
निर्वाचन नजिकिँदै गर्दा म चाहिँ नेट अफ गरेर मज्जाले लेखिरहेछु
साथी र चुनाव
नवराज न्याैपाने ‘माैन’
“एसएलसी परीक्षामा नेपालीमा कति नम्बर आएकाे थियाे?”
“सतसाठ्ठी ।”
“अनि, अङ्ग्रेजीमा नि?”
“बहत्तर ।”
“त्यसाे भए भाषाका विषय पढ्नु पर्ने त !”
“मलाई इन्जिनियरिङ पढ्न मन लाग्याे ।”
“स्काेर कति थियाे ?”
“दुईसय दस ।”
“अचेल के गर्दै हुनुहुन्छ नि ?”
“पत्रपत्रिका र पुस्तककाे सम्पादन गर्छु । अनि साहित्य पनि लेख्छु ।”
“घरकाे डिजाइन गर्ने, नक्शा बनाउने र सुपरभिजन गर्ने नगरेर किन यस्ताे काम गर्नुभा त ?”
“सत्ताईस वर्ष त गरियाे नि ! अब कति गर्नु र हजुर ?”
“लेखेर र सम्पादन गरेर के पाइन्छ ?”
“अलिअलि नाम कमाइन्छ ।”
“नाम कमाउने काम हाेइन, दाम कमाउने काम पाे गर्नुपर्छ नि लाटा !”
“स्वान्त सुखाय लेखिरहेछु, जीवन र जगत देखिरहेछु ।”
“भाे भाे, डाइलग मार्नु पर्दैन । प्राविधिक काम गर्ने भए म मिलाइदिन्छु तर दिनहुँ अाठ घन्टा फिल्डमा खटिनु पर्छ नि !”
“भाे अब ल्यापटपमा गर्ने काम मात्र गर्छु ।”
“किताब निकालेर बेचे पाे दाम आउँछ, फुटकर रचनाले त न नाम न दाम ।”
“साेच्दैछु हजुर ।”
“ल, म लाग्छु, कुनै दिन क्याफेमा कफी खाएर गफिनु पर्छ है ।”
बिदा भएर ऊ बाटाे लाग्याे । अहिले अमेरिका पाे पुगेछ । म चाहिँ नेपालभित्र घुमिरहेछु ।
उता चुनावमा उठेका उम्मेदवारहरु शहरमा बसेका र विदेशमा रहेका आफ्ना समर्थकहरुलाई भाेट हाल्न गाउँमा आउनु है भनेर फाेन गरिरहेछन् । म चाहिँ नेट अफ गरेर मज्जाले लेखिरहेछु । शुभ रात्री !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



