
थेगो: जयमङ्गल सरको ‘हगि’
पेशल आचार्य
यो चाहिँ सम्वत् २०३५ सालको घटना हुनुपर्छ । तिथिमिति सम्झन गाह्रो हुने रहेछन् पुराना घटनाहरूमा । सम्झे केही छैन, बिर्से पनि केही छैनन् । मात्र अथेन्टिक लेखन हुन्छन् कि भन्ने यसो आस ।
मैले यो मेसोमा सम्झन खोजेको घटना र पात्र आज अलि बेग्लै छन् । २०३५ साल जेठ तिरको समय हो सायद् । हामी त्यस्तै सात कक्षामा पढ्थ्यौं होला । भूगोल पढाउने सर स्कुलमा भएनन् । कक्षा खाली जाने भएपछि हेडसरलाई टेन्सन हुन्छ । त्यही भएर होला पोखरेल थरका हेडसरले एकजना आवरणमा काला न काला धुमरधुस परेका सर लिएर आए । हामी सबै हेड सर विश्वराज पोखरेलको डरले सटक दम् भयौं ।
उनले परिचय गराए ‘वहाँको नाम जयमङ्गल चौधरी । अब तिमर्को भूगोल वहाँले पढाउनु हुन्छ । ल राम्रो पढ्नु है त ।’
‘भूगोल भनेको के रे ?’, जाँदाजाँदै हेडसरले यति मात्रै भन्न भ्याए । हामी केटाकेटीहरूले ठूलो स्वरले ‘पृथ्वी गोलो सर’ भन्यौं ।
उनले ढोकाको ठेलाबाट ‘थेङ्क्यु क्लास’ भने र त्यो दिनलाई अल्पिए ।
पहिलो क्लासमा उनले के पढाए ? हामीले के पढ्यौं केही थाहा भएन । थाहा हुने कुरो पनि भएन । हाम्रो भूगोलको क्लास धेरै दिनदेखि भएकै थिएन । सानो केटाकेटीमा कुन सर पढेको, कुन सर नपढेको, कुन सरले के पढाउने, कुन सरले के नपढाउने केही थाहा हुँदैनथ्यो । मास्टर भनेपछि सबै जान्ने हुन्छन् भनेजस्तो लाग्थ्यो । अहिले आएर बुझियो ।
हरेक विषयका मास्टर हुँदा रहेछन् । हरेकले निमावि, मावि र प्लस टुमा एकएकओटा विषयहरू मात्रै पढाउँदा रहेछन् । प्रावि तहमा मात्र एउटै मास्टरले ४-५ विषय पढाउने गर्छन् तर कस्तो गाह्रो हुन्छ त्यो तिनीहरूलाई मात्र थाहा हुन्छ, विचरा !
भोलि पल्टदेखि उनी छैँठौं घन्टीमा भूगोल पढाउन आए । हामी पढ्न थाल्यौं । एक–दुई–तिन हुँदै दिन बित्दै जान थाले तर हामीले जयमङ्गल चौधरी सरले भूगोल पढाएको भुत्लोभाङ् बुझेनौं ।
अनि हामी सबै विश्वराज पोखरेल हेडसर छेउ गएर फेरि कराउन थाल्यौं । सर न हो बाठो चालले हामी भुराहरूलाई फस्याङ्फुस्लुङ् गरी चिप्लो पाराले सम्झाएर पठाउनु भो । हामी फर्केर आयौं ।
जयमङ्गल सर पढाउन छाड्दैनन् । हामी बुझ्न सक्दैनौं । भरे के रहेछ भनेर हामी आफैँले निचाल गरेर सुनेको त सरले पढाउँदै जाँदा बिच बिचमा ‘हगि’ भन्ने थेगो रहेछ । हामी केटाकेटी न प-यौं । स्त्री लिङ्गी क्रियापद ‘हगी’ हो भन्ने भानबाट उत्तेजित भएर हाम्रो दिमागले ‘ब्याड कन्सेप्सन’ लिएको रहेछ । अनि हामी कक्षाका सबै विद्यार्थीहरू सरले पढाएको भन्दा पनि त्यो कक्षामा सरले कति पल्टसम्म हगि भन्दा रहेछन् भनेर गन्न पो थाल्यौं ।

सरले पढाएको पाठलाई टिपेजस्तो गरेर कापीको पुछारमा हामी ‘हगि’ टिप्दै जान्थ्यौं । जब सर जान्थे अनि हामी कस्ले टिपेको हगिचाहिँ बढी भयो भनेर गन्न थाल्थ्यौं ।
कहिले ५०, कहिले ६५ त कहिले ७० सम्म हगि भनेको रेजा गन्न थालियो ।
अनि त जसले बढी हगि टिप्न सक्ने भो उसैले कक्षामा अमलाका दाना र कापीका पाना उठाएर हगिको क्यास गर्न थाल्यो । उनी त्यस्तै ९–१० महिना हामीलाई पढाएर फेरि फुत्त जागिर छोडेर बेपत्ता भएथे ।
स्कुल भनेको समुद्र हो । आज–भोलि–पर्सी गर्दै हामीले मङ्ल सरलाई बिस्र्यौं । लामो कालो केसमा चपचिल्लै तेल लगाएर काइँयोले कोरेर इस्त्री लगाएका लुगामा आउने टिपटपजस्तो लाग्ने जयमङ्गल सरको अभाव चेतन मनमा त खट्किएन तर अद्र्धचेतन मनमा भने सधैँ खट्किरह्यो ।
…
लगभग १७ वर्षपछि अर्थात् २०५२ सालको बर्खे छुट्टीमा सुनसरी घर जाने सिलसिलामा प्लेन चढेर जनकपुर पुगियो । खोलानालाहरू दुङ्दुङ् कुहिरो उड्ने गरी बाढी आएका थिए । हामी मन्थलीबाट सपरिवार जनकपुर गयौं । त्यहाँबाट बिराटनगर, काँकडभिट्टा या धरानका बस चढेर कोसी ब्यारेजभन्दा ६५ किलोमिटर पूर्व इनरुवामा उत्रिनु पथ्र्याे घर पुग्नका लागि ।
जनकपुरमा के गर्दा कसो गर्दा ढिलो भयो । अब गाडी नपाइने डरले परिवारको मुलीका नाताले म भित्रभित्रै काँप्न थाले । पछि चिया खाने सिलसिलामा एकजना लगभग उमेर ढल्कन लागेको मानिससँग अनायासै परिचय भयो । दोहोरो परिचयपछि खुल्न थाले उनी । मैले आफ्नो भनेँ । उनले आफ्नो सुनाए । भरे त ती उही हामी अदना केटाकेटीलाई भूगोल पढाउन नजानेर फुत्त हिँडेका ‘जयमङ्गल चौधरी’ सर पो रहेछन् ।
भनिन्छ ‘मास्टरी जागिर खाइरहे मास्टर मात्र हुइन्छ तर बेलैमा छाडे माथि पुगिन्छ ।’ उनी पनि केही वर्ष दुःख गरेर विनिमा नाम निकालेछन् । अनि रौतहटको सहायक जिल्ला शिक्षा अधिकारी भएर त्यतिखेर काम विशेषले जनकपुर आएका रहेछन् । उनले विगत सम्झे । परदेशी भएको म त्यो बेलामा विगत विर्सन चाहन्थे किनकि म आफैँ मास्टर भएर हजारौं विद्यार्थी पढाउने भैसक्या थिएँ ।
अहिले कसैले केही थेगो निकालेर बोल्यो भने म उही मेरा ७ कक्षाका जयमङ्गल सरलाई सम्झन्छु । अनि कक्षामा ‘हगि चिन्ह’ बढी भएको रेजा देखाएर साना विद्यार्थीसँग अमलाका दाना उठाएको सम्झिन्छु र कसोकसो रोमाञ्च अनुभव गर्छु ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



