मकवानपुर हाँक्ने सार्वजनिक बौद्धिक मेन्टर खोजिरहेकै छु

देशको समग्र चित्र कोर्ने ‘नेपालनाम्चा’को राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोप्रति अगाध प्रेम प्रकट गर्नुभएकोमा मकवानपुरका डा.तारालाल श्रेष्ठलाई धन्यवाद ।

१. तपाईको जिल्लाको कुरा गर्दा सबैभन्दा पहिला तपाईको मनमा के बिम्ब आउँछ ?
मेरो जन्मथलो मकवानपुर जिल्लाको कुरा गर्दा देशको ऐतिहासिक नाका भीमफेदीबाट मोटरगाडी र साइकल सँगसँगै बोकेर काठमाडौं ल्याएको दृश्य सलबलाउछ । व्यापारिक आवतजावतले गुल्जार भीमफेदीमा भाषा पाठशाला २००४ सालमै स्थापित थियो । जहाँ ज्योति पुस्तकालय वि.सं. २००९ र नेवा कला कुञ्ज २०१८ सालमा स्थापना गरिएको थियो । यस्ता पृष्ठभूमिले बहुआयामिक कलाकार कोइलीदेवी, उस्ताज भोला जोशी, भीम विराग, सोमबहादुर लामा, गौरव केसी, वीएस राना जस्ता कलाकार मकवानपुरबाट उदाए । कलाकार, साहित्यकार, लेखक, बुद्धिजीवीको बढोत्तरीसँगै राजनीतिक गतिविधि भीमफेदीबाटै सुरु भयो । सम्राट अशोक, बेलायती रानी भिक्टोरीयागायत विशिष्ट व्यक्तिको पदचाप परेको ठाउँ मकवानपुर ऐतिहासिक महत्वको जिल्ला हो । शक्तिशाली सेनवंशीय राजाहरुको विराशत बोकेको जिल्ला पनि हो मकवानपुर । यस्ता अनेकौं बिम्ब आउछ ।

२. मकवानपुर जिल्लामा जन्मिएकोमा आफूलाई बेलाबेला कस्तो अनुभूति गर्नुहुन्छ ?
पहिलो त्रिभुवन राजमार्ग, कान्तिराजपथ, पूर्वपश्चिम राजमार्ग, रोपवे, भीमफेदी नाका, औद्योगिक गतिविधि आदिको केन्द्र भएकाले मकवानपुरमा मोटरगाडी व्यवसायीको बढोत्तरी भयो । त्यस्तै ब्राण्ड बन्दै गयो । हेटौंडालाई ‘ड्राइभर खलासीको सहर’ भन्ने भास्य सुनिन थाल्यो । जबकि हेटौंडा मकवानपुरले धेरै कलाकार, बुद्धिजीवी, राजनीतिज्ञ जन्माएर हुर्काएकै हो । अहिले त अझ बागमती प्रदेशको राजधानी बनेको छ, हेटौंडा मकवानपुर । हावापानी, भौगोलिक तथा जैविक विविधताका हिसाबले निकै धनि जिल्ला हो, मकवानपुर । हिमपात हुने उच्च क्षेत्र सिमभञ्याङ्गदेखि वीरगञ्ज, धरानचतरा, नारायणगढ, काठमाडौं चारैतर्फको विविधता बोकेको केन्द्रविन्दु हेटौंडा मकवानपुरको हाम्रो गाउँ हर्नामाडी–हटिया क्षेत्रलाई प्रगतिशील विचार बोकेका मानिस बस्ने शिक्षत गाउँका रुपमा चिनिन्थ्यो । जहाँ हामीले नेपालकै पहिलो अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाबाट गुम्बाडाँडा खुला मूर्तिकला पार्क स्थापना गरेका छौं । त्यसलाई हराभरा गर्न बाँकी नै छ । यसर्थ, आफूलाई गर्व गर्छु हेटौंडा मकवानपुरमा जन्मिएकोमा । हेटौंडा क्रमशः अटोमोबाइल हबबाट शैक्षिक हबका रुपमा विकास हुँदै गएको देख्दा गर्व लाग्छ ।

३. बाहिरबाट आउने मान्छेलाई चाहिँ तपाईको जिल्लामा गर्वका साथ देखाउन मन लाग्ने ठाउँ कुन हो ?
जैविक विविधताले भरिपूर्ण क्षेत्र भएकाले बोटानिकल गार्डेन बनाउन सकिन्छ । नेपालको केन्द्रविन्दु तामसालिङ क्षेत्र भएकाले तामाङ, लोपोन्मुख चेपाङ तथा अन्य जातजातिको संस्कृति झल्किने राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने र मिनी नेपाल हेर्न चाहने जिज्ञासु पर्यटकलाई हेटौंडा मकवानपुर पु¥याउन पाए हुन्थ्यो । हाल देखाउन लायक कुरा भनेको शहिद स्मारक, गुम्बाडाँडा मूर्तिकला पार्क, मकवानपुर गढी, सालक पार्क, चिसापानी गढी, दामनपालुङ, कुन्छाल बस्ती, इन्द्रसरोवर आदि स्थापित पर्यटकीय स्थलहरु हुन् । प्रदेश राजधानी पनि भएकाले हेटौंडा कमवानपुरमा राष्ट्रिय जनजाति संग्रहालय (मिनी नेपाल) स्थापना गर्न सकिने आधार छन् । हिमाल, पहाड, तराई हेर्न मिल्ने भूगोल छ । मध्य मागमा अवस्थित भएकाले पायक पनि पर्छ ।

४. तपाईलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
उजाडउराठ लाग्दो जन्मथलो हर्नामाडी गाउँको गुम्बाडाँडामा पहिलो अन्तर्राष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला सम्पन्न गर्ने अभियानको अगुवाई गरेको क्षण सम्झदा गर्व लाग्छ । मौलिक आदिवासीय सौन्दर्यले उक्त क्षेत्रलाई कला, साहित्य तथा संस्कृतिको संगमस्थल, दीगो विकास मोडल प्रस्तुत गर्न नसकिएकोमा भने दुःख लाग्छ । आखिर कला, साहित्य, संस्कृति सबै राजनीतिसँग जोडिन्छ, जोडियो । गुम्बाडाँडा कलासाहित्यको नमुना अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सहज वातावरण भएन । देशभर उस्तै खालका मूर्तिकला कार्यशाला हुँदै गयो । गुम्बाडाँडामा बौद्धिक अभियानलाई निरन्तर दिने वातावरण बनेन । यद्यपि हजारौं जनसमुदायको मुस्ठीदानबाट निर्मित हर्नामाडी कला पार्क निर्माणका कथा, सामूहिक इतिहास सम्झदा गर्व लाग्छ ।

५. धेरैले थाहा नपाएको तर तपाईले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
हेटौंडा मकवानपुरका नदीहरुमा नेचुरल स्वीमिङ स्थलहरु सहजै निर्माण गर्न सकिन्छ । यत्रतत्र त्यस्ता सार्वजनिक स्नान केन्द्रहरु निर्माण होस् । सफासुग्घर हेटौंडा मकवानपुरबासी बाहिर निस्कदा चमकबाटै चिनियोस् । सबको हातमा, ब्यागमा किताब होस् । खुरापातको साटो किताबका कुरा होस् । सार्वजनिक संवादको संस्कृति बनोस् । आन्दानी राम्रै छ, जीवनशैली सहज छ । अब समाजिक बुद्धिजीवीकरणका कामहरु होस् । अटोमोबाइल होइन साइकल हब बनोस् । हेटौंडा सहजै साइकल सहर बन्न सक्छ । बौद्धिक सहर पनि बन्न सक्छ ।

६. यदि तपाईको जिल्लालाई एउटा मान्छेजस्तै सोच्नुप-यो भने कस्तो स्वभावको हुन्छ ?
संभावनाले भरिपूर्ण स्वस्थ्य आकर्षक युवक युवति जस्तो तर खुरापातीमै जीवन सिध्याइरहेको बेकामी व्यक्ति जस्तो लाग्थ्यो मलाई त मेरो जन्मस्थल जिल्ला, अपवादबाहेक । दुई दशकअघि हिजो हेटौंडा मकवानपुरमा म मेरो मेन्टर खोजिरहन्थे, आदर्शवान बौद्धिक व्यक्ति, र विरक्तिन्थेँ । आज पनि शैक्षिक हब बन्दै गइरहेको हेटौंडा मकवानपुर हाँक्ने सार्वजनिक बौद्धिक मेन्टर खोजिरहेकै छु ।

७. भविश्यमा तपाईको जिल्ला कस्तो भएको देख्दा तपाई खुशी हुनुहुन्छ ?
कर्मशील आदर्श बौद्धिक मान्छेलाई माया गर्ने कलात्मक सौन्दर्यशास्त्रले भरिपूर्ण जिल्ला बनोस् । जहाँ जग्गा दलाल नेता, बुद्धिजीवी, समाजसेवीको दबदबा भन्दा सादा जीवन उच्च विचारलाई मान्नेता दिने मानिसले इज्जत सम्मान पाओस् । पर्चा बेचेर चुनाव खर्च जुटाउने नेता जन्माएको जिल्लामा पैसाको खोला बगाए पनि तिनले चुनाब नजितोस् । समाजको बुद्धिजीवीकरणमा सार्वजनिक बौद्धिक वर्गले सघाओस्, सघाइरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button