डोमले निहुरिएर निधारमा म्वाइँ खाए, देवकोटाको निधार पनि चिसो भइसकेको थियो

डा.शिवमङ्गल सिंह ‘सुमन’सहित डोम मोरेले मृत्यु पर्खिरहेका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आर्यघाटमा नै भेटे । देवकोटाले सकीनसकी आफ्ना मन परेका कवि डोम मोरेमाझ आफ्नो शिथिल मन खोलिरहे- ‘म मर्दै छु । म जीवित भए तपाईंलाई पनि मेरा कविताहरू देखाउँथेँ । तपाईंले मेरा कविताहरू हेर्नुभएको छ ?’

देवकोटाले आफ्नो शरीरको मैन पगाल्दै फेरि भने- ‘म यहाँ पशुपति मन्दिरमा छु, म मर्दै छु । तर कताकता एक इन्च म अझै बाँकी छु । म मेरो एक इन्च अणु बाँकी छु, त्यसले मलाई जान दिइरहेको छैन । म प्रार्थना गर्छु अब म जाऊँ । यहाँ पशुपतिनाथ आएदेखि म उहाँसँग मेरो खप्पर फुटाइदिने आशिष माग्थेँ ।’

देवकोटाले त्यस बेला आफ्ना मनमा रहेका र अरू दुखेका कुरा पनि डोम मोरेका सामु बागमतीमा मैलो पखालेसरि पखाल्न खोज्दै भने- ‘तिनीहरूले मलाई वामपन्थी भने, किनभने म रूस गएँ । म सिर्फ एक कवि मात्र थिएँ; मेरा लागि प्रार्थना गर्नुहोस् म मर्न सकूँ । यदि म नरक अग्निकुण्डमा गएँ भने यसभन्दा बेस हुन्छ । म नेपाली लेखकहरूमध्येको अति अभागी लेखक हुँ ।’

देवकोटाले डोमका कविता पनि मन पराउँथे । उनको आफ्नो जीवनमा डोमकै मुखबाट कविता सुन्ने इच्छा पनि थियो । त्यसैले देवकोटाले डोमलाई भने- ‘तपाईंका केही कविता वाचन गर्नुहोस् न ! अलिकति म शान्तिको स्वाद लिऊँ ।’ त्यसपछि डोम देवकोटासँगै टाँस्सिएर कविता वाचन गर्न थाले । देवकोटाले डोमलाई अरू पनि कविता सुनाउन आग्रह गरे । तर दुवै जनाको समय थिएन ।

डोम मोरेले आफ्नो हवाइजहाज उड्न लागेको जानकारी दिँदै देवकोटासँग बिदा मागे । त्यस बेला देवकोटाले डोमसँग अन्तिम वाक्य बोले- ‘म मरुन्जेल तपाईं यहाँ नबसिदिने ?’ अनि डोमले निहुरिएर देवकोटाको निधारमा म्वाइँ खाए । त्यतिन्जेलमा देवकोटाको निधार पनि चिसो भइसकेको थियो ।

त्यतिखेर डा.सुमनले डोम मोरेलाई भनेका थिए- ‘जुनसुकै कवि पनि आफू संसारबाट बिदा हुन लाग्दा जीवनको रेलगाडीलाई कुनै अर्को कविले हात हल्लाइदियोस् भन्ने चाहन्छ नै !’
(प्रसाईकृत देवकोटोको जीवनशैलीबाट)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button