
अर्ध-चन्द्राकार नुवाकोटको नौ कुरा
बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित नुवाकोटलाई गोपालवंशदेखि नै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट क्रमशः परिमार्जन हुँदै हालको नुवाकोट नामाकरण भएको हो ।
जिल्ला विशेष श्रृंखला-१
नुवाकोट जिल्लाको सदरमुकाम विदुर हो । कुल १,१२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट र नुवाकोट ७ तले दरवारजस्ता ऐतिहासिक महत्त्वका ठाउँहरू समावेश छन् । प्रसिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका र नेपाल-भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्वार पनि रहेको थियो ।
बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित नुवाकोटलाई गोपालवंशदेखि नै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट क्रमशः परिमार्जन हुँदै हालको नुवाकोट नामाकरण भएको हो ।
पूर्वमा काठमाडौं र सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा रसुवा र दक्षिणमा काठमाडौं र धादिङ सिमाना रहेको नुवाकोट समुन्द्र सतहबाट ४५७ देखि ५१४४ मिटरसम्म फैलिएको छ । अर्ध चन्द्राकारको यो जिल्लाको भुगोल उच्च हिमाली २.२, उच्च पहाडी १४.५ प्रतिशत र मध्यपहाडी तथा बेसीटार ८३.३ प्रतिशत छ ।
राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे, चौबीसे भनिने ससाना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्यकाको पश्चिमतर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो, जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।
नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । परिणामस्वरूप वि.सं. १८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्यो । यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि. सं. १८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, अमरसिंह जस्ता वीर योद्घाहरूले यस अभियानलाई अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अङ्ग्रेज शासकहरू यसबाट सशङ्कित बने जसबाट वि. सं. १८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पुर्वमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू(भागहरू गुमाउनु पर्यो ।

यी विभिन्न कारणहरूले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो । यद्यपि इ. सं. १८५७ मा भारतका सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अङ्ग्रेजलाई महत्वपूर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो । तसर्थ नेपालको वर्तमान स्वरूप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरूको महत्वपूर्ण भूमिका रहेको स्वत स्पष्ट छ । यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन । राजा पृथ्वीनारायण शाहको वि. सं. १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोटमै व्यतित भएको थियो ।
गोरखालाई नुवाकोटसँग सम्पर्क बढाउने महत्वपूर्ण मार्गका रूपमा हात्तिगौंडा, राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ । जुन मार्ग भएर गोरखाली सेनाहरू महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । हाल यस स्थानलाई खिबोजको नामले चिनिन्छ । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरीद जस्ता व्यापक तयारीले लडाईंलाई सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए ।
पृथ्वीनारायण शाहले ललितपुरका कालिगढ झिकाई वि. सं. १८१९ मा भव्य नौतले दरबार र वि. सं. १८२२ शेरा दरबार बनाउन लगाए । पछि नब्बे सालको महाभूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो । पुरातत्वविद् डा. साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए । तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन् । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि. सं. १८२२ मा शेरा दरबारको निर्माण भएको थियो । सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो ।
साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माणतर्फ सरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुरे जात्रा (नुवाकोट) लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ ।
यीबाहेक अन्य मन्दिर, पाटीपौवा, डबलीहरू पनि यहाँ नभएका हैनन् । २०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्पराहरू लोप हुदै गएका छन्, जुन दुःखलाग्दो विषय हो । मल्लकालमा उपत्यकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाडौंको जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए, जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ ।
(जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटको वेभसाइटबाट)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



