लघुकथा: टाइम किल

सुषमा आचार्य ‘अंशु’

रातको सहर झ्यालबाहिर टल्किरहेको थियो।
कोठाभित्र भने केवल मोबाइलको फिक्का उज्यालो र उसको अन्तिम सन्देश बाँकी थियो “म त टाइम किल मात्रै गरिरहेको छु।”
उसले यो कुरा एकपटक होइन, धेरैपटक भनेको थियो।
स्पष्ट शब्दमा। निर्दयी सत्यजस्तै।

तिमी मेरो लागी के गर्छौ बारम्बार मेरो प्रश्नमा उसले सही जवाफ दिन्थ्यो “म केही गर्दिनँ।”

यसो नगर्नु भन्दा पनि के फरक पर्छ र
“जे भए पनि के नै हुन्छ र?”
जस्ता उत्तर ले म मौन बस्थे
ऊ सधैँ सत्य बोल्थ्यो।
तर प्रेममा परेको मनलाई सत्यभन्दा भ्रम प्यारो हुँदो रहेछ।
म उसको कठोर शब्दहरूभित्र पनि माया खोज्थेँ।
उसको चुप्पीलाई गहिराइ ठान्थेँ,
दूरीलाई बाध्यता,
र बेवास्तालाई लुकाएको प्रेम।
ऊ त खुला आकाश थियो,
म नै बादल बनेर उसमाथि वर्षिन खोजिरहेकी।
उसले न कसम खायो,
न कुनै साथ निभाउने वाचा।
उसले त आफ्नो ढोका आधा खुला राखेको थियो
जुनसुकै बेला निस्किन सक्ने गरी।
तर मचाहिँ त्यही आधा खुला ढोकालाई
घर सम्झेर बसिरहेँ।
झुटो आशा पनि कस्तो अचम्मको
मरिसकेको बिरुवामा पनि
हरेक बिहान पानी हालिरहन सिकाउँछ।
एक दिन मैले उसलाई सोधेँ,
“यदि म एक्कासि हराएँ भने?”
उसलाई म हराउने डर थिएन
ऊ हल्का हास्थ्यो
त्यो हाँसोमा न डर थियो, न माया।
उसले सहजै भन्यो
“मानिसहरू हराउँछन्… पछि बानी पर्छ।”
त्यो क्षण,
मनभित्र कतै चर्किएको आवाज सुनियो।
मैले पहिलो पटक आफूलाई देखें
उसलाई होइन,
अर्थहीन सम्बन्ध न भुत , न वर्तमान , न भविष्य
आफ्नै कल्पनालाई प्रेम गरिरहेकी रहेछु।
ऊ त सुरुदेखि नै सत्य थियो।
उसले कहिल्यै सपना देखाएन।
म नै थिएँ,
उसको “केही गर्दिनँ” भित्र पनि
“सायद एक दिन गर्छ” भन्ने झुटो आशा पालेर बाँचेकी।
झ्यालबाहिर पानी परिरहेको थियो।
मैले उसका सबै सन्देश मेटाएँ।
तर अचम्म…
मोबाइल खाली हुँदा पनि
मनभित्र उसको एउटा वाक्य अझै बजिरहेकै थियो
“म त टाइम किल मात्रै गरिरहेको छु…”
सायद केही सम्बन्धहरू
एक्कासि टुट्दैनन्,
बिस्तारै सत्य हुँदै जान्छन्।

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button