
एउटै कुरा बारम्बार कोट्याउने बानी मलाई मन पर्दैन
मलाई मन पर्दैन
गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
भनिन्छ, जिन्दगी क्षणभङ्गुर छ । यसमा जतिसक्दो रमाउन सिक्नुपर्छ । यही कुरालाई आत्मसात् गरेर कतिपय मानिसहरू भोलिको लागि नसोची जे जति छ आजै सक्ने स्वभावका हुन्छन् । मलाई यस्तो चरित्र पटक्कै मन पर्दैन ।
कतिपय मानिसहरू आफू केही नगरिकन दिनभर घरमा बसेर मोबाइल खेलाउने, टि. भी हेर्ने, मोबाइलमा घण्टौँ गफिने अनि घर घर चहार्दै हिँड्ने गर्छन् । जागिरे अथवा कुनै पेसामा लागेको मान्छेको कुरा काट्दै भन्छन्, ‘फलानी त घरको केही गर्न भ्याउँदिन । यसो साथीभाइ घुम्न निस्किएको ठाउँमा पनि पटक्कै जान्न, ठूली पल्टन्छे ।’ मलाई यस्तो बानी झन् मन पर्दैन ।
कोही मानिस आफूले मात्रै राम्रो काम गर्छु भन्ने सोच्छन् । अर्काले तपाईं भनोस् वा नभनोस् आफैँ मपाईँ भन्ने बानी मलाई पच्दैपच्दैन ।
मलाई काम गर्ने मान्छेलाई झनै काममा दलाउने प्रवृत्ति पनि मन पर्दैन ।
अरुले गरेको कामको जस आफूले लिने बानी पनि मलाई मन पर्दैन ।
अरुको कमजोरीमाथि फाइदा उठाउने आचरण पनि मलाई मन पर्दैन ।
माया गरे जसरी अरुको दु: खमा झन् नुनचुक थपिदिने बानी मलाई मन पर्दैन ।
अरुको एकताको साङ्लो चुँडालेर आफू रमाउने स्वभाव मलाई मन पर्दैन ।
अरुको कुरा लगाएर आफू राम्रो बन्न खोज्ने बानी मलाई मन पर्दैन ।
आफूलाई पर्दा सहयोग लिने अरुलाई पर्दा बिर्सने बानी मलाई मन पर्दैन ।
एउटै कुरा बारम्बार कोट्याउने बानी मलाई मन पर्दैन ।
आफ्नो फाइदाको लागि अरुलाई प्रयोग गर्ने बानी मलाई मन पर्दैन ।
अरुले घोडा चड्यो भनेर आफू धुरी चढ्ने प्रवृत्ति मलाई मन पर्दैन ।
आडम्बरी, रुखो र होच्याउने बानी मलाई मन पर्दैन ।
पैसा भनेपछि इज्जत बिर्सने बानी मलाई मन पर्दैन ।
काम साँच्न पनि मलाई मन पर्दैन ।
कुनै काम आउँदैन भनेर पन्छिने बानी मलाई मन पर्दैन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



