नीलकमल बालमनको सुगन्ध हो

नीलकमल बाल–उपन्याससँगको यात्रा (समीक्षा)

डा. विष्णुबहादुर जी.सी.

साहित्यकार ललिता दोषीद्वारा लिखित बाल–उपन्यास ‘नीलकमल’ को छैठौं संस्करण पढेपछि केहीक्षण म खामोश बनेँ ; तर मनभित्र उठेको खुलदुली रोकिएन । सरल, सहज र प्रवाहपूर्ण भाषामा लेखिएको यो कथा बालहृदयको निख्खर भावनाबाट फक्रिएको सुन्दर र सुगन्धित फूलझैँ लाग्यो । बालबालिकालाई केन्द्रमा राखेर लेखिएको उपन्यास भए पनि यसको प्रत्येक पृष्ठमा जीवनका गहिरा अर्थहरू भेटिन्छन्, जसले वयस्क मनलाई समेत सहजै स्पर्श गर्न सक्छन् ।

बालपनको निर्दोषता, निस्वार्थ प्रेम, करुणा, सहनशीलता र आत्मबलका सन्देशहरूले पाठकको मनभित्र लुकेका सूक्ष्म स्मृतिहरूलाई जागृत गराउँछन् । अभिभावकका रूपमा बालमनोविज्ञान बुझ्न, शिक्षकका रूपमा बालसाहित्यको शक्ति महसुस गर्न र साहित्यप्रेमीका रूपमा सरल शब्दभित्र लुकेको गहिरो जीवनबोध पाउन ‘नीलकमल’ पढ्नैपर्ने कृति हो भन्ने अनुभूति भयो । त्यसैले म मौन भए पनि शब्दहरूले आफैं बोल्न थाले—

‘नीलकमल’ बालमनको सुगन्ध हो, जसले पाठकको आत्मासम्म पुगेर स्पर्श गर्छ ।

काठमाडौँको संक्षिप्त सामाजिक चित्रणसँगै सुरु हुने पहिलो पाठमै कथाले पाठकलाई पात्रहरूको जीवनभित्र पुर्‍याइदिन्छ । कमलका बाबुआमा गोविन्द र शोभा पुर्ख्यौली सम्पत्तिका धनी भएतापनि, छोरा कमलले घरभित्र यथेष्ट माया, संरक्षण र भावनात्मक सहारा पाएको देखिँदैन । अर्कोतर्फ, सर्लाहीबाट बसाइँ सरेर काठमाडौँ आएका नीलाका बाबुआमा त्रिलोचन र राधाको जीवन संघर्षपूर्ण छ । त्रिलोचनको असामयिक निधनपछि नीलाले बाबुको माया–ममता अनुभव गर्न पाइनन् । तर उनकी आमा राधाले भने एक्लोपन र अभावकाबीच पनि छोरीलाई मुटुको टुक्राजस्तै माया गरेर हुर्काएकी छन् ।

जीवनका यिनै दुई फरक पृष्ठभूमिबीच कथाको मानवीय संवेदना विस्तार हुँदै जान्छ । नीलाकी आमा राधाले कमलकी आमा शोभालाई घरायसी काममा सघाउन थाल्छिन् । बच्चा कमललाई तेल लगाइदिने, हेरचाह गर्ने जस्ता साना तर गहिरा कर्महरूले राधा र कमलबीच मातृत्वको आत्मीय सम्बन्ध बिस्तारै विकसित हुँदै जान्छ । त्यसको प्रभावस्वरूप कमलले पनि राधालाई आफ्नी आमाजस्तै माया गर्न थाल्छ ।

कमल र नीला छुट्टाछुट्टै विद्यालयमा पढे पनि उनीहरूबीच सहयोग, स्नेह र समझदारी क्रमशः गहिरिँदै जान्छ । नीला उमेरअनुसार सचेत, आत्मविश्वासी र सृजनशील पात्रका रूपमा प्रस्तुत भएकी छिन् । कथाहरू सुनाउन रुचि राख्ने नीला साथीहरूमाझ लोकप्रिय छिन् । उनले कमललाई कथा भन्न सिकाएकी छन्, जीवनलाई सकारात्मक ढंगले बुझ्न प्रेरित गरेकी छन् ।
तर समाज सधैं सहज हुँदैन । कमल र नीलाबीच बढ्दै गएको सामिप्य छिमेकीहरूलाई मन पर्दैन । उनीहरूका संकुचित सोच र पूर्वाग्रहले कथा अर्कै मोडमा पुग्छ । गाउँलेहरूले कुरा लगाएपछि कमलकी आमा शोभाले कमललाई नीलासँग खेल्न समेत निषेध गर्छिन् । त्यतिले मात्र नपुगेर नीलालाई र उनकी आमालाई बसिरहेको ठाउँ छोड्न निर्देशन गर्छिन्, कमलकी आमा शोभाले । अन्ततः क्रोध र अहंकारले अन्धो बनेकी शोभाले राधामाथि कुटपिटसम्म गर्छिन् र उनको हात भाँचिदिन्छिन् ।

राधा र नीलाले अनेक पीडा, अपमान र संघर्ष सहँदै जीवन अघि बढाइरहेका बेला कथामा अर्को ठूलो दुर्घटना घट्छ । एक दिन मोटरसाइकलको ठक्करबाट कमल गम्भीर घाइते हुन्छ । अप्रेसनका क्रममा डाक्टरले कमलको एउटा खुट्टा काट्नुपरेको जानकारी गराउँदा शोभा र गोविन्दको होस उड्छ । धन, अहंकार र आफ्ना गल्तीको पश्चातापमा छटपटाइरहेका हुन्छन्, कमलका बाबुआमा ।

यही कठिन घडीमा अस्पतालमा नीलाको उपस्थितिले उनीहरू शान्तिको सास फेर्छन । रत्ना बजैले कमल असल बन्नुमा राधा र नीलाको भूमिकालाई उजागर गर्दै मानवीय मूल्यको महत्व सम्झाउँछिन् । सहयोग गर्न कञ्जुस्याइँ नगर्ने रत्ना बजै स्वयं पनि नीलाबाट धेरै कुरा सिकेको सम्झना गर्छिन् ।

नीला बारम्बार अस्पताल पुगेर कमललाई निराश हुन दिँदैनिन् । उनी कमललाई सम्झाउँछिन्, हिम्मत दिन्छिन्, उसको हाँसोमा हाँसो मिसाएर जीवनप्रति आशा जगाइरहन्छिन् । शारीरिक अपाङ्गता भए पनि मानसिक रूपमा सबल बन्ने यात्रामा नीलाले कमललाई डोर्‍याइरहेकी छिन् । सायद यो साथ, यो समझदारी र यो प्रेम जीवनपर्यन्त निरन्तर रहने संकेत हो— नीला र कमलको, नीलकमलको यात्रा ।

सरल र सहज भाषामा लेखिएको यस उपन्यासमा शब्द चयन, पात्र निर्माण र विषयवस्तुको प्रस्तुति प्रशंसनीय छ । अझ महत्वपूर्ण पक्ष के हो भने यो कृति बालबालिकामात्र होइन, सबै उमेर र सबै वर्गका पाठकका लागि पठनीय छ । अभिभावक र शिक्षकका लागि त यो पुस्तक विशेष रूपमा आवश्यक देखिन्छ । बालबालिका असल वा खराब बन्नुमा घर, समाज र उनीहरूको व्यवहारको कस्तो भूमिका हुन्छ भन्ने सन्देश उपन्यासले प्रभावकारी रूपमा प्रवाह गरेको छ ।

उपन्यासले समाज परिवर्तनका लागि नाराभन्दा व्यवहार ठूलो र प्रभावकारी हुन्छ भन्ने सन्देश सशक्त रूपमा प्रवाह गरेको छ । । साहित्यकार ललिता दोषीको बालमन बुझ्ने संवेदनशील चेतनारूपी मन र कलम निरन्तर अघि बढोस्—

हार्दिक शुभकामना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button