नवरात्रीका नौ देवीले हामीलाई के सिकाउँछन् ?

रितु शाक्य

नेपालीहरुको महान चाड वडा दशैंको महिमा अनन्त छ । धार्मिक दृस्टीकोणको रुपमा सम्प्रदायपिच्छे आआफ्नै मान्यता र पूजा विधि भए पनि आध्यात्मिक रुपबाट हेरियो भने यसको महत्व अझ विराट र महत्वपूर्ण देखिन्छ ।

पहिलो दिन– शैलपुत्री (पहाडकी पुत्री) घटस्थापना
हिमालय पुत्रीलाई शैलपुत्रीको रुपमा पुजिन्छ जो सुकुमारी छिन्, निर्मल र कोमल छिन् । यसदिन घटस्थापनाको स्थापना गरिन्छ । घट अथवा घैटो अथवा पृथ्वी माता जहाँ अन्नमध्येको उत्कृस्ट अन्न जौलाई बालुवा माटोको घैटोमा रोपिन्छ। त्यो अन्नले जमीनभित्र संघर्ष गरेर आफ्नो अस्तित्वलाई बचाएको हुन्छ । त्यस्तै यसको संदेश यो हो कि प्रत्येक मानव जो अनगिन्ति भ्रुणहरुलाई जितेर आमाको गर्भमा प्राण प्राप्त गर्न सफल हुन्छ, त्यो पहिले नै विजयी हो, शक्तिशाली आत्मा हो । अब आमाको अध्यारो गर्भमा अनेकन कठिनाई बाबजुत ऊ संघर्ष गर्दै आफुलाई जीवित राख्छ । त्यो भ्रुण शिशुको रुपमा परिणत हुन्छ, जो पवित्र छ, जो गर्भमा स्थिर भएर बसेको छ ।

आध्यात्मिक पक्षः पवित्रता, स्थिरता, जमिनसँगको सम्बन्ध ।
दैनिक जीवनको प्रतीकः जसरी पहाड अडिग हुन्छ, हामीलाई पनि जीवनमा मूल्य र सिद्धान्तमा दृढ रहन सिकाउँछ ।

दोस्रो दिन– ब्रह्मचारिणी
सानैदेखि माता ब्रम्हाचारिणी महादेव (शिव)लाई पतिको रुपमा पाउँ भनेर साधना कठिन तप गर्थिन् । कुनै पनि लक्ष्य प्राप्त गर्नको लागि धैर्यता, निरन्तरता, आत्मविश्वास ,अनुशासन र कठिन परिश्रमको अवश्यकता हुन्छ । यहि गुण प्राप्तिको लागि यो दिन ब्रम्हाचारिणी माता को साधना गरिन्छ । एउटा बीजले विरुवा बन्न आफ्नो अस्तित्व गुमाउँछ अनि बल्ल ऊ बोट बन्न सक्छ । त्यहि हो साधना, जहाँ प्रत्येक व्यक्तिले आफुमा रुपान्तरण ल्याउन सक्छ ।

आध्यात्मिक पक्षः अनुशासन, तपस्या, साधना ।
दैनिक जीवनको प्रतीकः विद्यार्थी जस्तै निरन्तर अध्ययन र धैर्य गर्ने क्षमता, जसले जीवनमा ज्ञान ल्याउँछ ।

तेस्रो दिन– चन्द्रघण्टा
माता चन्द्रघण्टाले महादेव स्वामी पाउनको लागि जुन साहस ,आत्मबल बढाएर निर्भय हुँदै लक्ष्य प्राप्त नहुन्जेल परिश्रम गरिरहिन्, त्यही गुणप्राप्तिको साधना नै यो दिनको साधना हो । कर्म गरिरहँदा अनगिन्ति वाधा अड्चन आउन सक्छ, ति सबैलाई पनि हटाउँदै अगाडी बढ्दै जानु पर्छ । एउटा बिउबाट निस्केको सानो बोटले कसरी संघर्ष गर्छ, त्यसरी नै मानवले आफ्नो लक्ष्य प्राप्तिको लागि त्यस्तै संघर्ष गर्नु पर्छ । हावा, हुरी, घाम, असिना सबको बाबजुत पनि त्यो सानो बिरुवा एउटा बोट भएर माटो बाहिर निस्कने गर्दछ र सम्पूर्ण प्रकोपको सामना गर्दछ।

आध्यात्मिक पक्षः साहस, निर्भयता, आत्मबल ।
दैनिक जीवनको प्रतीकः घण्टाको आवाजले नकारात्मकता हटाए जस्तै, उनी जीवनमा भयमुक्त भएर चुनौती सामना गर्ने शक्ति दिन्छिन् ।

चौथो दिन– कुस्माण्डा
अनेकन तपपश्चात माताले शिवलाई पतिको रुपमा प्राप्त गरेको अवस्था हो कुस्माण्डा माताको अवस्था, जहाँ कुन्डलिनी शक्ति र परम आनन्दको समायोजन हुन्छ, जहाँ लक्ष्य प्राप्ति हुँदाको सन्तुष्टि, सकारात्मकता, आफ्नो शक्तिको व्यापकता आदि अवस्थाको सृजना हुन्छ । जसरी एउटा रुखले वातावरणको विविध अवस्थाबाट आफुलाई बचाएर फेरि फेरि आफुलाई नयाँ बनाउन सक्छ, त्यो शक्तिको साधना हो कुस्माण्डा देवीको साधना ।

आध्यात्मिक पक्षः सिर्जनात्मक शक्ति, प्रकाश, सकारात्मकता ।
दैनिक जीवनको प्रतीकः सूर्य जस्तै, अन्धकारमा पनि उज्यालो खोज्ने र जीवनलाई आशावादी दृष्टिले हेर्ने संकेत ।

पाँचौं दिन– स्कन्दमाता
शिवलाई पतिको रुपमा प्राप्त गरेपश्चात जन्मिएको आफ्ना सन्तानप्रतिको मातृवात्सल्य, प्रेम, करुणा र माया देखाउनु भएको अवस्था । जब मानवले लक्ष्य हाँसिल गर्छ, तब उसले प्राप्त गरेको आफुमा मात्र सिमित नराखी त्यसको सदुपयोग गर्दै आवश्यक भएकाहरुको लागि लगानी गर्ने क्षमता । जसरी एउटा रुखले आफुले अनगिन्ति फलफूल उत्पादन गरेर सबैको भोक मेटाउँछ, बटुवालाई छहारी दिन्छ, कसैलाई जडिबुटी उपलब्ध गर्छ, कसैलाई इन्धन, त्यसरी नै एउटा सक्षम व्यक्तिले असक्षम प्राणीको सेवा गर्नको लागि उसमा दया, करुणा र ममता जन्मनु पर्छ, हो त्यसैको लागि यो साधना गरिन्छ ।

आध्यात्मिक पक्षः मातृत्व, माया, करुणा ।
दैनिक जीवनको प्रतीकः परिवार, समाजप्रति निःस्वार्थ सेवा र जिम्मेवारीपूर्वक माया गर्न प्रेरित गर्छिन् ।

छैटौं दिन– कात्यायनी
जब राक्षसहरुले देवताहरुलाई अत्यन्त दुख दिइरहेका थिए, त्यो बेलामा सत्यअसत्यको बोध गरी अन्यायविरुद्ध लड्ने साहस जुटाए । जीवनमा प्रत्येक पल मनभित्र चल्ने महाभारतमा रिस, द्वेष, लोभ, मोह, मद् जस्ता राक्षसहरुले जीवनमा धेरै कठिनाई र दुख दिइरहेका हुन्छन् । त्यसैले सद्गुण र ज्ञानरुपी अस्त्रले ति अवगुणरुपी राक्षसको संहार गर्नु पर्छ । त्यही सत्यको वोध गरी ज्ञान, वुद्धि विवेक जगाउने साधना हो यो । अन्तर चेतनाले सत्य भन्छ तर बाहिरी मनले गलत गर्न प्रोत्साहन गरिरहेको हुन्छ । हामी मन र इन्द्रियको बसमा नपरी आफ्नो चेतनाले आफ्नो कर्म गरेर आफुलाई सत्मार्गमा लगेर सफल हुन सक्छौं ।

आध्यात्मिक पक्षः न्याय, सत्य, शक्तिको प्रतीक ।
दैनिक जीवनको प्रतीकः अन्याय र असत्यविरुद्ध लड्ने हिम्मत, आफ्नो अन्तरआवाजलाई सुन्ने सन्देश ।

सातौं दिन– कालरात्रि
माता कालरात्रिले शुम्भ निशुम्भ तथा रक्तबिजजस्ता राक्षस सबैलाई संहार गर्नु भएको अवस्था । यहाँ शुम्भ भनेको आलस्य र निशुम्भ भनेको अहंकारको प्रतिक अनि रक्तबिज भनेको आनियन्त्रित नकारात्मक विचारहरु हुन्, जसको बसमा पर्यो भने मान्छे बर्बाद हुन्छ । त्यसैले यस्तो प्रवृतिलाई नस्ट गर्ने शक्तिको रुपमा यो साधना गरिएको हो ।

आध्यात्मिक पक्षः अज्ञान नष्ट गर्ने, भय हटाउने ।
दैनिक जीवनको प्रतीकः अन्धकारमय रात जस्तै सबैभन्दा गाढा रातपछि बिहान आउँछ भन्ने विश्वास, कठिनाइले हामीलाई बलियो बनाउँछ ।

आठौं दिन– महागौरी
सम्पूर्ण राक्षसको बध पश्चात त्यो क्रोधको ज्वालाले रातो कालो भएकी माताले आफ्नो रिस शान्त गर्न गंगामा स्नान गरेकी थिइन् । त्यसपछि उनी पुरा सुद्ध सेतो करुणायुक्त भएर निस्किन् । यसले के भन्न खोजेको हो भने परिस्थितिसँग जुध्दै गर्दा नकारात्मक असर हुन सक्छ, फेरि आफुलाई सम्हालेर अगाडी बढ्नको लागि आफुमा सहनशीलता, शुद्धता, क्षमाशीलता, धैर्यताजस्ता गुण हुनु पर्छ, यही गुणको लागि गरिने साधना हो अस्टमीको ।

आध्यात्मिक पक्षः शुद्धता, शान्ति, क्षमा ।
दैनिक जीवनको प्रतीकः सेतो रङ्ग जस्तै सरलता र सत्यता, राग, क्रोध र अहंकारलाई मेटेर मनमा शान्ति ल्याउने प्रेरणा ।

नवौं दिन– सिद्धिदात्री
अन्तिममा माताले आफुलाई पुन ज्ञान साधनाले युक्त गर्नु भएको दिनलाई हामी नवौ दिनको साधनाको रुपमा लिन्छौं । यो भनेको हरेक व्यक्तिले कठिन साधनापश्चात सम्पूर्ण गुणहरु धारण गरी सिद्धता हाँसिल गर्नको लागि गरिने साधना हो ।

आध्यात्मिक पक्षः सिद्धि, ज्ञान, पूर्णता ।
दैनिक जीवनको प्रतीकः आन्तरिक गुरु— जीवनमा स्पष्टता, विवेक र पूर्णताको आशीर्वाद दिने शक्ति ।

सारांश
यी नौ देवीहरू बाह्य शक्ति मात्रै होइनन्, हाम्रो भित्रै रहेका नौ गुणहरूको प्रतीक हुन् । यदि हामीले पवित्रता, अनुशासन, साहस, करुणा, सत्य, धैर्य, क्षमा र ज्ञानसँग जीवन बितायौं भने हरेक दिन नवरात्रि सरह पवित्र हुन्छ। आजको कठिन परिस्थितिमा हरेक व्यक्तिले यो साधना सहि ढंगबाट गर्ने हो भने देशको बिग्रेको अवस्थालाई सुधार गरेर देश विकास गर्न सकिन्छ। यसले हरेक व्यक्ति मात्र नभई देश राष्ट्र र विश्व नै शान्तियुक्त सुन्दर स्वर्ग जस्तो हुन सक्छ । हामी सबैले यो कुरा मनन गरेर यो दशैंलाई साधना बनाएर नकारात्मकता हटाई सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button