
… अनि मैले प्रेमकथा लेख्न छाडेँ
आफ्नै कथाः झप्कीका साथ लेखन यात्रा
प्रकाशप्रसाद उपाध्याय
पुस्तक समीक्षा गर्न के बसेको थिएँ फोनको घण्टी बज्यो । फोन उठाएँ ।
‘कस्तो छौ मित्र ?’, उताबाट प्रश्न तेर्सियो ।
‘ठीकै छु मित्र । तिमी बताउ आफ्नो हालखबर ।’
‘सबै ठीकै छ । अँ, के गर्दैछौ ?’
‘देशका एकजना ऐतिहासिक व्यक्तित्वको जीवनसित सम्बन्धित एउटा कृति छ, त्यसैको समीक्षा गर्न बसेको ।’
‘ओहो ! कति लेख्छौ, कति पढ्छौै यार ? मलाई त किन हो कुन्नि किताब समायो कि निद्रा लाग्न थाल्छ । कम्प्युटरमा काम गर्ने बानी बसेदेखि कलम समाउने मनै गर्दैन ..। अँ, एउटा कुरा बताउ त, आजसम्म तिमीले कति लेख्यौ, के-के लेख्यौ, कति कमायौ ?’
‘हेर मित्र, पत्रकारको रूपमा पेशागत जीवन सुरु भयो । बाल्यावस्था र युवावस्थामा जाँचमा पास हुन, केही बन्नको निम्ति पढिन्थ्यो । पत्रकारको जागिर पाएपछि पेटको लागि लेखियो, छोरा–छोरीका लागि पढियो । सरकारी सेवाका दिनहरूमा आफ्नो कार्य सम्पादनको सिलसिलामा अनुवाद, लेखन आदि गरिन्थ्यो । अब सेवानिवृत्ति पछि घरमा बस्दा खाली समयको सदुपयोग गर्नको निम्ति लेखपढ गर्ने गरिन्छ, स्वान्तः सुखायको निम्ति लेखिन्छ । कहिले प्रोजेक्ट पाइन्छ, कहिले पाइदैन । कतैकोबाट लक्ष्मी देवी प्रसन्न हुन्छिन्, कतैको कामबाट माता सरस्वतीको साधना हुन्छ । कमाउने र थुपार्ने कुरा गौण छ मित्र ।’
‘त कति लेखिसक्यौ ?’
‘हेर मित्र, अफिसमा हुँदा त आफिसको आवश्यकताअनुसारको काम र लेखन हुन्थ्यो । बिदाआदि परेर घरमा बस्दा भने कलमले प्रेम कथा लेख्नपट्टि डो-यायो । यौवनावस्था थियो । लेखिए होलान् २-२५ वटा जति प्रेम कथा ।’
‘बस त्यत्ति ?’
‘काँ मित्र ! लेख्ने बानी परेका मानिस शान्त काँ बस्न सक्छ र ! उमेर बढ्दै र छोरा–छोरीहरू बढ्दै जाँदा लेखन विधामा पनि परिवर्तन हुन थाल्यो । प्रेम कथाको स्थान निबन्ध, नियात्रा आदिले लिन थाले । आँखा चिम्लेर यसो सोच्यो कि एउटा प्लट (कथावस्स्तु) मस्तिष्कमा उब्जिहाल्ने । कहिले प्लटको चिन्तन गदै धेरै बेर आँखा चिम्लेर बस्दा निद्रा देवीको आगमन । परेलालाई शान्ति प्रदान गर्न एक झप्की (स्न्याप) लियो । आँखा खुलेपछि प्लटलाई विस्तार रूप दिन उठ्यो र कागत–कलम समाएर बस्योे । बसेन भने प्लट पानीको फोका बिलाएसरह बिलाउन बेर नलाग्ने । यसो हुँदा लेख्न अल्छी गर्नुहुन्न भन्दै कागत–कलम लिएर बसिहाल्यो । पत्नीले पनि चियाप्रतिको मेरो कमजोरी थाहा पाएकीले लेख्न बसेको देख्दा चिया ल्याउँछिन् । चियाको चुुश्कीका साथ कलम चल्न थाल्छ । केही वर्षसम्म यो क्रम चल्यो । जुन पत्रिकामा मेरा यी रचनाहरू छपिन्थे, त्यसका सम्पादकले एक दिन भने– ‘उपाध्यायजी, हामीमाथि अनुवादको लोड (भार) थपिएको छ । तपाईं त अनुवादक, सहयोग गर्नोस न् ।’
हुन्छ भनेँ । कारण लक्ष्मी देवी रिसाइन भने मासिक बजेटको सन्तुलन बिग्रने खतरा । नाईं भन्न सकिनँ । यसपछि अनुवाद कार्यको बोझ घरभित्र छि¥यो । ड्यूटी सकेर घर आयो, अनुवाद सामग्रीले मतर्फ हेरिरहेको हुने । चिया पिउँदै सामग्री उल्टाइपल्टाई ग¥यो । अब निबन्ध, नियात्राको लेखन फुर्र भयो । तर अनुवादजस्तो कार्यमा विभिन्न विषय हुने हुँदा अनुवाद गर्न रमाइलो लाग्ने । अनि यस कार्यमा अर्को फाइदा के देखेँ भने, कथा, निबन्धभन्दा बढी पारिश्रमिक अनुवाद बाट हुने । अर्थात सुनारको सय चोट लोहारको एक चोट । यस कार्यले निकै वर्ष निरन्तरता पायो । दिनचर्या व्यस्त हुन्थ्यो । तर सेवानिवृत्तिले यसमा पनि व्यवधान खडा ग¥यो । यसपछि आफ्नो देशको राजधानी आइयो । नयाँ ठाउँ भए पनि कलम–कागतले विश्राम लिन दिएनन् । त लेखनले नयाँ स्वरूप पाउन थाल्यो । देशभित्रको राजनीतिक उथलपुथलका घटनाहरूले शान्तिको मार्ग डो¥याइरहेको देख्दा सोचेँ यस क्षेत्रमा हाम फालेर हेरुँ । कलम चलाई हेरुँ न । कलम चल्न थाल्यो । सम्पादकहरूका कृपापूर्ण निगाहमा लेखहरू प्रकाशनयोग्य ठहरिन थाले ।
फलस्वरूप कहिले कुनै राष्ट्रिय दैनिकको निम्ति त कहिले कुनैको लागि । कहिले मासिकको निम्ति त कहिले साप्ताहिको निम्ति लेख पु¥याउन थालें । तर यो क्रम पनि धेरै दिन चल्न सकेन । तापनि सयवटा जति लेखिए होलान । यसमा पनि त्यति बेला व्यवधान उत्पन्न भयो जब स्वस्थ देखिने पत्नी एकाएक अस्वस्थ भइन । अस्पताल पुग्दा थाहा भयो प्राणघातक रोगबाट ग्रस्त । अपरेशन नगरी नहुने । यसपछि अस्पतालको चक्कड । पत्नीको हेरचाह गर्ने कि लेखेर बस्ने ? लेखन कार्य फेरि भयो फुर्र । तर सामयिक उपचारपछि उनले स्वास्थ्य लाभ गरिन् । घर फक्र्यौं । तर यहाँ नयाँ जिम्मेवारी थपियो । छोरा–छोरी सबै टाढा । भान्सा कोठा र पत्नीको शय्याकक्षमा ओहोरदोहोर, औषधि–पानीको नियमितता भंग गर्न नहुने । समसामयिक विषयमा कलम चलाउन नभ्याउने भएँ । पत्नी औषधिउपचारको क्रममा भए पनि बिस्तारबिस्तारै ओहोरदोहोर गर्न र हल्काफुल्का काम गर्नेयोग्य भइन् । भान्सामा सघाउन थालिन् । मेरो हात पनि सकसकाउन थाल्यो । सकसकाई मेटाउन कलम समाएँ । यस क्रममा २-३ वटा किताबको अनुवाद गरें, ४-५ वटा कृतिहरूको समीक्षा गरें, २–३ वटा मेरा आफ्नै कृति तयार भए । प्रकाशकहरूले कृपा गरे । १-२ वटा कृतिको सम्पादन गरें । अब एउटा प्रोजेक्ट टेबुलमाथि छ ।’
‘गज्जब छौ मित्र तिमी पनि !’
‘के गर्ने मित्र । आँखा चिम्लिनु हुन्नँ । चिम्ल्यो कि प्लट आइ हाल्छ, धेरै बेर चिम्लेर त्यसलाई विस्तार रूप दिन खोज्यो भने निद्रादेवीको आगमन हुन्छ । अनि उनको चाहना पूरा गर्न यसो झप्की नलिई नहुने । झप्की सकिएपछि उठ्यो, कागत–कलम लियो र चियाको चुस्कीका साथ लेख्न थाल्यो ।’
‘कति लेख्यौ त ?’
‘गन्ती गर्न भ्याएको छैन ।’
‘ल अब फोन राखुँ । भोलि म तिमी काँ आउँछु तिम्रा कृतिहरू लिन । मेरो निम्ति केही कृति छुट्याई राखे । हेरुँ कस्तो लेख्दा रहेछौ ।’
यति भनेर उनले फोन राखे । मेरो कलम चल्न थाल्यो र यो कुराकानी लिपिबद्ध गर्न भ्याएँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



