फल फल्न फूल ओइलाउनुपर्छ

त्यान्द्राहरु

दीन पन्थी

संसार विचित्र छ । संसार विभिन्न छ । विभिन्नतामा सौन्दर्य छ । विभिन्नता देख्न लालायित छन् आँखाहरु । विभिन्नता चाख्न अतुर छन् जिभ्राहरु । विभिन्नता सुन्न उत्सुक छन् कानहरु ।

एकरुपताले पट्यार लाग्छ । एकरसताले वाक्क लाग्छ । ध्वनिको एकताले दिक्क लाग्छ । त्यसैले सप्तरंग बने । त्यसैले षड्रस बने । त्यसैले राग र रागिनी बने । अनेकतामा विलक्षणता छ । विलक्षणतामा कला छ । कलामा आनन्द छ । आनन्दमा जीवनको सार्थकता छ । त्यही सार्थकताको खोजीमा छौं हामी । जहाँ क्षणक्षणमा नूतनता छ, त्यहाँ सौन्दर्य छ । त्यहीं माधुर्य छ । जगतमा रुपमा, रसमा, शब्दमा, रंगमा, गुणमा भिन्नता छ । त्यही सौन्दर्यमा, त्यही माधुर्यमा रमाइरहेछौं हामी । कालक्षेपणको यही क्रम चलिरहेछ– युगयुगान्तर । पुस्ताहरु बित्छन्, प्रकट हुन्छन् । यही व्यतिरेकमा संसार चल्छ, रम्छ, बढ्छ । रुचिमा भिन्नता छ लोकमा ।

एउटा जोगी भई खरानी घस्छ, एउटा भोगी भई अत्तर घस्छ । एउटाले मुण्डन गर्छ, एउटाले जटा पाल्छ । ठिकबेठिकका लालमोहर समाज ठोक्छ । मान्छेको मन संस्कृत हुँदैन, प्राकृत हुन्छ एकदम अराजक । त्यसैले त मान्छेमा बेलाबेला जंगली रुप प्रकट हुन्छ । बाहिर सुसंस्कृत, सभ्य मान्छे मनभित्र जंगली हुन्छ । आखेट युग बाँकी छ मान्छेको मनमा । आदतहरु आदिम छन् अझै । व्यवहार बर्बर छन् अझै । मान्छे आदर्शले, नैतिकताले चल्छ भन्नु एउटा ढोंग हो, प्रवञ्चना हो, कपट हो । मान्छे लोभले, मदले, अहंकारले, कामले, मात्सर्यले चल्दैछ अझै । त्यसैले त नियम, कानून र विधिका बन्धनले बाँध्नुपर्छ मान्छेलाई । आत्मशास्तालाई विधिका बन्धन चाहिन्न । औंलाका रेखा झैं फरक–फरक हुन्छन्– मान्छेका मनहरु–भिन्न, अनुपम र अतुलनीय । संसारका सारा जीवन माउखाने छन्, माउको अन्तमा बच्चाको उन्नति निश्चित छ । एउटाको ध्वंस अर्काको सृजना बन्छ । बिरुवा हुर्किन बिऊ कुहिनुपर्छ ।

फल फल्न फूल ओइलाउनुपर्छ । वर्षा हुन बादल सकिनुपर्छ । कोही धनाढ्य हुन कोही कंगाल बन्नुपर्छ । पालुवा पलाउन पुराना पात झर्नुपर्छ । ध्वंसको जगमा सृजना प्रकट हुन्छ । क्रान्तिको भग्नावशेषबाट शान्तिको उदय हुन्छ । मातापिताको चाउरीमा सन्तानको बैंस फुल्छ । टाउकाहरुमा टेकेर एउटा स्वर्ग पुग्छ । टेकिनेहरु त्रिशंकु बनेर चमेरा झैं बीचमै झुँडिन्छन् । जगका ढुंगाहरुले गुमनाम भएर घर बोकिरहनुपर्छ ।

माथि टल्कने गजूर र हजूरलाई जगको वेदना अनुभव हुँदैन । कसैको बलिदानमा कसैको स्वर्ग फल्छ । संसार चतुरहरुको चलाखीमा चाख राख्छ । त्यागी, वैरागीहरुको त्यागलाई दुनिया लात मार्छ । जसले जित्छ त्यसले राज गर्छ, जसले हार्छ त्यो कुल्चिन्छ, टेकिन्छ र खिइन्छ मात्र । एउटाको विपत्तिमा अर्काको सम्पत्ति जम्छ । एउटाको विजय अर्काको पराजय बन्छ । सबैको जय हुने खेल खेल्न बाँकी छ । मुसाको घरमा रुवाबासी चल्दा बिरालाको घरमा भोजभतेर हुन्छ ।

Ad

मान्छेका घरमा मासुको भोज चल्दा बाख्राको खोरमा कुटुम्बवियोगको शोक बन्छ । लाग्छ– मान्छेका आदर्श, दया, धर्म, परोपकारका बहस व्यर्थ बकबास हुन्, प्रलाप मात्र हुन्, स्वाब् हुन् । मान्छेका गुणहरु ढाकेर ढाकिन्नन् र बैगुनहरु पनि ढाकिन्नन् मौकामा छताछुल्ल हुन्छन् बाहिरै । सत्यको उद्घाटन एक दिन भइछाड्छ । काँढाहरु बिज्छन् । छेस्काहरु दुबै तिरबाट घोंच्छन् । कृतघ्नहरु पूर्वोपकारीप्रति घात गर्छन् । संजीवनी शत्रुको पनि जीवन रक्षा गर्छ ।

म देख्छु– मिठा फल फल्ने बोटहरुमा मान्छेले झटारो हान्छन् । गुणी हुनु सम्भवतः विपत्तिको निमन्त्रणा बन्छ । हामी देख्छौं– औषधिका बोटहरुका बोक्रा ताछिएका हुन्छन्, फलेका हाँगाहरु लाछिएका हुन्छन् । सत्य हो– गुणको वैरि मानुष जाति । मूर्खहरु आफूलाई सर्वज्ञ ठान्छन् । ती झुक्दैनन् सिख्रा रुख झैं । आफू नभए संसारै चल्दैन भन्ने भ्रम पाल्छन् ती । न तिनले फूलले झैं सुवास छर्छन् न फलले झैं मिठास भर्छन् । ती व्यर्थ छन् ।

लुंच्चाहरु ससाना लाल्चामा आस्था फेर्छन् । छुच्चाहरु तुच्छ लाल्चामा अन्तर्मनको द्वारमा ताल्चा ठोक्छन् । रित्तो भाँडो बज्छ । खोक्राहरु सिंगारिन्छन् । सुनमा बुट्टा नभरे पनि चम्किन्छ । आत्मप्रशंसा नगरे पनि गुणीको गुण जाहेर हुन्छ । फलेका बोटहरु झुकेर पनि सम्मानित छन् । गजराजसँग खरायोले स्पर्धा गर्न सक्दैन । कागहरु कोइलीजस्तै हुन्छन् तर वसन्तमा कोइलीकै कदर हुन्छ ।

नरोपीकन वनमारा झांगिन्छन् । धानलाई मलजल गर्नुपर्छ । संरक्षितभन्दा अरक्षित शक्तिशाली हुन्छन् । वणिकहरु सुनचाँदी गन्छन्, धनभन्दा ठूलो जगत्मा के छ र भन्छन् । बटुल्छन् टल्कने धातु र रंगीन ढुंगाहरु । जमीन नाप्छन् सधै। केवल पण्यको मोलमोलाई चल्छ वणिक् जगत्मा । ढुब्गा, माटो, वृक्ष, जीव सबै खरीद बिक्रीका वस्तु बन्छन् । अरु भाव, अरु विचार, कल्पना, कला जो पण्य हुँदैनन् ती सबै व्यर्थ छन् यस जगत्मा । धूलेबाजी खेल्ने शिशु झैं छन् तिनका व्यवहार । त्यान्द्राहरु तुच्छ छन्, नगण्य र नाचीज । विचारका त्यान्द्राहरु मनमा डुल्छन् । मान्छे हुनुको अर्थ त्यान्द्रामा अल्झेको छ ।

मेरो मस्तिष्कमा भरिएका छन् त्यान्द्राहरु । भावना, कल्पना, विचारका त्यान्द्राहरुमा झुण्डिएको हुन्छ जीवन । म फुकाउन खोज्छु त्यान्द्राहरु । ती अल्झिन्छन् । वस्तुका त्यान्द्राहरु म घाममा सुकाउँछु । ऊनका, परालका, कपासका, जुटका, खरका त्यान्द्राहरु म जुटाउँछु। नसा र तन्तुका त्यान्द्राहरु बुनिएर म बनें । म त्यान्द्रा लगाउँछु, म त्यान्द्रा खान्छु, त्यान्द्रा सोच्छु ।

प्रत्येक मान्छे एउटा त्यान्द्रा हो । त्यान्द्राबाट डोरी बन्छ । डोरीले हात्ती बाँधिन्छ । आऊ त्यान्द्राहरु बाटौं । आऊ त्यान्द्राहरु बुनौं ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button