हो नि हजुर, यो भाइरल युगको पराकाष्ठा हो

भाइरल

सुशील लामा
पाँचखाल ११, काभ्रेपलान्चोक
हालः लिमासोल, साईप्रस

ऊ हराएको थियो
समयसँगै
आफ्नो गाउँ जाने बाटो बिराएर
सिमाना पारी होइन, सिमाना वारीकै
वनपाखा र भिरपखेरुमा
स्वाभिमानलाई आत्मसमर्पण नगराएर
आफ्नै पौरखको विस्तरामा
हराएको जीवनलाई आराम दिलाइरह्यो
थुप्रै हराएका बर्षहरुको
बेरुजु रहर र खुशीहरुको पोकोहरुलाई
मौजुदा परिवेशको तराजुमा तौलँदै
हेर्ने कथा देखाउने सारथीको साथ
ऊ फक्र्यो
बिर्सिदैँ गएर धमिलो यादमा जिवित
आफ्नै ठाउँमा
अनि उसलाई जानीनजानी विस्तारै
भाइरल ज्वरोजस्तै भाइरल बनाए
किनभने
हजुर यो भाइरल जमाना हो ।

राजनीतिक यात्रामा लाग्नेहरु
थाकेर निन्द्राको अँगालोमा निदाई रहेकाहरु
चाँडै ब्यूँझेर फेरि निदाएकाहरु
झ्यालबाट टाढाका क्षितिज हेर्दै गरेकाहरु
दृश्य फेला नपरेर अदृश्यमा चित्त बुझाउनेहरु
सन्की हावामा एक्लो उडेर गगनमा हराएका
नबोल्ने चरीहरु
उनकै लागे पछि लावालस्कर
एक गाउँबाट अर्को गाउँ
बसाइँ सरेको कमिलाको ताँती जसरी
धेरै बर्षपछि पाएको
बाआमाका स्पर्शको तृष्णा तृप्ती पूरा हुन नपाउँदै
ऊ खबरीको खबर बनिरह्यो
यताउता भौंतारिरह्यो
भौँतारिन बाध्य तुल्याए
भाइरल युगको आँखा भएको पासो बोक्नेहरुले
हो नि हजुर यो भाइरल युग हो ।

श्रमको पुजा गरेर
सिजनहरुसँगै फर्की–फर्की आउने
हिमाली चिसो हावा र मीठा गीतहरू
प्रत्येक पल उसको लागि स्वर्णिम आनन्द
दिनभरको परिश्रम रमाइलो लाग्थ्यो
नदीको स्थायी बहाब जस्तै
शान्त भएर सुत्ने गथ्र्यो दखलाई विदाइ गर्दै
चुनौतीका पहाडहरू उक्लँदै
उसले बोल्ने भाषा
बस्ने भूगोल
उस्तै थियो हामी सबैको जस्तो
सबै कुरा उस्तैउस्तै भए पनि
ऊसँग नागरिकता थिएन
र त ऊ अनागरिक थियो
सत्य समय बलवान
उसले पायो नागरिकता
ऊ नागरिक बन्यो
नागरिक बने लगत्तै भयो भेट
देशकै मुल मुखियासँग
सौहार्दमयी अनुपम वातावरण
काँचको पर्दामा भयो सनसनी खबर
हो नि हजुर,
यो भाइरल युगको पराकाष्ठा हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button