जब जाडो महिना सुरु हुन्छ, आमाले चुरोट खाएको सम्झन्छु

आमाको चुरोट

अनामिका बस्नेत

जाडो महिना सुन्दा जति सहज र रमाईलो लाग्छ नि, त्यति नै भोग्नेलाई कठिन । सबैलाई उही मौसम उही समय मन पर्छ भन्ने पनि छैन । मलाई पनि नत गर्मी महिना मन पर्छ न त जाडो महिना नै । तर के गर्नु समय अनुसार मौसम पनि परिवर्तन भई रहन्छ । त्यस्तै जाडो महिनाको मौसम थियो । सबै कामसाम भ्याएर आमाछोरी आगो बालेर अगेनाको छेउमा आगो तापेर गन्थन गर्दै बसिरहेको थियौं ।

एक्कासी ढोकाभित्र बुबाको जुत्ताको आवाज सुनियो । हामी झसङ्ग भयौं । आमाले सधैं खाना खाएर भ्याएपछि एक चोटी चुरोट खाने बानी थियो तर आमाले खाना चै खानु भएको थिएन । बुवा नआउन्जेलसम्म एउटा चुरोट खानु पर्यो भनेर खान थाल्नुभयो । यो कुरा बुबालाई थाहा थियो वा थिएन तर आमाले भने लुकी लुकी बुबाको आँखा छलेर खानु हुन्थ्यो, किनकि बुबाले चुरोट नखाने भएर पनि होला । त्यो दिन बुबा अत्तो न पत्तोसँग घरभित्र छिर्नुभयो । आमाले हत्तपत्त आफ्नो हातको चुरोट बुबाले देख्नुहुन्छ भनेर चुरोट भुईमा लुकाएर निभाउनु खोज्नु भयो । तर भुईमा त मेरो खुट्टा थियो । आमाको धोती लगाउने बानी थियो । धोतीको फेरो पारी चुरोट लुकाएर निभाए सम्झनु भएछ । तर चुरोट त मेरो खुट्टामा पो निभाउनु भएछ ।

बुबाले सोध्नु भयो, ‘के गर्दै बसेका छौ ?’

आमाले झट्ट जवाफ दिनु भयो, ‘हैन उसै बसिरहेका छौं !’

यसो आमाछोरी गफगाफ गरेर बसेका भन्दै आमाले मुख छोपीछोपी हाँस्दै मेरो मुखमा हेर्नु भयो ।

म भने चुरोटले पोलेर आत्था भन्न पनि नसकी घोप्टो परेर बसेको थिएँ ।

बुबा त्यहाँबाट जाने बित्तिकै आत्तिएर कराएँ, ‘बुढीमाउ ! के गरेको मेरो खुट्टामा पो चुरोट निभाएर ?’

मेरो खुट्टामा हेरेको त, यत्रो पोलेको फोको पो उठेछ ।

लौन, मैले यता निभाएँ भनेको त, तेरो खुट्टामा पो परेछ भन्दै बुबालाई नभन भन्दै तेल र बेसार लगाई दिनु भयो हतार हतारमा । त्यसपछि म रन्थना पर्दै बुढीमाउलाई कति खानु परेको चुरोट पनि भन्दै त्यहाँबाट उठेँ ।

जाडो मौसममा भएर होला, आगो ताप्ने बानी परिसकेको थियो । त्यहाँबाट उठेर ओछ्यानसम्म पुग्नु भनेको कहाँ हो कहाँ ? यत्तिकैमा बुबा आउनु भयो खाना खायौ त सीता तिमीले भन्दै ।

छैन, बच्चाहरुले मात्र खाए भन्दै आमाले बुबालाई चरेसको थाल झिकेर खाना तताउँदै आज किन ढिला आउनु भएको नि भन्दै गन्थन गर्दै बुढाबुढी खाना खान थाले । म चैं त्यहाँबाट चुप लागेर आफ्नो ओछ्यानमा आएर सुतेँ । भोलिपल्ट त झन् घाउ त फुटेछ । त्यसपछि आमाले पानी चैं नहाल है २–४ दिन भन्दै सुठोको धुलोको लेप लगाइदिनुभयो । तर आजसम्म त्यो चुरोटको दाग मेरो खुट्टामा यथावत नै छ ।

जबजब जाडो महिना सुरु भएर आगो अथवा हिटर ताप्छु आमासँगको त्यो रात सधै सम्झिरहन्छु । आज म घाउको बहानामा भए पनि आमासँगको त्यो अन्जानको पल र आमालाई सम्झिरहन सक्छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button