
एचआइभी र एड्स दुइटा भिन्न कुरा

तीर्थबहादुर ‘श्रमिक’
आज डिसेम्वर १, २०२२ विश्व एचआईभी एड्स विवस । यस वर्षको अन्तर्राष्ट्रिय नारा “इक्वलाइज” अर्थात “समानताको स्थापना” भन्ने रहेको छ ।
एड्सको महामारीलाई अन्त गर्न बाधा दिने अथवा यस विरुद्धको लडाईलाई सुस्त बनाउने जस्ता असमानताहरूको अन्त हुन जरुरी छ । हामी त्यस्ता असमानताहरूको सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा जाग्न आवश्यक छ । विशेषत लैङ्गिक असमानता जस्ता असमानताहरूले एचआईभी हेरचाह र अन्य प्रकारका यौन तथा प्रजनन स्वास्थ्य हेरचाहमा महिलाको पहुँचलाई सीमित पार्छ, जसले गर्दा उनीहरूको निर्णय लिने क्षमता र अनावश्यक यौन प्रस्तावलाई अस्वीकार गर्ने, जवरजस्तीकरणको प्रतिकार गर्ने वा सुरक्षाका उपायहरु अवलम्बन गर्ने र वार्ता गर्ने क्षमतालाई असर गर्न सक्छ ।
विज्ञका अनुसार एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन् । एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पु-याउँदछ । एचआइभीलाई एउटा रोग भन्दा पनि सङ्क्रमितका रूपमा हेरिन्छ । हरेक एचआइभी सङ्क्रमितहरू एड्स लागेका हुँदैनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेका छन् । यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्नु गर्दछ र यस बारे ब्यापक रुपमा जनचेतना फैलाउन आवश्यक छ ।
एड्स कसरी सर्छ ?
यसका विज्ञहरुका अनुसार एचआइभी सङ्क्रमितसँगै बस्दा, अंकमाल गर्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्दैन । सङ्क्रमितको रगत ग्रहण गरिएमा, सङ्क्रमितले प्रयोग गरेको सुईजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमितसँग यौन सम्पर्क गरेमा अवथा सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको सङ्क्रमण हुने सम्भावना रहन्छ ।
थ्री जिरो अथवा तीन सून्य
एचआइभीका कुरा गर्दा संसार भरिनै तीनवटा शून्य अर्थात् थ्री जिरोको अवधारणा अत्यन्त चर्चित छ । प्रथम शून्यले एचआइभी सङ्क्रमितको मृत्युदर शून्यमा पु-याउने। दोस्रो शून्यले नयाँ एचआइभी सङ्क्रमण दर शून्यमा पु¥याउने र तेस्रोले एचआइभी सङ्क्रमित प्रतिको भेदभाव दर शून्यमा पु¥यायाउने कुरामा प्रतिबद्धता जनाउँदछ ।
चर्चा नेपालको
ईतिहासमा हेर्ने हो भने नेपालमा एचआइभीको प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको हो । यौनजन्य क्रियाकलापका लागि अत्यन्त संकुचित हाम्रो समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने सङ्क्रमण भएकाले नेपालमा एचआइभी सङ्क्रमितहरू धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआइभी सङ्क्रमितहरूले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरू अझै पनि समाजमा सुन्न सकिन्छ ।
नेपाल र भारतको खुल्ला सीमानाका अनि मौसमी कामका लागि भारत तथा वैदेशिक रोजगारीका लागि जाने नेपाली युवाहरूको लस्कर लामै हुने भएकाले ती युवाहहरुलाई यौनजन्य सङ्क्रमण लगायत एचआइभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनीहरू यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे र फर्कँदा रगतमा एचआइभी सङ्क्रमण लिएर फर्कने र आफ्ना श्रीमतीमा सङ्क्रमण गराउने गर्थे । त्यसपश्चात् श्रीमती त यसका शिकार भई नै हाले उनीहरुबाट जन्मेका धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू आज पनि हामीमाझ समाजभित्रै छन् । उनीहरूमध्ये अधिकांश अनाथ छन् र तिनीहरूको उचित शिक्षा अनि सहज जीवनयापन अझै पनि सुनिश्चित गर्न सकिएको छैन ।
नेपाल सरकारले सन् २०३० सम्ममा एड्सलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ । त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ। सरकारले दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म एचआईभी संक्रमितको लागि ९५–९५–९५ को लक्ष्य सहित कार्यक्रम अगाडि बढाएको हो ।
९५ प्रतिशत एचआईभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्युन बनाउने लक्ष्य सरकारको छ । यो लक्ष्यलाई पूरा गर्न सबै क्षेत्रबाट योगदान हुन आवश्यक छ । यसर्थ यो र यस्ता दिवसमा मात्र नभएर ३६५ दिन नै यस्ता अभियान चलाउन आवश्यक छ ।
आजको दिन एचआइभी सङ्क्रमणले गर्दा मृत्यू भएका ती सम्पूर्ण सङ्क्रमितहरूको आत्माको चीर शान्तिका लागि दीप प्रज्वलन गर्ने चलन पनि छ ।
यस परिप्रेक्ष्यमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी गरी प्रभावकारी र सकारात्मक कदमप्रतिको ऐक्यबद्धता जरुरी छ । यस बारे व्यापक जनचेतना फैलाएर सङ्क्रमितहरुको आत्मबल बढाउदै माथिको थ्री जिरो अथवा ३ सून्यको मर्मलाई सार्थक बनाउने र नेपाल सरकारले सन् २०३० सम्ममा एड्सलाई नियन्त्रण गर्न लिएको लक्ष्य पूरा गर्न हामी सबै प्रतिबद्ध बनौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



