म त किताबमा पेन्सिलले चिनो लगाउन पाइयोस् भन्न चाहन्छु

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘किताब’मा लेखक भारती न्यौपाने

तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो ?
लगभग कक्षा चार-पाँचतिर थिएँ होला, घरमा दाजुले अङ्ग्रेजी कथा “द मङ्किज प” पढ्दै गर्दा मलाई पनि खुब किताब पढ्न मन लाग्थ्यो तर पुस्तकालयबाट ल्याएको किताब हुनाले पढ्न पाउँदिन थिएँ । पढिसकेपछि त्यसमा भएका घटना चै दाजुले सुनाउनुभएको याद छ । सानै छँदा “ओल्ड म्यान एन्ड द सी”को कथा सुनेको, पढ्न चै आइएमा पढेकी हुँ । मामाघर सहरमा भएकाले उता गएको बेला हिन्दी मासिक पत्रिका पढ्न पाइन्थ्यो । म खुब रमाउथेँ पढ्न पाउँदा । पत्रिकाको पहिलो पृष्ठदेखि अन्तिमसम्म विज्ञापन पनि दोहोर्याएर पढिसक्थेँ । चाहेर पनि गाउँमा पढ्न पाइने अवस्था थिएन । गाउँको बसाइ, सरकारी विद्यालयको पढाइ, कमजोर आर्थिक अवस्था विविध कारण थिए । पाठ्यक्रमका किताब त गाउँका दाइदिदीले कति वर्षदेखि पढ्दै आएकालाई आधा दाम तिरेर किन्नुपर्थ्यो । कक्षामा पढाइने किताबभन्दा फाल्टु किताब पढ्न त अवसर नै चाहिने समयमा जन्मिएकी भएर होला आइए पढ्न भद्रपुर झरेपछि चै ‘जीविका इन्टरप्राइजेज’बाट किताब किनेर लगेको याद छ मलाई । रुचि त कक्षा छ-सातमा पढ्दा नै थियो होला तर पढ्नुपर्छ भन्ने चै एसएलसीपछि नै हो । अचेल चै पठनमा नियमित छु ।

किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ ?
अघिल्लो समय त पास गर्नकै लागि पढियो । प्रमाणपत्र प्राप्त गर्ने ठुलो भूमिका खेल्यो किताबले तर अचेल भने सुख दु:खको साथी हो किताब । मलाई अचेल किताबले हरेक समय व्यस्त बनाइदिएको छ । फुर्सद भएर अनावश्यक चिन्तामा डुब्नुपर्ने, साथी भाइसँगको भेटमा अनावश्यक कुराकानी गर्नुपर्ने जस्ता समस्याबाट मुक्त भएकी छु । जब म किताब लिएर पढ्न बस्छु, किताब बन्द गरेर नउठुन्जेल मैले आफ्नो संसारलाई भुल्ने गर्छु र किताबको संसारमा हराउँछु, रमाउँछु । खासमा मेरो जीवनको असल मित्र हो किताब । यति प्रिय छ कि न कसैको कुरा काट्छ, न कसैलाई गाली गर्छ यस्तो असल र मिलनसार मित्रले दैनिक जीवनमा कस्तो भूमिका खेल्छ होला हजुर नै अनुमान लगाउनुस् ।

तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ ? बिहान, दिउँसो कि बेलुका ?
पढ्न मन पराउने समयभन्दा पनि समय मिलाउन सकिने समयको ख्याल गर्नुपर्ने हुन्छ । पढ्न त बिहान, दिउँसो, बेलुका जुनबेला पनि पढ्न पाए खुब मजा लाग्छ । बिहान ४ बजे उठेदेखि दिउँसो तीन बजेसम्म त रोजगारीमा निस्कनै पर्छ । त्यसपछिको समय भने सकेसम्म पढ्नमै लगाउँछु । कलेज जाँदा झोलामा किताब राखेकी हुन्छु । एकैछिन खाली हुने बित्तिकै किताब निकालेर पढ्न थालिहाल्छु । कुनै निश्चित समय छैन मसँग । पढ्नकै लागि भनेर मलाई एकान्त ठाउँ पनि चाहिँदैन । भिडमा पनि किताबभित्र हराउन सक्छु।

किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
सायद मलाई सङ्गीतले त्यति खुसी दिन्छ, जति किताब पढ्दा म अनुभूत गर्छु । अझ आफूलाई मन पर्ने किताबलाई पटक पटक दोहोर्याएर पढ्न पाउँदा मैले ठुला ठुला दु:खलाई बिर्सन सकेकी छु । किताबले विविध किसिमका यात्रा गराउँछ । मैले जीवनमा अझ कति ज्ञानका किताब पढ्न बाँकी नै छन् । थोरै पढेकी छु । जति पढ्छु अझ बढी पढ्न सकूँ, अर्को किताब कहिले सुरु गर्ने होला भन्ने चिन्ता लागिरहन्छ । कहिलेकाहीँ त पढ्न थालेपछि रोक्नु नपरोस् जस्तो लाग्छ तर त्यो कहिल्यै सम्भव छैन ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि ?
कति जटिल हुन्छन् प्रश्नहरू ! एउटा मात्र प्रकार भन्नुपर्ने भए म यहीँ रोकिन्थेँ होला तर सबै प्रकारका किताब मलाई मन पर्छन् । पुस्तक पढ्नु र फरक विधाका विषयको अध्ययन गर्नुमा आआफ्नै विशेषता हुन्छन् । दर्शन, साहित्य, साहित्येतर, संस्कृति, भूगोल, इतिहास अनि अनेक विषय पढ्न मन पर्छ तर राजनीतिक विषयमा भने त्यति चासो रहन्न ।

किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ ?
विज्ञहरूले आफ्ना विचारहरूलाई समाज परिवर्तनकै लागि पुस्तकमार्फत बाहिर ल्याउने गर्छन् । हामी त्यही पुस्तक पढ्छौँ र हामीमा विचारको स्थापना गर्छौँ भने त्यसले केही बदलाब त ल्याउँछ नै । मेरो आफ्नो सन्दर्भमा भन्नुपर्दा पठन सँगसँगै मैले म उभिएको धरातललाई सुन्दर ढङ्गले हेर्न थालेकी छु ।

तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल ? किन ?
आहा! कति सुन्दर प्रश्न । मलाई कागजी किताब असाध्यै मन पर्छ । किताबलाई छुँदा, महसुस गर्दा, पाना पल्टाएर अक्षरहरूमा बग्दा जीवनको सबैभन्दा आनन्ददायी समय महसुस हुन्छ मलाई । म त पढेका किताबमा पेन्सिलले चिनो लगाउन पाइयोस् भन्न चाहन्छु । केही कुरा पानाको छेउमा लेख्न पाइयोस् अनि मजा हुन्छ । धेरै पृष्ठ भएका ग्रन्थस्वरूपका पुस्तक त मलाई अझ मन पर्छन् । साना पुस्तकका पनि अफ्नै विशेषता हुन्छन् । अब डिजिटलको कुरा चै आवश्यकता हेरेर ठिकै लाग्छ । जहाँ पुस्तक बोकेर जान सम्भव छैन ती ठाउँमा मोबाइलसँगै गोजीमा बोकेर जान सकिने भएकाले राम्रै मान्नुपर्छ तर पढ्न चै कागजी किताब नै मन पर्छ ।

नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ ?
पढ्ने बानीलाई विधि बनाउने भन्दा पनि पढ्नु जीवनको एउटा हिस्सा हो । हामीले बिहान उठेदेखि नियमित गरिने आफ्नो सरसफाइ, स्वस्थ खानपान, आराम, शारीरिक व्यायाम जस्तै किताब पढ्नु पनि दैनिक जीवनको नियमित र अति आवश्यक कार्य हो । हाम्रो चेतनामा रहेका अनेक कुरालाई सकारात्मक बनाउन ज्ञानका पुस्तक पढ्नै पर्छ । शरीरिक रूपमा तन्दुरुस्त रहन स्वस्थ खाना आवश्यक भएजस्तै मानसिक रूपमा तन्दुरुस्त रहन स्वस्थ पठन जरुरी छ । यो नियमित हुनुपर्छ ।

किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो ?
सबैभन्दा मुख्य कुरा त मानसिकता हो । पढ्न सक्ने अवस्थामा आफूलाई राख्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अर्को कुरा समय हो । म कुन समय फुर्सद निकाल्न सक्छु र किताब पल्टाऊँ भन्ने चै हरहमेसा लागिरहन्छ । मलाई यस्तो लाग्छ, फुर्सद निकाल्छु भनेर निस्कने कुरा हैन समय, समय त समयसँग खोसेर नै लिनुपर्ने रहेछ । मस्तिस्कले पढ् पनि भन्नुपर्ने रहेछ ।

तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ ?
कुनै पनि किताब पढिसक्दा त्यस विषयमा छलफल गर्न पाइयोस्, खुब आनन्द लाग्छ । अझ त्यस विषयलाई पढिसकेका व्यक्तित्वसँग आ-आफ्ना विचारविमर्श गर्न पाइयोस् । सामूहिक रूपमा पुस्तक पढेको अनुभव पनि मसँग छ । एउटै पुस्तकलाई एकैपटक दुईजनाले पढेर छलफल गर्ने पनि गर्छौँ हामी । यसले हाम्रो दृष्टिकोण फराकिलो बन्ने विश्वास लाग्छ मलाई ।

किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो ?
हाम्रो जीवन यात्राको दोस्रो पाइलो पठन हो । पढ्नुपर्छ खुसीसाथ । जस्तो विषय क्षेत्रका पुस्तक उपलब्ध हुन्छन् तिनै पुस्तकबाट पढ्नु सुरु गर्नुहोस् । पठनलाई निरन्तरता दिनुहोस् । यो कुनै वित्तिय आर्जनको स्रोत होइन । मात्र ज्ञान आर्जन गर्ने एउटा ठुलो आधार हो, जसले जीवनलाई सार्थक ढङ्गबाट जिउन सिकाउँछ । त्यसैले निरन्तर पढ्नुहोस् ।

आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ ?
किताब पठनले मानिसलाई सिर्जनशील बनाउँछ । व्यस्त र यान्त्रिक जीवनमा आफूलाई समयसापेक्ष उभ्याउन पनि पठन जरुरी छ । अहिलेका पुस्ताले आफूमा तार्किक क्षमताको वृद्धि गर्न अध्ययन अर्थात पठनलाई निरन्तरता दिन जरुरी छ । अघिल्लो पुस्ताले शास्त्रीय ग्रन्थलाई नीति र अनुशासनको रूपमा ग्रहण गर्यो तर अबको पुस्ताले तिनै शास्त्रलाई कारण र परिणामको रूपमा अध्ययन गर्न जरुरी छ जसले बौद्धिक तार्किक क्षमतामा वृद्धि गर्छ । त्यसैले किताब पठन जरुरी छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment


  1. पठन सँगसँगै मैले म उभिएको धरातललाई सुन्दर ढङ्गले हेर्न थालेकी छु ।

    (पठन) ज्ञान आर्जन गर्ने एउटा ठुलो आधार हो, जसले जीवनलाई सार्थक ढङ्गबाट जिउन सिकाउँछ ।

    अबको पुस्ताले शास्त्रलाई कारण र परिणामको रूपमा अध्ययन गर्न जरुरी छ ।
    /
    वार्ता पठनीय लाग्यो।
    हार्दिक बधाई भारतीजी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button