सुन्दर श्रीअन्तुमा भेटिएकी झन् सुन्दरी किचकन्या

श्रीअन्तुकी किचकन्या !

रेशम बहादुर पाण्डे
नुवाकोट

भारतको बंगाल राज्यमा पर्ने प्रसिद्ध पर्यटकीय तथा ग्रीष्म नगरी दार्जलिङबाट हामी नेपालतर्फ प्रस्थान गर्दा घाम अस्ताउने बेला भएको थियो । पश्चिम दिशातर्फ हेर्दा चमक हराउँदै गएको सुर्य रातो ठुलो गोलोको रुपमा अस्त हुँदै थियो । हामीलाई आज बेलुकी इलामको श्रीअन्तु पुगेर राती बिश्राम गरेर भोली सबेरै श्रीअन्तु डाँडामा पुगेर सुर्य उदयको दृश्य हेर्नु पर्ने थियो । त्यही दृश्यावलोकनको लागि हामीले पहिले नै योजना बनाएको थियौं ।

दार्जलिङ शहर गत तीस बर्षको अबधीमा भीडभाड र अस्तब्यस्त भएको र सानो ठाउँ भिरालो बस्ती भएकोले खासै विकास भएको जस्तो लागेन । त्यहाँको विकासभन्दा हाम्रो नेपालको पर्यटकीय स्थल श्रीअन्तुले विगत ४–५ बर्षमा निकै फड्को मारेको अनुभूत भयो । होमस्टे, साना होटेल तथा पचासौं रिसोर्ट र पक्की बाटोले गर्दा श्रीअन्तु आकर्षक पर्यटकीय स्थल बन्न लागेको देखियो । छिमेकी देशहरुले सामान्य महत्वका स्थानहरुलाई पनि बाटोघाटो र अन्य आवश्यकीय वस्तुहरुको ब्यबस्था गरेर शुल्क लिएर प्रसस्त आम्दानी गरेको देखिएको थियो । पर्यापर्यटन विकाशमा त्यस ठाउॅको महत्व बढ्दै जाने कुरामा प्रशस्त संभावनाहरु देखिएकोले सरकारी स्तरबाट पनि सो स्थानको विकासको लागि प्रयास हुनु अति आवश्यक देखिन्छ । भोलि विहानको सुर्य उदय हेर्ने लालशाले सबेरै उठ्नु पर्ने र शारीरिक थकानको कारणले समयमा नै आफ्नो कोठातिर लागियो । झिलीमिली बत्तीहरुले सिंगारिएको र क्याम्पफायर तथा हरेक होटेलहरुको नाचगानले श्रीअन्तु मध्यरातलम्म जाग्राम नै थियो ।

बिहान ठीक ६ः१५ मा सुर्य उदाउन शुरु हुने मोबाइलले संकेत गरेको थियो । काठमाडौंमा त्यो दिन ६ः२२ को सुर्य उदय भनेर दिएको थियो । श्रीअन्तुको डॅाडालाई कुनै पहाडले पनि नछेकेको हॅुदा केही अगाडी नै सुर्य उदय भएको हो कि ? बिहान हामी सुर्य उदयस्थल टावरमा पुग्दा करिब ५–६ सय जति मानिसहरु पुगिसकेर सुर्य उदयको प्रतिक्षामा रहेका थिए । मैले अन्य स्थानहरुबाट देखेको सुर्य उदयभन्दा त्यस ठाउॅबाट देखेको दृष्य नौलो र रोमाञ्चक भएको अनुभूत गरें । सफा र निलो आकासे रंगको आकाशबाट रातो ज्वाजल्यमान गोलो फलामको डल्लो बिस्तारै देखा पर्दै क्रमश निक्लंदै गरेको दृष्य अप्रतिम र रोमाञ्चकारी थियो । करिब १–२ मिनेटको अवधिमा हतार नगरी एउटै रफ्तारमा पुर्ण रातो सुर्य क्षितीजबाट बाहीर निस्क्यो । दर्शकहरुको ताली र उल्लासीत आवाजले वातावरण हल्लामय भयो र करतल ध्वनीका साथ पररर ताली बज्यो । त्यो क्षणको प्रतिक्षामा निमग्न दर्शकहरु मन्त्रमुग्ध भएर त्यो दृष्य क्यामरामा कैद गर्न ब्यस्त रहेका देखिन्थे ।

यात्राको क्रममा मसॅगै बसेको साथीतर्फ फर्केर मैले उसलाई हेरें, अब नेपालतर्फ शुरु हुने यात्रामा हामीलाई पुरै दिन बिताउनु पर्ने हॅुदा उसॅग गफ गर्ने विचारले मैले विगतको यात्रा कस्तो रह्यो भन्ने बिषयबाट वार्ता शुरु गरें । साथी मन्द मुस्कानकासाथ आफैमा मस्त थियो, मेरो सोधाइको पनि उसलाई कुनै प्रभाव नपरेको जस्तो मलाई महशूस भयो । आफ्नै धूनमा एकोहोरो चिन्तन गरिरहेको साथी मेरो प्रश्नको जवाफ दिनुको साटो एक्कासी बोल्यो, मित्र, ‘हिजो राती मैले श्रीअन्तुमा एउटा किच्कन्नी भेटें, भर्खर २०–२२ की देखिने गोरी मुहार भएकी ।’

हामी सवार गाडीका सबैको ध्यान उतर्फ मोडियो । सबैजना उतर्फ जिज्ञासायुक्त हेराइ हेर्न थाले । उ आफ्नो कुरालाई पुष्टी गर्न ठुलै श्वर देखाउॅदै लगभग चिच्यायो, ‘सॅाच्चै हो भन्या, मैले किन ढाट्नु परेको छ र ! मेरो दिमागमा हिजो बेलुकीको घटना बारम्बार आइरहेको छ र मलाई ताजुब लागेको छ ।’

उसको भनाइमा सत्यांस छ कि जस्तो मलाइ पनि भान भयो । किचकन्नीको प्रसंग आउनासाथ मलाई पनि मेरा ठुला बाले म सानो छंदा किच्कन्नीको बिषयमा गरेका तिलश्मी वर्णनको स्मरण भयो । सुन्दर अनुहार हुने किचकन्नीले रातमा भेटिएका बटुवालाई विभिन्न हाउभाउ गरी मोहजालमा फसाइ क्रमशः ज्यान पनि लिन सक्नेछ र किचकन्नीलाई चिनेर उसलाई नै आफ्नो जालमा पार्न सकेमा लाभ पनि लिन सकिने कुराहरु मलाई बताइएको थियो । राती बाटोमा भेटिएकी युवती सही केटी वा किच्कन्नी के हो भन्ने पहिचान गर्न उसको खुट्टाको पैताला सिधा छ वा पैताला (खुट्टा) पछाडी फर्केको छ, त्यसको आधारमा चिन्न सकिन्छ भनेर बताउनु भएको थियो । जवानीमा प्रेममा असफल भएर आत्महत्या गरेका युवती वा जवानी पुरा नहॅुदै विधवा भएका यौनप्यासीहरु पनि किच्कन्नी हुन्छन् र उनीहरुको आत्मा यतै भौंतारिरहेको हुन्छ र रातमा एक्लै मान्छे भेट्दा उनीहरु सुन्दर रुप लिएर मानिसहरुलाई मोहजालमा फसाउॅछन् भनेर सुनाइएका कुराहरु मेरो अन्तरमनमा गढेर बसेको थियो । साथीलाई आपत नै परेर किच्कन्नीको जालमा फसेको हो भने त चिन्ताको बिषय थियो, तर साथी निश्चिन्त थियो । मेरो अनुरोधमा उसले हिजो राती भेटेको किचकन्नीको बिषयमा सुनाउन शुरु गऱ्यो ।

‘हिजो राती १० बजेतिर कोही साथी नाचगान, कोही चिकेन बार्बर्केयू, कोही सोमरस पिउन र कोही सुत्न कोठातर्फ लागे, मचाहिँ पिउने कार्यतर्फ लागें ।पिउने काम समाप्त गरेपछि छिटै सुत्नु पर्छ भनेर म एक बोतल पानी च्यापेर आफ्नो कोठातर्फ लागें । श्रीअन्तुको जाडो अनि सोमरसको रमरमले म पछाडि भागमा रहेको रिसोर्टमा जान आफ्नै धुनमा पाइला बढाउॅदै थिएँ, एक्कासी एउटी युवतीले मलार्ई रोकेर मेरो हातमा रहेको पानीको बोतल जबर्जस्ती लिने प्रयास गर्दै दाई, मलाई एकदमै पानीको प्यास लागेको छ, पानी खान दिनोस्न भनेर मेरो हातबाट बोतल लिएर बिर्को खोलेर पानी खान शुरु गरिन् । मैले जुठो नहाली खाउ बहिनी भनेर भन्दा उनले म अर्को बोतल ल्याइदिन्छु भन्दै लगभग सबै पानी पिइन् । पानी पिइसकेपछि सन्तुष्टीको भावमा मलाई साथीहरुले आज धेरै रक्सी पिलाए, दिउॅसोदेखि चिकेन बार्बर्क्यू रक्सी र आगोमा बसेर म त यति शुष्क भएको छु र प्यास लागेको छ, आगोको राप र नाचगानले मेरो अनुहार नै पटपट फुटिसकेको छ भन्दै मेरो हत्केला उनको अनुहारमा दलिरहिन् । नचिनेको केटीसॅगको अप्रत्याशित भेट र अनुहारसॅगको घर्षणले मलाई हतप्रभ बनायो । तिमी को हौ, साथीहरु कहाँ छन् र तिमी एक्लै किन यहाँ भन्ने प्रश्नमा उनले नजिकै रहेको ट्वाइलेटतर्फ देखाइन् । त्यति नै बेला ट्वाइलेटको ढोका खोलेर एकजना युवा “सोल्टी के भो ? एकछिन है म तिमीलाई होटेलबाट पानी ल्याइदिन्छु” भन्दै रेष्ट्ररातिर लाग्यो । त्यो युवा पनि गएपछि केटी मसॅग जोडिंदै “दाई मलाइ रक्सी एकदम लागेको छ, पेट पनि पोलिराखेको छ, हामी धरानबाट आएको नाट्य समूह हौं, दशजनाको समूहमा आएको मलाई मात्र यस्तो छटपटी भएको छ, भोमिट पनि हॅुदैन, जिउ लुलो भएको छ। सुस्केरा निकाल्दै केटी ॲासु चुहाउन थालिन् । मैले उनको ॲासु त पुछे मलाई त्यो केटी किच्कन्ने पो हो कि जस्तो पनि लाग्यो । ॲाखा जुधाएर रुँदै कुरा गरेको र साथी पनि भएको युवती किचकन्ने हुन सक्दैन भन्ने आत्मविश्वास पनि ममा पलायो ।’

‘म असमञ्जसमा परें, केटी हिँडेर सही हालतमा कतै जान सक्ने स्थितीमा पनि थिइन् । ती युवतीलाई रेष्ट्रामा छोड्ने विचार गरेर म फर्कन लागेको समयमा केही समयअघि पानी लिन गएको केटो आएपछि म ढुक्क भएँ । उ पनि रक्सीको मातले ठीक स्थितीमा त थिएन, तर उ केटीको अभिभावक थियो । उसले मलाई एक बोतल पानी दियो र म आफ्नो कोठातर्फ लागें । उनीहरु म बसेको रिसोर्टको भन्दा केही माथीको भागमा बसेका रहेछन् । केटाले केटीलाई डोऱ्याउॅदै र बोक्दै सिढीं उक्लंदै गएका दृष्यहरु म हेरेर बसिरहें । निकै मेहनत गरेर लड्दै सम्हालिंदै उनीहरु आफ्ना कोठामा पुगे र ठुलो आवाज आउने गरी ढोका लगाए ।’

उसले भावभूत भएर केही कुरा थप्दै भन्यो, ‘आजका युवायुवतीलाई खराब, विकृत संस्कार र बानी ब्यहोराले विकराल स्थितीमा पुऱ्याएको प्रत्यक्ष देख्दा प्रेतजन्य किच्कन्नी भन्दा यो स्थिती भयावह हो जस्तो मलाई लाग्यो ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button