
प्रश्न गर्ने क्षमता किताबकै उपहार हो
नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा एलिसा ढुंगाना । कवि तथा पत्रकार ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष अहिले निकै चर्चामा छ । कवितामा प्रविधिको प्रयोग गरि कवितालाई आम मानिससम्म पुर्याउने प्रयासमा रहेकी ढुंगाना इजीपाना डटकमको सम्पादक हुन् ।

तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो ?
बुबाआमाले सुनाउनुभएका कथाहरु, गित र कविताहरु दाइहरुले लेखेको देख्दा बाल्यकालमै शब्दसँगको मेरो आकर्षण सुरु भएको हो । त्यसपछि भने मेरा लागी दाइहरुले ल्याईदिएका बालकथादेखि स्कुलको पुस्तकालयमा राखिएका साहित्यका सङ्ग्रहहरु नै मेरा सबैभन्दा प्रिय साथी बनिदिए। सायद त्यसैबाट पढ्ने बानी विकास भएको हुनुपर्छ ।
किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ ?
म शब्द-शब्दमा रमाउने मानिस । मैले हरेक शब्दमा मेरा मनका मानिस र जीवनका उज्याला आकृती देख्ने गर्छु । त्यसैले किताब मेरो दैनिकीमा मैले फेर्ने श्वासजस्तै महत्वपूर्ण छ । पत्रकारितामा मेरो उर्जा बनेको छ भने मभित्रको अनुशासन पनि किताब नै हो ।
तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका ?
बिहानको एकान्त र बेलुकाको शान्तिमा । बिहान दिनभरीको मानसिक शान्ती , सकारात्मक भाव र विचारका लागि पढ्छु । बेलुका आफैसङ्ग संवाद गर्नका लागि पढ्छु ।
किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
किताब पढ्दा मन केहीक्षण संसारबाट अलग भएर निश्चिन्त भएको जस्तो लाग्छ । कहिलेकाहीँ त एउटा अदृश्य हातले आफूलाई सम्हालेको जस्तो लाग्छ । नया नयाँ विचारहरुले चिहाएको , जिस्काएको र सफलताको सिढिमा डोहोराएझै लाग्छ । साच्चै, कहिले शान्ति मिल्छ त कहिले प्रश्न, तर दुवै मेरा लागी उपयोगी हुन् ।जसले गर्दा मैले आफ्नो जीवनलाई अर्कै कोणबाट बुझ्ने धेरै अवसर पाएको अनुभूति हुन्छ ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि ?
मेरो स्वभावलाइ सुहाउँदो । विशेष गरि चेतनालाई परिष्कृत गर्ने, मलाई सोच्न बाध्य पार्ने र जीवनलाई बुझाउन सहायता गर्ने पुस्तकहरू मन पर्छन्। साहित्य, कविता, कथा–निबन्ध, नियात्रा, मनोवैज्ञानिक र सामाजिक यथार्थसँग सम्बन्धित कृतिहरू विशेष प्रिय लाग्छन्।
किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ ?
मेरो लेखन र जीवन दुवैमा देखिएको धैर्यता, सम्वेदनशीलता र प्रश्न गर्न सक्ने क्षमता किताबकै उपहार हुन् ।
तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल ? किन ?
कागजी किताब । त्यसको स्पर्श, सुगन्ध र पानापाना पल्टाउने अनुभूति अरू कुनै माध्यमले दिनै सक्दैन। मेरो बाल्यकालको स्मृतिलाई ताजगी बनाउछ । त्यसैले डिजिटलसँग सहजता छ, तर मनले भने कागजीलाई अझै सजिलो मान्छ ।
नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ ?
दिनको एउटा निश्चित समय पढाइका लागि छुट्याउने गर्छु। साथमा सधैं एक–दुई पुस्तक राख्छु । यात्रामा, प्रतीक्षामा, फुर्सदमा अनुकुल अनुसारका पुस्तक पढ्छु ।
किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो ?
समय व्यवस्थापन । व्यस्त दैनिकीले पढाइलाई मात्रै होइन आफैसङ्ग पनि पर बनाइदिन्छ तर फेरि पुस्तकले नै मलाई पुल भएर आफु र आफ्नासङ्ग नजिक बनाईदिदा आनन्द लाग्छ ।
तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार-विनिमय गर्न कत्तिको प्रेरित गर्छ ?
धेरै प्रेरित गर्छ। मैले पढेका विचारहरू साझा गर्न पाउदा साच्चै भन्नुपर्दा आफुलाई भाग्यमानी नै ठान्छु । त्यससङ्गै अरूको दृष्टिकोण सुन्दा त अझै पढाइको अर्थ विस्तृत र फराकिलो भएको महसुस गर्छु । आफू अझ स्पष्ट बन्छु ।
किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो ?
सुरुमा आफ्नो मनलाई छोएको विषय वा शैली छान्नुस् । दबाबमा नभएर मनको रोजाइमा पढाइ सुरु गर्दा किताबसँगको दूरी आफैं घट्दै जान्छ तर यात्रा भने लामो , सहज र उच्च रहन्छ ।
आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ ?
किनकी, डिजिटल संसारले आँखालाई व्यस्त राख्छ, तर किताबले मनलाई शान्त बनाउँछ । यही कारले आजको समयमा प्रेम र जीवनको अर्थ खोज्ने मान्छेका लागि असल साथी नै किताब हो जस्तो लाग्छ । जति व्यस्त भए पनि किताबसँग बिताएको केही मिनेटले मनलाई समयसङ्गै सन्तुलनमा राख्न धेरै सहयोग गर्छ भन्नेमा म ढुक्क छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



