मर्त्यमण्डलको नेपाल देशको पाशुपत क्षेत्रबाट पत्र

परमपूज्य ईश्वर !
ब्रह्माण्ड ।
साष्टाङ्ग दण्डवत् ।

धर्तीको नेपाल मण्डलमा रहेर तपाईंलाई यो पत्र लेख्तै गर्दा आरामै छु । आशा छ, तपाईंका नवीन लीलाहरू देख्नका निमित्तै भए पनि तपाईंका कृपाले सुरक्षित र कुशलै रहनेछु ।

हे ईश्वर! तपाईंलाई सम्झिइरहनुपर्ने त खासै कारण थिएन र छैन पनि । तर पनि जसरी रोगीहरू रोग लागेपछि भगवानका भक्त हुन्छन् । जसरी वृद्धावस्थाले गाँजेपछि मानिसहरू पतिव्रता/पत्नीव्रता हुन्छन् । जसरी व्यवहारदेखि हार खाएर मान्छेहरू वैराग्यका कुरा गर्छन् । ठीक, त्यसैगरी मैले पनि तपाईंकै वचन सुनेर त्यो वचनानुसारको कार्य नभएको देखेर, संसारदेखि- संसारको चालामालादेखि विक्षिप्त भएर सम्झने कोसिस मात्रै गरेको हुँ । नत्र भने त मलाई पनि कहाँ फुर्सत् थियो र? सबै कामकुरा छाडेर ईश्वरलाई सम्झन । सारा कामहरूलाई लठिभद्र छाडेर तपाईंलाई सम्झिनुपर्ने खास कारण भएरै सम्झेको हुँ । एकदिनको कुरा हो- म तपाईंकै वचन अर्थात् भगवद्गीता पल्टाएर हेर्दै थिएँ । जीवन र जगतदेखि वैरागिएर, वाक्क्कदिक्क भएर हेर्दै गर्दा आशालाग्दो एउटा तपाईंको वचन भेट्टाएँ । उक्त वचन यहीँ साभार गर्ने अनुमति चाहन्छु-

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगेयुगे ।।

हो, तपाईंका यहि एक वचनले मेरो हृदय नै भेदन गर्‍यो । जीवनमा आशाका किरणहरू देखा परिन् । दिवाकरकी लालिमाहरू उर्लिएर, उफ्रिएर, बल्किएर, छमछमी नाचिरहेको देखेँ । सागरलाई सम्झिएँ, जहाँ तपाईंले आफ्नो प्राणप्रिय द्वारिकालाई जलप्लवनमा छाडेर जानुभएको थियो, हो त्यो द्वारिका पनि एक पटक धर्तीमा फुत्तै आउला जस्तै लाग्यो । शब्दगुणकम् आकाशम् भनेझैँ तपाईंले बजाउनुभएका बाँसुरीका धूनहरू मेरा कर्णमा अझै पनि गुञ्जायमान भैरहेका झैँ लागेर आयो । चाँदनीका ती रश्मीहरू अमृत बोकेर धर्तीका पत्रपत्रमा, पातपातमा छर्नै लागिरहेछन् भन्ने लाग्यो । नदीहरू तपाईंले वध गर्नुहुने दुष्टहरूका रक्तमिश्रित नीर बोकेर महासिन्धुतर्फ उर्लनैका लागि तम्तयार भएर लागिरहेका जस्तै लाग्यो । प्रकृतिले विशाल खडेरी दुष्टहरूकै रगत सोस्नका लागि बनाएकी झै लागेर आयो । यो विशाल ब्रह्माण्ड नै तपाईंको आगमनको स्वागत गर्न तम्तयार भएर बसेकोझैँ लागेर आयो, जस्तो तपाईं जन्मँदा मथुरा र गोकुलमा प्रकृतिले उन्मत्त भएर तपाईंको स्वागत गरेकी थिइन् । तपाईंले सृजना गर्नुभएको यो त्रिगुणात्मिका प्रकृति साँच्चै नै विचित्रको रहेछ। यहीँ त दानाभित्र रूख र रूखमा दाना रहेको पाइन्छ । पूर्णमद: पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते यहीँ नै प्रतिफलित भएको पाइन्छ। के छैन यो प्रकृतिमा ? के छैन यहाँ ? सबैकुराले भरिपूर्ण छिन् प्रकृति । यसै बखतमा हालै मात्र विश्व पृथ्वी दिवस भव्यताका साथ यो धरावासीले मनाएको जानकारी पनि म तपाईंकै चरणमा टक्र्याउन चाहन्छु ।

तर, यो सँगसँगै मलाई चाहिँ नेपालकै ज्यादा चिन्ता लागेर आउने गरेको छ । तपाईंले श्वास फेर्दा निस्केको ध्वनितरङ्गबाट उत्पन्न भएका वेदहरू यो धरामा जहाँ उत्पन्न भए, त्यही धराको यो हाल देख्नुभयो भने तपाईंलाई पनि अवश्यै धराको यो दुर्गतिले भत्भती पोल्नेछ । यहाँ तपाईंका नाममा मन्दिर खोलिएका छन् । केही मन्दिरहरूले समाजसेवाका साथसाथमा समाजको आध्यात्मिक उन्नतिका लागि पनि बरोबर प्रयास गरेकै छन् तर मन्दिरको नाममा गरीब निमुखाहरूलाई जबर्जस्ती शोषण गर्ने, दुराचारमा लिप्त रहने कार्यले मन्दिरलाई कुमन्दिर बनाएको कुरा पनि तपाईंले सहजै देख्न पाउनुहुनेछ । गीर्जाघर र मस्जिद आदिका त कुरै छाडौँ । सन्त -महात्मा भनेर कहलिएकाहरू पनि यो धरामा कलङ्कको अवतारमा अवतरित भएको कुरा यो धराबाट प्रेषित हुने समाचारहरूमा तपाईंले पनि देख्नु-सुन्नु भएकै होला भन्ने मैले आशा राखेको छु ।

भवदीय
मर्त्यमण्डलको नेपाल देशको पाशुपत क्षेत्रबाट
महेशपराग न्यौपाने ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button