
उस्तै छन् आज पनि सपनाहरू

देवराज अर्याल ‘छट्पट्टि ‘
निलो क्रान्ति भन्दैछन् रे देशमा,
रातो क्रान्तिले सपना खरानी बनाएपछि।
हिजो आदर्शको गीत गाउने ओठहरू,
आज पैसाको भाषा बोल्न थालेपछि।
पहिलाका राता क्रान्तिलाई
समयले कमाउन सिकायो रे,
नाराभित्र व्यापार मिसियो,
र विश्वास बजारमा बिकायो रे।
त्यसैले फेरि जन्मियो नयाँ रङ—
निलो, आकाशजस्तै ठूलो भनिएको,
तर भित्रभित्रै उस्तै तिर्खा,
उस्तै सत्ता, उस्तै खेल लुकाइएको।
बिस्तारै निलो क्रान्तिमा
मास्टरको लास भेटिन्छन् चोकमा,
भोकले सुकेका पेटहरु भेटिन्छन् देशमा
नारा उस्तै
नारा जनतालाई बिकाउदै
किताबका पानाहरू रगतले भिजे,
सपना झुण्डिए शून्यको शोकमा।

ब्यापारीहरूले स्वास फेर्न छोडे,
गल्लीहरू बन्द भए डरले,
मान्छे मान्छेसँग शंका गर्न थाले,
आगो फैलियो आफ्नै घरले।
क्रान्तिको आगो बल्दै गयो,
नाराभन्दा धेरै क्रोध बोकेर,
र बिस्तारै सबै जल्दै गए—
कोही सत्ता भएर,
कोही जनता भएर।
अन्त्यमा बाँकी रह्यो
धुवाँ, खरानी र प्रश्न मात्र—
क्रान्ति बदलिएको हो कि
रङ मात्रै फेरिएको हो ?
सर्बहराहरु हिजो आज
रमाइलो साझमा छन्
छर्रा र बन्दुकको नालको
खादा लागाउनेहरु आज
सरापदै छन्
नारा बिक्यो, स्वाभिमान बिक्यो
तर तातो रगत बगेको सुक्यो
तारे होटेलमा प्याक संग
कुर्सि साटियो, मुद्धा साटियो
मुर्ति साटियो
फेरी परिबर्तन रातो बाट
निलो भयो
उस्तै
सपनाहरु बेचीन्छन्
पुन कुर्सि साटिन्छन्
उस्तै छन् आज पनि सपनाहरू
बजारमा सस्तोमा झुन्डिएका
मान्छेको आशा, जनताको विश्वास
फाइलभित्र कैद भएर थुनिएका
कुर्सी फेरिन्छ, खेल उस्तै रहन्छ
मुख बदलिन्छ, नियत उस्तै रहन्छ
देश त उही हो, घाउ पनि उही
तर उपचारको नाममा व्यापार चलिरहन्छ
तारे होटलका चम्किला टेबलमा
जनताको व्यापार चलिरहन्छ….
(अप्रकाशित कविता संग्रह – ‘घाउको मलामी’ बाट)
…
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



