
ठेचो, जहाँ ३२ लक्षणयुक्त युवतीको सांस्कृतिक प्रेमकथा पढ्न पाइन्छ

ठेचोको ऐतिहासिक सांस्कृतिक पहिचान
डा. विपी बडाल
मन त हो, दुख्छ नि ! सत्यकुरा लुकाइदिएर असत्यकुरालाई नाटकीय बनाइ सत्यजस्तै भनिदिए पछि । वास्तवमा नेपाल सभ्यता वा नेवा सभ्यता भनेको नै नेवार सभ्यता हो । वाग्मती नदीको आसपास रहेको नेपाल मण्डलको नेपाल सभ्यताको केन्द्र विन्दु पशुपतिनाथ हो । लगभग १५ औं शताब्दी इशापुर्वतिर ऋग्वेद लेख्दा नै लेखिएको “श्रीपशुपतिनाथ” शब्द हो । पशुपतिनाथ भनेको पशु झैं पाशमा बाँधिएका सम्पूर्ण चराचर जगतका मालिक देवताका पनि देवता महादेव नै हुन् । हिन्दू र बौद्ध सम्प्रदाय उत्पत्ति हुनुभन्दा धेरै अगाडीको सभ्यता हो, इन्दस सभ्यताको उत्खनन गर्दा पशुपतिनाथको शिलछाप नै भेटिएकोले पाशुपत सभ्यता इन्दस सभ्यता भन्दा धेरै पुरानो सभ्यता हो । हडप्पा मोहनजोदारो उत्खनन गर्दा सयौं शिवलिंग भेटिएका छन् । यसको मतलव शिवतत्व पशुपतिनाथ नेपालमा मात्रै छ र यो पाशुपत सभ्यता नै नेपाल सभ्यता हो । इतिहासमा नै काठमाडौं उपत्यकालाई नेपाल र यहाँका वासिन्दालाई नेवा भनिन्छ । ३०–३५ वर्ष अघिसम्म धुलिखेल बनेपाका मानिसहरु काठमाडौं जान नेपाल जाने भन्ने गर्दथे । वास्तवमा सभ्यता भनेको भूगोलको सांस्कृतिक पहिचान हो । स्थानीय ज्ञान, कला, साहित्य, संस्कृति, संगीत, भेषभुषा, खानपान आदि सबैको समिश्रण हो । नेपालको नेवा सभ्यता र संस्कृतिको एउट पूर्ण उदाहारण अर्थात यो सभ्यताको एउटा उत्कृष्ट नमुना ठेचो हो ।
सभ्यता
ठेचोको इतिहास र सांस्कृतिक सभ्यताको सत्य कथा यहींबाट सुरु हुन्छ । ठेचोमा एकजना नुह्क्षे महर्जन कि एउटी असाध्यै राम्री छोरी थिइन्, उनी सभ्य नेवार परिवारमा जन्मेकी, धर्मकर्म पुजापाठ आदि सबैमा निपूर्ण थिइन् । उनी ३२ लक्षणयुक्त थिइन्, यो कथा प्रेमको हो । नेपालमा राजनैतिक रुपले प्रशिक्षित विज्ञहरुले आफ्नो भोट बढाउन जे पायो त्यहि बोलिदिने गरेका छन् । हामी सचेत हुनु पर्दछ, नेवा कुनै जात नश्ल वा रक्त समुह होइन । “नेवा” सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, धार्मिक र भौगोलिक समन्वय हो, नेपाली पहिचान हो, नेपाली सभ्यता हो । धेरैलाई अनौठो लाग्न सक्छ, नेवारी समुदायभित्र मुस्लिम, क्रिश्चियन, बाहुन, क्षेत्री, राई लिम्बु, थारु, मधेशी, मैथिली सबै संस्कृति र सभ्यता भेटिन्छ । यहाँभित्र शैव, नाथ, शाक्त, वैष्णव, प्रणामी, बौद्ध, किरात सबै संस्कृतिको गतिलो समन्वय देखिन्छ । पाली, संस्कृत, नेपाली, मैथली किरात सबै भाषा मिलेर नेवा भाषा, कला गीत संस्कृति सभ्यताको विरासत हालसम्म पनि कायम छ । “नेवा” मंगोल अथवा जनजाती पनि होइन । सबैलाई अंगाल्ने, कालकुट हलाहल विष जस्तै पिइदिने, पशुपतिनाथ जस्तै हो । त्यसैले नेवा सभ्यता नेपालको पाशुपत सभ्यताको जैविक प्रमाण हो । प्रेम, समन्वय, श्रद्धा र एकता हो । देश र राष्ट्रियता भन्दा कोहि उच्च हुँदैन । सबैको समन्वयात्मक संस्कृति तथा ज्ञान नै सभ्यता हो । यहि समष्टिगत सभ्यताको सांस्कृतिक विम्ब प्रष्टसंग ठेचोमा देख्न पाईन्छ । नेवा सभ्यता प्रशान्त महासागर झैँ बिराट छ जे सुकैलाई पनि समेटन सक्छ । गोपाल बंसदेखि आजसम्मका सबै अवयव समेटेर, सुन्दर सांस्कृतिक माला निर्माण गर्न सक्षम ऐतिहासिक सभ्यता नै नेवा सभ्यता हो ।
चोभार मन्जुश्री बोधिसत्व वा भगवान कृष्ण जसले खोलेको भने पनि यो प्रकृतिको नियम अनुसार भौगर्विक कारणले गोकर्ण, पशुपतिनाथ जस्तै चोभारमा पनि पानी खुल्यो र यो क्षेत्रमा विस्तारै बस्ति बस्न सुरु भयो । यो सुन्दर उत्पादनशिल उपत्यकामा चारै दिशाबाट मानिसहरु आउन थाले । घुमन्ते पशुपालकहरु यहाँ आएर कृषि गर्न थाले । तालको छेउछाउ नागको बिगबिगी हुन्थ्यो । यिनीहरुले नागबाट सुरक्षा पाउन नागको पुजा आराधना प्रार्थना गर्न थाले । त्यसैले यिनीहरुलाई नाग समुदाय भन्न थालियो । यिनिहरुको नेतृत्व गाईपालक गोपालहरुले गरे । फर्पिंगतिर गोपाली समुदाय अझै अस्तित्वमा छ । त्यसपछि महिषपाल आए । त्यसपछि किरात, लिच्छवी, मल्ल, शाह आदि आए । उत्तरबाट थेप्चे (मंगोल) आए । दक्षिणबाट चुच्चे (आर्य( आए । त्यसपछि प्रजातन्त्र, बहुदल र गणतन्त्र आयो । यी सबै परिस्थितिमा सबै परिवर्तनलाई आत्मसात गर्दै समन्वय गर्दै आफ्नो धर्म, संस्कृति सभ्यता र पहिचान बचाउन सफल समुदाय नै नेवा समुदाय हो । पशुपतिनाथ केन्द्रमा राखेर यसका ६४ पाशुपत ज्योतिर्लिंगले सुरक्षित क्षेत्र नै नेपालमण्डल हो । नेपाल मण्डल (काठमाडौँ उपत्यका) को सबै संस्कृति सभ्यता तथा इतिहास ठेचोमा अहिले पनि देख्न पाईन्छ । कथा यसरी अघि बढ्छः ति सुन्दरी युवतीले यी सबै सभ्यता कला संस्कृति बुझेकी थिइन् । उनी खासमा असली नेवाः थिइन् । जात, धर्म, वर्ण, लिङ्गको, तेरो(मेरो गर्ने साँगुरो, साम्प्रदायिक, नश्लीय, विभेदकारी चिन्तनभन्दा माथि उठिसकेकी ज्ञानी थिइन् ।
परिचय
थ्वेच्व शब्द नै अपभ्रम्स भएर ठेचो भएको हो । लिच्छवीकालिन लेम्ब्रटिद्रंग अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, चापागाउँ, लेले नगरको केन्द्रीय भाग नै ठेचो हो । ललितपुर जिल्लाको प्रशिद्ध गोदावरी नगरपालिका वार्ड न १२ मा रहेको “ठेचो” लगनखेलबाट चापागाउँ दोबाटो हुँदै जाँदा ५ किमी दक्षिणमा पर्दछ । पशुपतिनाथभन्दा पनि पुरानो मानिएको भ्रिंगारेश्वर महादेवको मन्दिर पनि अलि तल यहीं सुनाकोठीमा रहेको छ । राजा मानदेवले मानेकी इष्टदेवी मानमानेश्वरी देवीको मित नै ठेचोको नवदुर्गा गण हो । उनै नवदुर्गा देवीगणलाई शिवद्यचा भनिन्छ । अर्थात् शिवको शक्ति नै नवदुर्गा हो । यहाँ “शैव र शाक्त” संयुक्त रुपमा देखा पर्दछन । यहि सभ्य नगर ठेचोमा उनको जन्म भएको थियो ।
धेरै पोखरीहरु भएको, खुवा र तोरीको तेलको लागि प्रशिद्ध ठेचोमा माथिल्लो लाछीमा रहेको बालकुमारी मन्दिर केन्द्रित ४ वटा र तल्लोलाछीस्थित ब्रम्हायणी मन्दिर केन्द्रित ३ वटा गुठी रहेका छन् । च्वयलाछिमा बालकुमारी देवीको ३ तल्ले मन्दिर र क्वयलाछिमा ब्रम्हायणी देवीको २ तल्ले मन्दिर तथा नवदुर्गा भवानीको मन्दिर रहेको छ । त्यो समयमा नेपाल भेडाको उmन धेरै उत्पादन हुने देश हो । यसको नमुना अझै पनि ठेचोमा महिलाहरु चर्खामा भेडाको उmन कातेर बसिरहेको देखिन्छन् ।
हरेक बर्ष यमोरी पुर्णिमादेखि चारदिनसम्म भब्य जात्रा चल्दछ । उक्त रात बालकुमारी र नवदुर्गा देवीको मुर्ति निकालेर पिंगालादेवी पिठमा लगिन्छ । दोश्रोदिन सबै पिंगल(पीठमा जान्छन, पुजा गर्छन् । भोज खान्छन् । तेश्रोदिन खट पुनः आआफ्नो मन्दिरमा टोल घुमाउँदै लगिन्छ । भैरबलाई पनि रथारोहण गराइन्छ । बाजाबजाई नवदुर्गा नृत्य गरिन्छ । देवतालाई मन्दिरमा पुनस्थापना गरिन्छ । चौथो दिन सिन्दूर जात्रा गरी भव्यसँग जात्रा सम्पन्न हुन्छ । नवदुर्गा नृत्य दशैंमा पनि भब्यसंग मनाइन्छ । ति सुन्दर नेवा मैचा सबै ६४ कलामा निपूर्ण थिइन् । सबै धार्मिक सांस्कृतिक क्रियाकलापमा सहभागिता जनाउने गर्दथिन् । यहाँका शिवद्यचा अर्थात नवदुर्गाको भौतिक स्वरूप भ्रिंगारेश्वर, ढल्केश्वर, तथा संतानेश्वर महादेव पाशुपत सभ्यताका विम्बहरु सुरक्षित छन् । कृष्णको समय अर्थात गोपाल वंशीहरुको इतिहास झल्काउने ग्वालननि, किरात र लिच्छवीहरुको युद्ध झल्काउने ढल्केश्वर महादेव तथा नवदुर्गा नृत्य ठेचोका अमुल्य अमुर्त ऐतिहाशिक दस्तावेज नै हुन् ।
धर्महरुको स्थान भएकोले यस क्षेत्रलाई धर्मथलिपुर पनि भनिन्छ । उत्तर सुनाकोठी र दक्षिण चापागाउँ दुवै नगर लिच्छवीकालीन नगर भएकाले ठेचो पनि लिच्छवीकालीन नगर हो । जानकार व्यक्तिहरुका आधारमा इतिहासमा पुरानो मूल बस्ती भुक्षय(पहिरो र प्राकृतिक विपत्तिका कारण साथै किराँत तथा लिच्छवी युद्धका कारण हालको स्थानमा सारिएको हो भनिन्छ । आफ्नो घरबार पुरानो स्थानभन्दा माथी सारिएकोले “छेँ च्व” भनिएको र कालान्तरमा “थेच्व” – ठेचो भएको मानिन्छ । पुरानो मूल बस्ती रहेको ढल्केश्वर महादेव क्षेत्रलाई “देय् चा (मूल बस्ती)” भन्ने गरिन्छ । त्यसैले ठेचो जीवित नेपाली इतिहासको पाठशाला हो । यहाँ बौद्धका बिहार तथा चैत्यहरु पनि छन् । त्यस्तै यहाँ सर्वधर्म समन्वय देखिन्छ । यहाँकी तिनै सुन्दरी छोरीको ललितपुर खोकनाका त्यस्तै ३२ लक्षणले युक्त पुरुषसंग प्रेम भएछ । त्यो बेलाको समाज निक्कै रुडिवादी थियो होला तैपनि उनले आफ्नो प्रेमलाई विवाहमा परिणत गराउन सफल भइन् । भनिन्छ उनीहरुको विवाह पनि भब्य भएको थियो ।
१२ वर्षे जात्रा नवदुर्गानाच
ठेचो नेपाली इतिहासको प्रमाण हो । गोपालकालिन कृष्णलिला पनि यहाँको नृत्यमा देखिन्छ । गाई अर्थात् पशुपालन युगदेखि वर्तमानसम्मका घटनाहरुको प्रतिबिम्ब यी जात्राहरुमा प्रष्ट देखिन्छ । सामान्यतया १२ वर्षमा एक युग परिवर्तन हुन्छ । भनौं १२ बर्षको बालक २४ बर्षको लक्का जवान हुन्छ । सबै परिवर्तन भैसकेको हुन्छ । पुरानो युगको अन्त्य र नयाँ युगको प्रारम्भ भएको हुन्छ । अन्याय र अत्याचार चरम विन्दुमा पुगे पछि सत्यको विजय सुनिस्चित हुन्छ । तर ग्रहदशा विग्रेपछि देवता पनि गुप्तवास जानुपर्छ । सधैं खुल्ने यो भब्य पवित्र नवदुर्गा देवीको मन्दिर पनि १२ वर्षमा एकदिन बन्दहुन्छ अर्थात १२ बर्षपछि गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा प्रारम्भ हुन्छ ।

शक्ति विना शिव शव नै हुन् । त्यसैले शिवको शक्तिलाई श्री भन्ने चलन छ । उनै श्री शक्तिलाई नै नवदुर्गा मानिन्छ । जात्रा सुरु भएसँगै ठेचो बस्तीमा भोज, विहे, व्रतबन्ध आदि सबै खुशियालीका काम बन्द हुन्छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न मिल्दैन । यहाँ १२ बर्षे नवदुर्गा नाच जात्रामा पाउना तथा परदेशीलाई बास बसाल्न मिल्दैन । राति ९ बजेदेखि ४ बजेसम्म बाहिर निस्किन मिल्दैन । यो अवधिभर सिट्टी, ताली, घण्ट आदि केहि बजाउन पाइँदैन । इन्द्रायणी, काली, कुमारी, गणेश, बाघिनी, बाराही, ब्रम्हायणी, भैरव, महादेव, महालक्ष्मी, विष्णुदेवी, श्वेत भैरव र सिघिनी, गरी नवदुर्गाका १३ वटा देवगण हुन्छन् । सावनदेखि चैत सम्म २८ वटा विभिन्न पुजापाठ जात्रा हुन्छन् र ६० वटा त वली मात्रै दिइन्छ । देवता नै दुखमा गुप्तवास बसेको समयमा कसरी खुशियाली मनाउनु ? विक्रम सम्बत २०७९ सालको १२ बर्षे मेलामा ७६ लाख बजेट खर्च भएको थियो । यो जात्रा भब्य हुन्छ, दिउसो त हेर्न पाईन्छ तर राति कसैले हेर्न मिल्दैन । यो जात्रामा अरु मान्छे राति यहाँ बास बस्नै मिल्दैन ।
उनले आफ्नो श्रीमानलाई जात्राको सबै भव्यता बताइन् । सम्पूर्ण नेवा सभ्यताको दृष्टान्त सुनाइन् । उनको श्रीमानलाई यस्तो गज्जब चालचलन रितिरिवाज हेर्ने चाहना भयो । गोप्य रुपले उनी ससुराली गए । ठेचोका मठ मन्दिर चैत्य पोखरी सबै भ्रमण गरे । आफ्नो धर्म संस्कृति सभ्यता एकता प्रेम र श्रद्धा देखेर उनी आश्चर्यचकित भए । ऐतिहासिक विरासतको साक्षी हुन पाउँदा उनी मन्त्रमुग्ध भए । मस्त भए मनोविज्ञानको मदहोश अवस्थामा पुगे । त्यसपछि के भयो उनलाई थाहा भएन ।
नरबलि परम्परा
देवी नवदुर्गा भनेको शिवको शक्ति स्वरुपा हो । काठमाडौं खड्ग स्वरूपको अष्टमातृकाको तान्त्रिक भूमि हो । काठमाडौँको नरदेवीमा नरको बलि ग्रहण गर्ने देवीको प्रशिद्ध मन्दिर छ । उपत्यकामा कीर्तिपुरको बाघभैरव, खड्गसिद्धि, खोकनाको रुद्रायणीमा, काठमाडौंको नरदेवी, पचली भैरव, बोडेको नीलबाराही, भक्तपुरको नवदुर्गा, भद्रकाली, ललितपुरको हरिसिद्धि भवानी देवीको भब्य नाचसहितको १२ वर्षे जात्रा मनाइन्छ । तन्त्र, यन्त्र, मन्त्र तिनै प्रकारका विधिले देवीको उपासना गरिन्छ । त्यसैले ठेचोको १२ बर्षे नवदुर्गाको नाचसहितको जात्रा भयङ्कर हुन्छ । रात्रीकालिन पुजा आराधना तान्त्रिक पद्धति गोप्य हुन्छ । कसैले हेर्न मिल्दैन । ठेचो नवदुर्गा नाचमा माली जाती बाहेक अन्यलाई प्रवेश निषेध छ । तर, सुनाकोठीको कुल्पी यज्ञ सम्पन्न भइसकेपछि मन्दिरसम्म ल्याउँदा सिंहिनी देवगणलाई ठेचोको न्हुछें गुठीका महर्जन समुदायका थकालीले बाटो देखाउँदै ल्याउने र त्यसदिन न्हूछेँ गुठीका थकालीले पनि नवदुर्गा नाचमा सहभागी हुन पाइने व्यवस्था छ । हाल माली समुदायले संचालन गर्ने नवदुर्गा नाच पहिले पहिले नवदुर्गा नाच न्हूछेँ गुठीका महर्जन समुदायका गुठीयारले नै सञ्चालन गर्ने गर्दथे ।
पहिले तान्त्रिक पद्धति अनुसार प्रत्येक १२ वर्षे जात्रामा नरबलि दिने चलन थियो । लिच्छवी राजा अंशुवर्मा भन्दा पहिलाका सूर्यबंसी राजा शिवदेवले चैतको १२ गते वत्सला देवीलाई प्रत्येक वर्ष नरबलि दिने चलन चलाएका थिए । त्यहिवेला सर्वप्रथम नेपालमा नवदुर्गा पूजामा नरबलिको चलन चल्यो । नरबलि दिनुपर्दा सर्वगुण सम्पन्न ३२ लक्षणले युक्त भएको मानिस खोज्नु पर्ने चलन थियो । गुठीका सबै तान्त्रिक गुठियारहरुले उपयुक्त पात्रको चयन गर्ने गर्दथे । किम्वदन्ती अनुसार त्यस्तो पात्र मन्दिरकै वरिपरी टुप्लुक्क आइपुग्ने गर्दछ भनिन्छ । देवीले आफ्नो भोग आफैं व्यवस्था गर्दछिन पनि भनिन्छ । अहिले पनि यो जात्राको पहिलो दिन राजा (राष्ट्र प्रमुख)लाई सुपारी (निम्ता) दिन जाने चलन छ्र अर्थात् यी सबै पद्धति विधिविधान राजालाई अवगत गराउने चलन थियो ।
श्रीमतीको माइतीको जात्राको बयान सुनेर उनी त्यो जात्रा हेर्न गएका थिए । उनी देवीको प्रभावले अथवा तान्त्रिक प्रभावले मस्त लट्ठ भए । उनलाई केहि थाहा भएन । न्हूछेँ गुठीयारहरुले नवदुर्गाको प्रसाद स्वरूप अकस्मात आइपुगेका, देवीका मस्त भक्तको वली दिए, खुशी खुशी उनी नवदुर्गाको शरणमा वली भए । न्हूछेँ गुठीयारले जात्रा अवलोकनमा आएका खोकनाका उनै पुरुष (ज्वाईं) बलि चढाए । बलि चढाइ सकेपछि, बलि दिइएको व्यक्ति आफ्नै ज्वाइँ भएको गुठियारले थाहा पाएछन् । आफ्नै हातबाट आफ्नै ज्वाईंको बलि चडाएछन् । साह्रै अपसोच पनि भएछ । ति ३२ लक्षण भएकी छोरीले श्राप दिइछन् । गुठियारकी छोरीले दिएको श्रापपछि नाचबाट न्हँछेँहरू पछि हटे । श्राप दिएर उनी सति गएकी थिइन् । वास्तवमा यो वली दिइएको होइन्, उनले नै वली स्वीकारेका थिए । शिवशक्ति नवदुर्गाको शरणमा परेका थिए । भनौं भगवान पशुपतिनाथलाई आफुलाई समर्पण गरेका थिए ।
त्यसपछि तन्त्रविद्यामा निपूर्ण माली समुदायलाई यो नाच हस्तान्तरण गरियो भन्ने भनाइ छ । त्यसपछि १२ वर्षे जात्रामा सिंहिनी देवगणलाई न्हूछेँ गुठीका थकालीले बाटो देखाउने चलन चल्यो । बाटो देखाउँदा सिंहिनीलाई आफ्नो गुठीमा प्रवेश गराउन सके नवदुर्गा नाच न्हूछेँ गुठियारले नै सञ्चालन गर्न पाउने किम्वदन्ती पनि छ । स्थानीय समाजसेवी दिलभक्त महर्जन तथा कल्पना महर्जनले भने, ‘नेपालको इतिहासको जीवित पहिचान भएको कला संस्कृति र सभ्यताले भरिएको लिच्छविकालीन सहर नै ठेचो हो ।’ वास्तवमा ठेचो सानो तर सबै कला संस्कृति र इतिहास समेटेको पूर्ण सहर हो । भित्रि रुपमा वास्तुदिशा र पंचतत्व मिलेको दिव्य गाउँ हो । प्रेमी प्रेमिका अथवा श्रीमान श्रीमतीको विचको प्रेमको उत्कृष्ट नमुना ठेचो हो । ठेचोको मुर्तअमुर्त सम्पदा बुझेका मेयर गजेन्द्र महर्जन, “ठेचोलाई नेपालको सबै संस्कृतिको समन्वय भएको नेवा सभ्यताको केन्द्र बनाउनु पर्दछ” भन्दछन् ।्र उनको दुरदृष्टि सम्मानजनक छ । हो वास्तवमा ठेचो दिव्य छ ्र हेर्न, घुम्न र सिक्नलायक छ ।
उपसंहार
इतिहास सत्य लेखिनु पर्छ । सत्तामा आधारित इतिहासले वास्तविक इतिहास मेट्छ । प्रेम, सद्भाव र श्रद्धा विना संसार सम्भव नै छैन । ज्वाईंको बलि अनि छोरीको सति यात्राको कथा मार्मिक छ । तर आज यस्ता कुरीतिहरुको अन्त्य भैसकेको छ । आजकाल मानवबलि हुँदैन । कोहि डराउनु पर्दैन । यद्यपि तान्त्रिक पद्धतिको संरक्षण गर्नु पर्छ । यहाँको वर्तमान जीवनपद्धतिमा नेपालको भब्य इतिहास झल्किन्छ । पुरातात्विक भक्तपुर जस्तो दुवै लाक्षीहरुलाई कलात्मक बनाइनु पर्दछ । संस्कृतिलाई पर्यटकीयकरण गर्नुपर्छ । बाह्र बर्षे जात्रा हेर्न आउने पर्यटकलाई राति ९ बजे अगाडी नै आफ्नो बासस्थानमा पठाउने व्यवस्था गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरको सरसफाई र सुरक्षाको सुनिस्चितता हुनुपर्दछ । समाजलाई अतिथ्यता सम्बन्धि अभिमुखीकरण गर्नु पर्दछ । धेरै व्यापारीकरण भन्दा पनि नेपाको इतिहासको अध्ययनकेन्द्रको रुपमा अथवा पाशुपत (शैव र शाक्त) नेवा सभ्यताको अनुसन्धान केन्द्रकै रुपमा विकास गर्नु राम्रो हुन्छ । नेपाली ऐतिहासिक सभ्यताको सांस्कृतिक पहिचान बुझ्न ललितपुर गोदावरीको ठेचो पुग्नै पर्छ । के तपाईं ठेचो पुग्नु भएको छ ? ठेचोको कथा सत्यकथा हो । ठेचो नेपाली सभ्यताको जीवित इतिहास हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



