
धर्म, धर्मान्ध र धर्मभिरु
ससाङ लामा
न्युयोर्क
पछिल्लो समयमा अनलाइनहरुमा बग्रेल्ती धर्मविद् देखापरेका छन् । धर्मसम्बन्धी विभिन्न टर्मिनोलोजीहरुको आफू मनलागि व्याख्या गरेका पाउँछौँ । यो र त्यो धर्म यति पुरानो र त्यति पुरानो भनेर किटेरै भन्ला झैँ गर्छन् । सनातनी धर्म भनेको हाम्रै धर्म हो भनेर ठोकेरै पो भन्छन् । ‘सनातन’ र ‘प्राचिन’ पर्यायबाची शब्द हुन् । सनातन शब्द बढी धर्मसँग जोडिन्छ । सनातन शब्द प्रायः हिन्दू धर्मसँग बढी जोडिन्छ । तर सनातन बौद्व धर्म, सनातन क्रिस्तान धर्म र सनातन मुस्लिम धर्म ढुक्कसँग भन्न मिल्छ । धर्मको प्रादुर्भावबारे बिभिन्न धार्मिक आस्था भएका धार्मिक बिद्वानहरुका आआफ्ना जायज नाजायज तर्कहरु होलान् । मैले अहिलेसम्म अध्ययन गरेका ज्ञान विज्ञानमा टेकेर धर्मसम्बन्धी म आफ्ना तर्कहरु बुंदागत रुपमा यसरी प्रस्तुत गर्न चाहन्छु ।
पहिलो कुरो, मानव भगवानद्वारा सिर्जित नभै भगवान मानवद्वारा सिर्जना गरिएको परिकल्पना हो । स्वर्ग र नर्क पनि मानवकै उर्जाशील मगजको उपज हो ।
ढुङ्गे युगमा जब भैँचालो, हुरिबतास, बाढि पहिरो र आकाशे गड्याङ गूड्उङ हुन्थ्यो, तब मानिसहरु त्यसलाई दैविशक्ति मानेर प्रकृतिको पूजा गर्न थाले । विभिन्न समयमा मानिस् आँफैद्वारा रचित अनेक खाले पूजाआजा– पशुबली, यहाँँसम्मकी नरबली सम्म दिनथाले । भाषाको उत्पतीपछि दैविशक्तिका अलौकिक प्रसंगहरु कथिए र समयको फेरबदल् संगै नयाँँ नयाँँ इश्वरीय महिमाका नयाँँ नयाँ चर्चाहरु कथिंदै गए ।
समयको विकासक्रमसँगै मानव समाज पनि विकसित हुँदै गयो। ढुङगेयुगीन शिकारी समाज खेतिपातीमा प्रवेश गरे । अन्न उब्जाउने, सन्चय गर्ने, बस्तु विनिमय गर्ने तरिकाहरु समयक्रममा सिक्दै लगे । मानिसको बाक्लो बस्ती बस्तै गएपछि सोझा र बलिया बाङ्गा पनि देखिन थाले । कालान्तरमा बलिया बाङ्गा भुमिपती भए भने सोझाहरु तिनका खेतालामा परिणत भए । त्यसोहुनुमा पुर्वजन्मको फल भनी धार्मिक लेपन सहित सोझालाई झुक्काइयो । हुरिबतासले बाली सखाप हुँदा भगवान रिसाएको ठानियो । हुँदा हुँदा ति बंबाँ ले भगवान र धर्मको नाममा लठेप्रामाथि शोषन गर्न थाले अर्थात धर्म शोषणको औजार बन्यो ।
मानव समाज सामन्ती युगमा प्रवेश गर्न साथ धर्ममा पनि विविधता आयो । एउटै म्यानमा दुइटा तलवार नअटे जस्तै सामन्तहरु एकै ठाउंमा, एकै प्रदेशमा, एउटै देशमा अटाउन नसकेर अलग अलग धर्मको अविष्कार गरेर जनसाधारणलाई ति धार्मिक चाबुकले हान्दै अगाडि बढदै गए । निरिह जनताले पनि भगवानको खेलाको रुपमै बुझेर त्यस शोषणलाइ शिरोधार्य गर्दै लगे । समाजमा रहेका कुत्सित मनसाय भएका धर्मान्ध र धर्मभिरुहरुले मानिस् मानिसबिच धार्मिक युद्व गराए, आफ्नो धर्मप्रचारको नाममा घ्रिणा फैलाए । धर्मलाई धन आर्जनको माध्यम बनाए ।
२१ औँ शताब्दिमा आइपुग्दा अब धर्म देशको शासन ब्यवस्थामा दखल दिन सक्ने भैसकेको छ । जनताको धार्मिक संवेदनासित खेलबाड गरी धार्मिक नाराहरु उरालेर जनताको मत सोहोर्न राजनीतिज्ञहरु लबस्तरोपनमा उत्रेको त हामीले यत्रतत्र देखिसकेका छौँ । हाम्रै छिमेकी भारतमा धार्मिक बाबाहरुको राजनीतिक चर्तिकलाले त परकाष्ठा नै नाघिसकेको छ। संयुक्त राज्य अमेरिकामा समेत, एकजना राष्ट्रपतिका उम्मेद्वार, एकखाले मोर्मन क्रिस्तान हुन भनेर अर्काथरी क्रिश्तानीहरुले उनलाई भोट् दिँदैनन् भन्ने समेत कुरो सुनिएको थियो । धर्मान्धहरु दखिण एशियामा मात्र होइन, संसारभर नै छन् । यसको कारण तार्किक शिक्षाको कमी हो । विकसित देशमा पनि तार्किक शिक्षाको कमी मैले महसुस गरेको छु ।
सदाचार, सदभाव, सहकार्य, सहिस्णुता, सदमार्ग, सुविचार, सहअस्तित्व, सामिप्य आदि नै धर्मको मार्गनिर्देशन हुन्, साध्य हुन् । इस्वरीय महिमा र स्तुतिगान, चित्तलाई एकाग्रह गर्नलाई गरिएको साधना मात्र हो । अमुर्त र निराकार भगवानको छविको व्याख्यामा हामीले समय नष्ट नगरी चित्त शान्ति पार्ने र निर्वाण प्राप्त हुने धार्मिक उपायहरु अवलम्बन गर्नु नै धर्मको मुल उद्देश्य हो। हिन्दूका वेद, क्रिस्तानका बाइबल, ईस्लामको कुरान र बौद्व उपनिषदहरुमा लेखिएका अपुष्ट धार्मिक व्याख्याहरु अहिलेको हाम्रो जीवनमा मेल खाँदैनन् भने समयको फेरो सँगै तिनलाई परिमार्जन गरी नयाँँ धार्मिक मुल्य र मान्यता स्रिजना गर्नुपर्दछ ।
उहिलेको खुइले, कागजरहित समाजमा कथक्केले कथेको धार्मिक कथामा पिढिदर पिढिले थपथाप गर्दै, फेरी कथ्दै सुनाउँदै सुनाउँदै आउँदा हामी कहाँँसम्म आउँदा त्यो मौलिकता हराइसकेको हुन्छ र जब कागजको अविष्कार भयो र ती कथाहरुलाई लिपिबद्व गरिए, ति आदी लेखनदासेहरुले पनि आफ्ना कुराहरु थपथाप पारे । अहिले हामी जति पनि धार्मिक कर्मकाण्डी कार्य गर्छौँ, त्यो धर्म होइन, यो त साधना हो, धार्मिक साध्य होइन । अन्त्यमा जाँदाजाँदै धार्मिक कुराहरु कथ्ने र थपथाप् कसरी हुन्छ भन्ने कुराको दृष्टान्त मैले अनुसरण गरिरहेको बुद्व धर्मको प्रमुख मन्त्रको कुरो उप्काउँछुः
बुद्वम शरणम गच्छामी
धर्मम शरणम गच्छामी
संघम शरणम गच्छामी ।
यि तीन मन्त्रहरु, बौद्व धर्मावलम्वीहरुको धार्मिक प्रस्थान विन्दुहरु हुन् । बुद्व, धर्म र धार्मिक संघको शरण पर्छु भनेको हो त्यो मन्त्रले तर गत शताब्दीको ७० को दशकदेखि त्यस मन्त्रमा तिब्बती बौद्वधर्मावलम्वीहरुले अर्को एउटा मन्त्र थपे । संस्कृतमा भन्ने हो भने लामाम शरणम गच्छामी अर्थात लामा (भिक्षु) को शरण पर्छु। संघम शरणम गच्छामी भनिसकेपछि त्यो धार्मिक संघभित्र रिन्पोछेदेखि भिक्षुसम्म सबै पर्छन् । अनि वित्थामा लामाम शरणम गच्छामी भन्नुमा कुनै तुक छ र ? पछिल्लो थपथाप ‘गुरुको शरण पर्छु भनेको हो भनेर अर्थ्याउने पनि निस्के । तर, धार्मिक संघभित्र रहेका ती सबै गुरु नै त हुन् । यस्ता धार्मिक थपथापेहरु अन्य धर्महरुमा पनि बग्रेल्ती छन् । अरुको दोष देखायो भने ठाडै जाइलाग्ने हुनाले आफुले अंगालेको धर्मकै दोष कोट्याएको हुँँ । धर्मलाई धर्मान्ध र धर्मभिरु भएर होइन कि सहि उदेश्यनुरुपको धार्मिक आचरण देखाएर निभाएमा नै मानव समाजको कल्याण हुन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



