किताब पढ्दा प्रिय मानिससँग समय बिताइरहे जस्तो हुन्छ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा कवि अस्मिता विष्ट

तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो ?
जब अक्षरहरूले कथा भन्दा रहेछन् र मलाई डोर्‍याउँदै एक अलग संसारमा लैजाने रहेछन् भन्ने अनुभूति गर्न थालेँ, त्यही समयदेखि किताब पढ्न रुचाउन थालेँ । त्यो समय म ३/४ कक्षा पढ्दाको समय थियो सायद ।

किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ ?
किताब पढाइले मेरो व्यस्त दैनिकीलाई अझै व्यस्त बनाउने भूमिका खेलेको छ । व्यस्तताबीच पनि आफूले प्रेम गरेको व्यक्तिका लागि हामी समय निकाल्न मन पराउँछौँ नि, हो- ठ्याक्कै त्यस्तै ।

तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका ?
बेलुकाको समय सबैभन्दा धेरै मन पर्छ । जब दिनभरिको व्यस्तताले दिमाग थकित हुन्छ अनि साँझमा पढिएको पुस्तकले शरीर र मस्तिष्कमा ताजगीको तरङ्ग पैदा गर्छ ।

किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
आफूलाई मन परेको किताब छ भने सो किताब पढ्दा मलाई मेरो प्रिय मानिससँग समय बिताइरहेको जस्तो अनुभूति हुन्छ । त्यो समय यसरी बिस्तारै चलोस् वा केही समयका लागि चल्नै बिर्सिदिए हुन्थ्यो जस्तो लाग्छ ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि ?
यी सबै विशेषता भएका पुस्तक नै मन पर्छन् ।

किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ ?
किताबले पनि मानिसको व्यक्तित्व निर्माणमा थोरबहुत भूमिका अवश्य खेल्ने रहेछ । आज म जुन जीवन–दृष्टि बोकेर हिँडेको छु, त्यो मैले पढेका पुस्तकहरूको रिफ्लेक्सन पनि हो ।

तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल ? किन ?
मलाई दुवै प्रकारका पुस्तक उत्तिकै मन पर्छन् । कागजीमा चाहिँ पुस्तकको सुगन्ध र पाना स्पर्श गर्दाको अनुभूति एकदम सुन्दर लाग्छ । डिजिटल चाहिँ यात्रामा सहज हुने हुनाले र उपलब्धता पनि सजिलो हुने भएकाले मन पर्छ ।

नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ ?
नियमित पढ्ने बानीका लागि आफूलाई मन परेको पुस्तक पढ्ने गर्नुपर्छ ।

किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
कुनै पुस्तक ८/१० पेजभन्दा अघि बढ्नै नसकिने पनि हुन्छन्, तर पनि पूरा पढ्नुपर्ने बाध्यता कहिलेकाहीँ हुन्छ । कहिलेकाहीँ चाहिँ आफूलाई मन परेको पुस्तक पनि व्यस्तताका कारण बीचमै छोड्नुपर्छ ।

तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ ?
पुस्तकले विचार निर्माण गर्न सशक्त भूमिका खेलेको हुन्छ, त्यसैले मैले पढेका कुराले अरूसँग कुराकानी गर्न प्रेरित गरिरहेको हुन्छ । किनकि आफ्नो विचार अरूमा सम्प्रेषण गर्न मानिस जहिल्यै तत्पर हुन्छ नि ।

किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो ?
आफूलाई मन परेको पुस्तक पढ्ने गर्नुपर्छ र आज जसरी पनि यति पढेर सक्छु भनेर प्रण गर्नुपर्छ ।

आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ ?
व्यस्त जीवनशैलीमा धेरैजसो समय हामी अरूको इच्छाअनुसार आफ्नो जीवनका अधिकांश समय खर्चिन बाध्य हुन्छौँ । यस्तो बेला आफ्नो निम्ति समय खर्चिने सर्वोत्तम माध्यम पुस्तक अध्ययन नै हो। डिजिटल दुनियाँले पस्किएको निम्नस्तरको खुराकले मानिसको मन विथोलिरहेको बेला, आफूलाई जोगाएर बौद्धिक संसारमा सुरक्षित प्रवेश गराउने पनि पुस्तक नै हो । पुस्तक वास्तवमा हाम्रो आत्मालाई जगाइरहने र जोगाइरहने ईश्वरीय तत्त्व जस्तै हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button