
प्रश्नैप्रश्नको सम्भवत् विश्वकै पहिलो लेख
प्रश्नहरु
दीन पन्थी
जगत बनाउने को होला ? जगतमा जीवन भर्ने को होला ? जीवनमा राग र वासना छर्ने को होला ? यो सृष्टि कसको खेती होला ? ब्रह्माण्डमा यी गोलगोल ग्रहनक्षत्रहरु कसले किन घुमाइरहेको होला ?
आकाश कति होला ? समय कति होला ? आकाश र समयको आदि-अन्त होला कि नहोला ? ताराहरु कति होलान् सगरमा ? यो धरती किन बन्यो होला ? अन्य ग्रहहरुमा मान्छे झैं प्राणी होलान् कि नहोलान् ? मान्छेको के प्रयोजन होला यस अनन्त ब्रह्माण्डमा ? प्राणीको उत्पत्ति किन हुन्छ पृथ्वीमा ? किन जन्मेका जति मर्छन् ? भन्छन्– चौरासी लाख योनि छन् धरतीमा । तिनको के प्रयोजन छ विश्वमा ?
फूलहरु किन फुल्दा हुन् बोटमा ? कसले भर्दछ तिनका रंग र बुट्टाहरु ? कसले खन्याउँछ तिनमा पराग र बास्नाहरु ? फलहरु किन फल्दा हुन् बोटमा ? कसले भर्दछ तिनमा रस र स्वादहरु ? कसले छर्छ बेगिन्ती झार, वनस्पति र वृक्षहरु वनमा ? कसले दिन्छ पन्छीहरुलाई रंगीन प्वाँखहरु ? कसले बाँड्छ प्राणीमा भिन्न-भिन्न आकार र रंगहरु ?
कसले बाँड्छ बाघ, भालु र चितुवालाई दाह्रा नंग्राहरु ? किन हुन्नन् मान्छेका प्वाँखहरु ? किन हुन्नन् हरिण र चित्तलका दाह्रा-नंग्राहरु ? कसले दिन्छ विषधरलाई विष ? कसले तिखार्छ वनका काँडाहरु ? को होला यो धरतीरुपी फूलबारीको माली ?
किन रक्सी बनाएर पिउन्नन् बानरहरु ? किन घर बनाएर बस्दैनन् चिम्पान्जीहरु ? किन आगो बालेर ताप्दैनन् बाघ-भालुहरु ? कसले दियो मान्छेलाई मात्र यतिका बुद्धि ? किन जान्दैनन् पशुहरुले अन्य पशुलाई मान्छेले झैं दुहुन ? किन मान्छेले मात्र पढ्छ पुस्तक ? किन मान्छेले मात्र गर्छ राजनीति ?
समयचक्रलाई कसले घुमाइरहेको होला ? यो पृथ्वी, जल, तेज, वायु र आकाश कसले बनाए होला ? बीजमा वृक्ष र वृक्षमा बीज बनाउने को होला ? प्राणीमा बैंस र वासना भर्ने को होला ? भालेपोथीको यौनसमागमको प्रेरक को होला ? यस पृथ्वीमा सर्वप्रथम जन्मने को होला ? सर्वप्रथम जन्मनेलाई जन्माउने को होला ? बानरबाट नर भयो भनी डार्विन भन्छ, कतै फेरि नरबाट बानर बन्ला कि नबन्ला ?
उखुमा गुलियो कसले भर्छ होला ? कागतीमा अमिलो भर्ने को होला ? वनमा वनौषधिहरु कसले छर्छ होला ? गुराँस र लालुपातेलाई लाल बनाउने को होला ? काग र कोइलीलाई काला कसले बनाए होला ? मयूर र डाँफेका प्वाँखहरु रंगाउने को होला ? बाह्रसिंगालाई सिब् कसले दिए होला ? हामीहरु किन आयौं यस धरतीमा ? जन्मनुभन्दा अघि हामी कहाँ थियौं ? थियौं वा थिएनौं ?
गीता भन्छ– हामी थियौं । हामी अविनाशी छौं । चार्वाक भन्छ–हामी थिएनौं । जीवन शून्यबाट शून्यसम्मको यात्रा हो । मरेपछि हामी हुन्छौं वा हुन्नौ ? अध्यात्म भन्छ–हामी हुन्छौं पछि पनि । आत्मा अजरामर छ । चार्वाक भन्छ हामी हुन्नौं । शरीरसितै सकिन्छौं हामी । चेतनबाट जड बन्छ भन्छन् आस्तिकहरु । चेतन जडबाट बन्छ भन्छन् नास्तिकहरु । के हो सत्य ? कहाँ छ वास्तविकता ?
मान्छे नामको जादूगरी यन्त्र कसले बनायो ? कसले भ-यो यसमा राग, द्वेष, लोभ र छलकपट खाँदेर ? के कुनै छ यो जगत् बनाउने ? के जगत् आफै चल्छ ? ईश्वर के कल्पनामात्र हो ? के विज्ञानभन्दामाथि केही छैन ? के रुढी र फजूल हुन् मान्छेका आस्था र विश्वासहरु ? प्रकृतिमाथि मान्छेको विजय सम्भव छ ? किन अजरामर बन्न सकेन मान्छे ? के मान्छे र उसको विज्ञान परिपूर्ण छ ? मान्छेले बनाएको विज्ञानको दास के मान्छे नै होला ? आफैले बनाएको कालकूटबाटै के मान्छे जातिको अन्त होला ?
हात्ती त्यति ठूलो किन भए होला ? किन बन्यो उसको सूँड त्यस्तो ? भुसुनो किन त्यति सानो ? किन यत्रो असमानता सृष्टिमा ? कसले तन्कायो जिराफको घाँटी ? किन चमेरो रुखमा उल्टो झुँडिन्छ ? किन देख्दैन उल्लूले दिनमा ? गाईका सिब् उम्रिने किन ? मान्छेका सिब् नहुने किन ? ढेडुवाको मुख कालो किन ? मान्छेले स्यालको सिब् र एक मुखे रmद्राक्षको खोजी किन गर्छ होला ?
उट्पट्याँग् झैं लाग्ने यी प्रश्नहरु के निरर्थक छन् ? यिनको जवाफ कतैबाट मिल्ला कि नमिल्ला ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




बुद्धि विनोद हो –प्रश्नैप्रश्नको किताब । तपाई पहिलो होइन ।