन्छ मम्मी, अबदेखि म तपाईंको कुरा मान्छु,” भनी
बेलुका उनीहरू घर फर्किए। दिनभरि रमाइलो र दौडधुप गरेकी प्रिन्सु अत्यन्त थाकिसकेकी थिइन्। घर पुग्नेबित्तिकै विवाहमा लगाएको घाँघरसमेत नफुकाली उनी ओछ्यानमा पल्टिन् र केही क्षणमै गहिरो निद्रामा डुबिन्।

त्यस दिनपछि प्रिन्सुले एउटा महत्वपूर्ण पाठ सिकिन्—आमाबुबाको कुरा मान्नु, भीडभाडमा कहिल्यै एक्लै नहिँड्नु र जहाँ गए पनि अनुशासित व्यवहार गर्नु नै असल बानी हो।

शिक्षा:
चकचके र जिद्दी बानीले आफूलाई मात्र होइन, आफ्ना आमाबुबालाई पनि ठूलो चिन्तामा पार्न सक्छ। त्यसैले सधैं अभिभावकको साथमा बस्ने, उनीहरूको कुरा मान्ने र जिम्मेवार व्यवहार गर्ने बानी बसाल्नुपर्छ।

….

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button