हामी कति पटक मर्नुपर्ने हो ?

श्रम

नारायण घिमिरे
प्रलेस अध्यक्ष, महोत्तरी

आफ्नो मुलुकको
ब्यवस्थाको टालोले
जीवनको लाज नछोपेपछि
पद्धतिको पोकोले
चाहनाको भोक नमेटेपछि
शासकको अर्ती मानेर
खोरमा भाले र
पाखामा चरा नबास्दै
बिस्तारामा निदाएका सपनालाई
प्रेयसीको जिम्मा छाडेर
मन जतिकै आकासिएको विमान चढेर
श्रम बेच्न परदेसिएका नौ जवानहरु
सपनाको सहरमा
उमङ्गको बाली नपकाउँदै
बाकस भरिएर फर्कन्छन्,
र सट्टामा
मेरो देशको सरकार
स-गर्व घोषणा गर्दछ
रेमिटेन्सले देश चलेको कुरा ।

सनाखतको पानामा
ल्याप्चेको मसीसँगै
दबिएको आक्रोश
बन्द ओठले
लुकाएको जिब्रोलाई
ओकल्न नदिएका शब्दहरु
एका एक चिच्याउँंछन अनुहारबाट
र मेरो देशको सरकारलाई
प्रश्न गरिरहन्छन्,
सरकार मृत्यु छोप्ने देशमा
जीवन टुसाउने अवसर कहिले जुर्छ?

चिताको ज्वालाले
गर्मराएको अर्थब्यबस्थामा
बिलासिताको बिलौना गाँउदै
सुबिधाको सगरमाथा उठाउनेहरुलाई
बिमानस्थलको आँगनबाट
मृत्यु नबुझेको अबोध छोराहरुले
जीवन नबुझेकी अबोध छोरीहरुले
गुमाएको अभिभावकलाई निहाल्दै
देश भन्नुको अर्थ सोधिरहेका छन्,
नागरिक हुनुको अर्थ सोधिरहेका छन् ।

जीवित बोकेर हिडेका बिमानहरुले
मृतक बोकेर फर्कदा
छाएको सन्नटालाई
एकतमास निहाल्दै
अर्ध मुर्छित जीवनसाथी
युग बदल्ने आन्दोलनबाट उम्रिएको
नागरिकमुखी ब्यवस्थालाई
चेतनाको चिराग बालेर
सोधिरहेकी छिन्
सरकार !
श्रमजीवीहरुले आफ्नै देशमा
उचित मूल्यमा
आफ्नो श्रम बेच्न कुन बिद्रोह गर्नुपर्छ?
कुन आन्दोलन गर्नुपर्छ?
आफ्नै देशमा जन्मेर
आफ्नै देशमा मर्नको लागि
कुन ब्यबस्था ल्याउनुपर्ने हो?
हामी
कति पटक मर्नुपर्ने हो?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button