… त्यसपछि म निकै सुध्रेँ

डा. अर्जुनदेव भट्ट

सानो छँदा म ज्यादै चकचके थिएँ । भन्न सक्दिनँ, अहिलेको समयमा भए मलाई अति सक्रिय बच्चा (हाइपर एक्टिभ चाइल्ड) भन्थे कि भन्दैन थिए !

म जन्मिएको हुँ पाल्पामा । सात सालको क्रान्तिमा बुबाज्यूले आफ्नो जागिर गुमाउँदा हामी प्यूठानमा थियौँ । मालपोत अड्डामा भएका कागजपत्र प्रायः सबैजसो बुबाज्यूले पछाडिका झयालढोकाबाट सुरक्षित रूपमा बाहिर पठाएर क्रान्तिको समयमा हराउन र जल्नबाट बचाउनुभएको रहेछ । त्यसैको गुन सम्झेर त्यस ठाउँका प्रत्युत्पन्न मतिका मानिसहरू मिलेर हाम्रो परिवारलाई सबै प्रकारको सहयोग गरेर सुरक्षित रूपले मूलघर, बैतडी पठाए ।

छोटकरीमा सम्झ्ँदा हामी प्यूठानबाट लखेटियौँ तर ज्यादै सुरक्षित तरिकाले । देशमा आन्दोलनको उथलपुथल र क्रान्तिमार्फत राज्यसत्ता नै हेरफेर भएको समयमा इमानदार र लगनशील भएर काम गर्नेलाई पनि कुनै व्यक्ति वा समूहले नराम्रो दृष्टिले हेर्ने हुनसक्छ । यस्तो स्थिति बुबा र हामी परिवारका निमुखा सदस्यप्रति पनि भएको रहेछ भने कुनै आश्चर्य मान्ने कुरो थिएन । क्रान्ति भनेकै एउटा अराजक अवस्था हो । त्यहाँ जे पनि हुन सक्छ । क्रान्तिका खेलाडीहरू कति सङ्गठित, अनुशासित, अनुभवी, मानवीय, क्रोधी, शिक्षित, निर्दिष्ट, विभेदरहित, पीडित इत्यादि छन्, कारक तत्वमा तिनीहरूले गर्ने व्यवहार भर पर्ने हुन्छ । त्यस्तो समयमा सुझ्बुझ्को भन्दा पनि बढी क्रोध र प्रतिशोधको भावनाले मानिस निर्दिष्ट हुनसक्छ ।

समाजको अन्याय र अत्याचारले क्रान्ति जन्माउँछ । अत्याचार र अन्याय कुन श्रेणीको थियो, त्यसको अनुपातमा पनि क्रान्तिकारीहरू कति क्रोधित र प्रतिशोधको भावनाले उत्रिन्छन् भन्ने निर्धारण गर्न सक्छ ।

हामी बैतडी पुगेको केही दिनपछि सात सालको क्रान्तिले आफ्नो मुख्य उद्देश्य प्राप्तिमा सफलता हासिल ग¥यो । बुबाज्यू परिवार पाल्ने पिरलोको उच्च बिन्दुमा पुग्नुभएको थियो । सरकारी जागिरलाई निन्तरता दिन बुबाज्यू प्रयत्नरत हुनुहुन्थ्यो । बैतडीको माल अड्डामा विचारीको पद खाली भएकोले बुबाज्यूले त्यहाँ अस्थायीरूपमा वहाली पाउनुभयो । केही समयपछि डोटीको निम्ति असिस्टेन्ट सुब्बा भएर बुबाज्यू कार्यक्षेत्रमा जानुभयो ।

समय क्रान्तिकालको भन्दा ज्यादै सौहार्दपूर्ण थिएन । एकातर्फ भोकमरी र अर्कातर्फ चोरचटारको बिगबिगी । सुदूरपश्चिमका जनता काठमाडौँमा सरकार परिवर्तन भएकोमा पूर्ण सन्तुष्ट थिएनन् । त्यतातिरका केही व्यापारी, जिम्वालहरू, राणाकालमा सबै सुविधा प्राप्त गरिरहेका व्यक्तिहरू सोझा र निमुखा जनतालाई शोषण गरेर मस्त भएकाहरू आफ्नो त्यो हालीमुहाली नगुमोस् भन्ने चाहन्थे र जे गर्न पनि तयार थिए ।

क्थित डुमडोखलाको कुरै नगरौँ, उनीहरूको जीवनमा अलिकता भए पनि सुधार ल्याउने, उनीहरूलाई पनि मान्छेकै मान्यता दिने क्रान्तिको उद्देश्य थिएन होला । त्यो भेगका उच्चस्तरका ब्राह्मणहरू त केही नभए पनि डुमडोखला नउक्सिऊन् भनेर प्रयत्नरत थिए । त्यही बीच क्रान्तिको उपलव्धिमा प्रश्न गर्दै त्यतातिर भीमदत्त पन्त समाज फेर्छु भन्दै आफ्नो ऊर्जा र दिमाग लगाउँदै थिए । त्यसैले क्रान्ति समाप्त भए पनि वातावरण अशान्त थियो । हामी बच्चाहरूले केही मन नपर्ने कुरो गर्दा कोही काङ्ग्रेस आयो भनेर तर्साउँथे त अरू भीमदत्त र बाघभालुको उच्चारण गर्थे । बच्चाहरूलाई तर्साउन त्यो बेला योभन्दा धेरै केही चाहिँदैनथ्यो ।

बुबाज्यूको जागिरले निरन्तरता पाए पनि घरमा भने तुरुन्त सबै कुराको व्यवस्था मिल्न सकेको थिएन । सिलगढी, डोटी तुरुन्त गइहाल्ने केही गाइँगुइँ पनि घरमा सुनिँदैनथ्यो । हामी परिवारका सबै सदस्य बैतडीमै थियौँ । ठूल्दाजु आनन्ददेव पाल्पाबाटै साइलाबुबा लवदेव भट्टसँगै काठमाडौँ जानुभएको थियो । बैतडीको घरमा आमा, ज्ञानी दिदी, दाजु भीम, म र भाइ भरत थियौँ । भाइ भरतडोटीमा टाइफाइडले आन्द्रामा प्वाल पर्ने जटिल रोग पेरिटोनाइटिसभएर बित्यो, म भविष्यको डाक्टरकै आँखाअगाडि थुप्रै लक्षण प्रदर्शन गर्दै । हामी माझ २००८ सालमा आमालाई आफ्नो कुन्को (आफ्नोमात्रै)बनाएर जन्म्यो हाम्रो अर्को भाइ ध्रुवदेव । केही दिन त हामीले आमाको मुख पनि हेर्न पाएनौँ । खालि ढोकाबाहिर परिवारको नयाँ सदस्य रोएको आवाज सुनेर हामी आमाको सुर्ता मेट्थ्यौँ । कस्तो होला भाइ भन्दै कौतुहलतामा पौडी खेल्थ्यौँ । समय गएको चालै पाउँदैनथ्यौँ । त्यो कौतुहलताको केही अंश एघार दिनपछि बल्ल हामीले भाइको दर्शन गरेर अलिकता शान्त पार्न पायौँ तर न हामीलाई छुन दिने, न उसँग धेरै बेर सँगै भएर रमाउनै दिने ।

हाम्रो घरको परिवार सानो थिएन । घरमा बाजेबजेई, माइला बुबा, माइली आमा, काइँला बुबा, काइँली आमा र राइँला बुबा हुनुहुन्थ्यो । राइला बुबा झाँको (भ्उष्भिउकथ) को रोगबाट बित्नुभयो । अहिले भए बित्नै नपर्ने । लडेर शरीरभरि चोटपटक हुन्थ्यो । आगोले एक पल्ट होइन, धेरै पल्ट जीउ पोलेको थियो । मुर्छा पर्दा मुखबाट तर्सिने गरी ठूलो आवाज निकाल्दै सम्पूर्ण शरीर काँप्थ्यो । केही बेर मुखबाट सेतो फिँज निस्कन्थ्यो । कतिपल्ट म डरले कुलेलाम ठोकेको थिएँ आँखा चिम्लेर । ठाइँला बुबा पनि हामीसँगै हुनुहुन्थ्यो । खेट्टी दिदी र धौली दिदी घरमा काम गर्ने नोकरचाकर भएर बसेका थिए, दासजस्तै ।

उनीहरूलाई अर्कैश्रेणीमा राखी व्यवहार गरिन्थ्यो । ती थिए संयुक्त परिवारका पराधीन व्यक्ति, नोकर्नी । त्यो अतीत सम्झँदा अहिले पनि डर लाग्छ, मुटुमा त्रासको धड्कन छुट्छ । कति गाली, चुटाइ र हेर्नै नसकिने दण्ड पाउँथे बाजेबाट । हातखुट्टा बाँधेर पनि कुटिन्थिन् खेट्टी दिदी । उनले बारीबाट टाउकोमा राखेर ल्याएको घाँसको भारी र रूखका सुकेका हाँगाहरू अहिले पनि मेरो मस्तिष्कमा झलझली छन् । हुनलाई खेट्टी दिदी झिँजाजस्तै मसिनी थिइन् । घाँटी लामो थियो । मेरो मनले उनलाई अहिले पनि सलाम गर्छ । उनी आत्मसम्मान चाहने व्यक्ति थिइन् ।

एक दिन उनी कसैले चाल नपाई पोइल गइन् । र, मुक्त भइन् हाम्रो घरको दासत्वबाट । हुन त उनी फेरि अर्को घरको दासी बन्न पुगिन् होला, त्यो कसैलाई थाहा भएन । उनले जीवन बाँच्ने रहर गरिन् अर्कै तरिकाको । पक्कै पनि हाम्रो घरको भन्दा बढी कष्ट सहन परेन होला । खेट्टी दिदी र धौली दिदीकी आमा पनि सबै आमाजस्तै जननी थिइन् तर उनले आमाका रूपमा आदरको त के कुरा साधारण मानवीय व्यवहार पनि कहिल्यै अनुभव गर्न पाइनन् । एक दिन उनी बितिन् । कसरी र के कारणले बितिन् मैले चाल पाइनँ । म बैतडीमा छँदा उनले आफ्नो जीवनको पछिल्लो सास फेरेरमात्र दासत्वबाट छुटकारा पाइन् ।

हाम्रो परिवार ठूलो थियो, संयुक्त । खाने मुख थुप्रै, काम गर्ने हात पनि कम थिएनन् तर गरेको कामबाट निस्कने फाइदा भने सीमित । अहिले सम्झँदा लाग्छ, हाम्रो कृषिको स्थिति मानवले भरखर कृषि क्रान्ति सकेको बाह्र हजार वर्ष पुरानो अवस्थाको थियो । कुटोकोदालो, हलो, हाडछालामात्र बाँकी भएका एक हल गोरु र डोकोको भरमा कृषि हुन्थ्यो । सिँचाइमा आकाशको भर थियो । दुध र पूजाको निम्तिमात्र जीवित राखिएका, जिउभरि भाटा देखिने र भरखर ब्याउँदासमेत भरिन नपाउने कल्चौँडो भएका टिठलाग्दा गाई थिए । ती गाई आफ्ना भरखर जन्मेका बाच्छालाई खुवाउन दुध लुकाउने प्रयत्न गर्थे । एकैछिन बाच्छालाई दुध चुसाउन दिएर फेरि दुहुँदा पनि खासै दुध निचोरिँदैनथ्यो । आखिर ती गाई बाल्टी भरिने गरी दुध दिने जर्सी पनि त थिएनन् ! खैरे गोरुको पेटमा एउटा ठूलो पोको थियो । त्यो थियो हर्नियाँ, देब्रेतिर । ऊ सधैँ चिन्तित मुद्रामा ऊर्जाहीन भएर लोसे तालले हलो तान्थ्यो । पुच्छर निमोठेर सेटाले एकपल्ट पिठमा हिर्काएपछि टाउको अलिक सोझयाएर अलिक छिटो हिँड्थ्यो । उसको हल थियो झलमले गोरु, बडो फुर्तिलो थियो । झलमलेको ताल र सारमा हलो तान्न खैरे असक्षम थियो ।

गोरु जोत्ने तल्लो जातको मानिने डुम ‘कुरे’ सधैँ अपमानित थिए । भोको र कमजोर परिवार पाल्न नसकेर चिन्तित थिए कुरेदाइ । सम्झन्छु, सात सालको क्रान्ति शासन परिवर्तन गर्न सफल भयो तर बैतडीका डुम कुरेदाइलाई त्यसले एकरति पनि फरक पारेको थिएन । गाली गरेर काम गराउनेहरूको न बोलीमा फरक आएको थियो न व्यवहारमै ।

कुरेदाइ सिङ्गै दिन घामपानी, चिसो केही नभनी हलो जोत्थे । कहिले त अँध्यारो हुन लाग्दामात्रै उनी हलो र गोरु सबै थन्क्याउन भ्याउँथे । त्यसपछि मकै वा कोदो माग्दा उसमाथि बाजेको स्वर बज्रिन्थ्यो । बाजेको त्यो स्वर सम्झँदा अहिले पनि मन डराउँछ । गहुँ माग्न सक्ने हैसियत त कुरेदाइको छँदै थिएन । उनले गहुँ माग्ने हिम्मत गरेको मैले कहिले थाहा पाइनँ । थाहा छैन, नौनीजस्तै कोमल हृदयकी बजेईले बाजे नभएको मौका पारेर लुकाईछिपाई कहिलेकाहीँ दिनुभयो कि ! परिवारमा मानवीय भावना र दयालु हृदय भएकाहरूको कमी थिएन तर पुरुषप्रधान, निरङ्कुश मानमर्यादाको अधिनायकत्वका अगाडि चुइँक्क बोल्ने हिम्मत कसैको थिएन । अरू त के बाजेको आगमनमा छोराहरू सबै उठ् नुपथ्र्याे । स्त्री जो भए पनि घुम्टो हालेर आँखा अगाडिबाट हराउनुपथ्र्यो । पूर्णिमाको चन्द्रमाजस्तै उज्याली, रूपकी खानी, मृदुभाषी मेरी बजेईमात्रै घुम्टो हालेर यताउता गर्ने हिम्मत राख्न सक्नुहुन्थ्यो ।

परिवारका नारीहरूको सबै समय खाना पकाउने, पानी ओसार्ने र चुलोचौकाको काममै बित्थ्यो । घरमै भुइँतलामागोठ थियो । गाईबाच्छा र एक हल गोरु थिए । तिनको हेरचाहको मुख्य जिम्मेवारी पनि नारीहरूकै थाप्लोमा थियो । पर्सो सोहोर्नमा भने काकाहरूको सम्पूर्ण भूमिका हुन्थ्यो । भान्साको निम्ति आलु खुर्कने (तास्ने होइन) काम गफ गर्दै काकाहरू नै गर्थे । पकाउनमा पनि काकाहरू एकसे एक अभ्यस्त थिए ।

चुलो, गोठ इत्यादि काम नारीहरूकै जिम्मामा पथ्र्यो, मानौँ उनीहरूको सौभाग्य नै यही थियो ! त्यस बेलाको चुलो अहिलेको जस्तो सबै जान मिल्ने पनि त थिएन । हामी सबै बच्चालाई एकएक गिलास दुध पुग्नु त सपनै थियो । यसो पिएजस्तो गर्दा सकिन्थ्यो । अनि हामी ओठको बीचमा केही बेर गिलास घोप्ट्याएर आकाशतिर मुख फर्काउँथ्यौँ । यसो गर्दा निकै बेरमा एकदुई थोपा दुध खस्थ्यो । हामी त्यसमा स्वाद मान्दै खुब रमाउँथ्यौँ । वास्तवमा दुध पिउने होइन, पिएको जस्तो गर्नमात्रै पुग्थ्यो । केही बाँकी दुधको धिनाली (दही) बनाउने चलन थियो । प्रायः सबै दहीको छाँच (मोही) बनाइन्थ्यो । काठको ठूलो बिन्डो (ठेकी) मा मदानी हालेर छाँच बनाइन्थ्यो । दुध हालेर दही जमाउने पारो (सानो ठेकी)बाट बिन्डोमा खन्याइएको धिनाली मदानीमा बाँधिएको नेतीले तानेर घुमाइन्थ्यो । नेतीको दुबै टुप्पामा काठको टुकडाबाट बनेका समात्न सजिलो हुने र सौन्दर्य बढाउने संरचना मेथी हुन्थ्यो ।

बजेई बिन्डोको अगाडि बसेर मेथीमा समातेर नेतीले मदानी घुमाएर छाँच बनाउनुहुन्थ्यो । नौनी हड्पे (काठको सानो ठेकी) माराखिन्थ्यो । बजेईले छाँच बनाउँदा उहाँको हात समाउन पाए म आफूलाई अरू बच्चाहरूभन्दा उहाँको बढी प्यारो सम्झन्थेँ । कहीलेकाहीँ बजेई मेथी मेरो मुठीमा राख्दै एकपल्टमात्र भए पनि तान्न दिनुहुन्थ्यो । त्यो त मेरो निम्ति महानमा पनि अझै महान उपलब्धि हुन्थ्यो । दिनभरि फुरुङ्ग पर्थें । दही मथ्ने काम सकिएपछि कहिलेकाहीँ सबै पारो, बिन्डो, हड्पे सोडा वा साबुनको सट्टा सोत्तर वा रडाइलो नामका पातले सफा गर्ने गरिन्थ्यो । यी सबै ठेकी सानन वा गिट्ठीका रूखबाट बनाइएका हुन्थे ।

गिट्ठीका स्याउला गोरुलाई स्वादिष्ट खानाको रूपमा दिइन्थ्यो । किन हो कुन्नि मेरी आमा वा काकी वा काकाहरू कसैलाई छाँच बनाउन दिएको सम्झना मसँग छैन । बज्यै मलाई आफ्नो नगिचै बसाएर आफ्नो हात समेत समात्न दिएर छाँच बनाउने काममा सहभागी बनाउनुहुन्थ्यो । छाँच प्रायः पलेउ पकाउन र केही मात्रामा पिउन प्रयोग गरिन्थ्यो । मेरो मस्तिष्कमा बैतडीको सम्झना आयो भने बजेईको पूर्णिमाको जूनजस्तो उज्यालो मुहार, नौनीजस्तै नरम बोलीव्यवहार, छाँच र पलेउ एकै पल्ट उत्रन्छन् ।

बेलुका खास गरेर हामी साना बच्चाहरूलाई मात्र अलिकता जाउलो खान दिइन्थ्यो । घरका ठूलाहरू सबै भोकै सुत्न बाध्य थिए, केवल भुटेको एक मुठी चना र एक गिलास पानीका भरमा । केही समय भोकमरीको थियो । जति नै कष्ट भए पनि अहिले सोच्दा घरको वातावरण सौहार्दपूर्ण थियो । नोकर्नीहरूमाथि गरिएको दुव्र्यवहारप्रति आँखा चिम्लिने हो भने अरू घरायसी झगडाको मलाई सम्झना छैन । सबै गाली काम गर्नेहरू खेट्टी र उसकी आमालाई गरिन्थ्यो ।धौली दिदीले त्यसको कति हिस्सा सहनुपथ्र्यो सम्झनामा छैन ।

अरू ठूला मान्छेले झगडाको वातावरण नबनाए पनि हामी बच्चाहरू भने उपद्रो नगरेर कसरी हुर्कन सक्थ्यौँ र ! म र भीम दाजु नामुद थियौँ । के के गरेर हुन्छ म दाजुलाई रिस उठाउँथेँ अनि दाजुले मलाई पिठमा एक दनक दिएपछि दुख्यो भनेर म आमाको अगाडि गएर रुन्थेँ । यसरी म आमालाई पिरोल्थेँ । अनि आमा ‘क्याइ है यी स्या दचकाउने’ भनेर भीम दाजुलाई हप्काउनु हुन्थ्यो । यो सबै चर्तिकलाबाट मेरो मानसिकतामा के परेको थियो भने मलाई केही भए आमा मेरो साथ लिइहाल्नुहुन्छ । यो आत्मविश्वासले मलाई चकचके र छुकछुके हुन निक्कै सहयोग पु¥याइरह्यो ।

एक दिनको कुरो हो सबैले खाना खाइसकेका थियौँ । आमा चुलो पोत्ने र भाँडा माझने काममा तल्लीन हुनुहुन्थ्यो । म र भाइ नन्ददेव (माइला बुबाको छोरो जसलाई भट्टजीमात्रै भन्ने गर्थे) खेल्दै थियौँ । चुलोभाँडो गर्ने ठाउँको एकदमै नगिच कुन कुरामा हो मलाई भाइ नन्ददेव मन परेन । मैले उसलाई एक्कासी छिड्की हानेर ढलाइदिएँ । ऊ लड्यो र चिउँडोले बजारियो अनि निकै चित्त दुखाएर रोयो । एक्कासी त्यहाँ नगिचै भएको डोरीले मलाई आमाले खुट्टामै हिर्काउनुभयो र भन्नुभयो– क्याइ है नानो नानदिनोलाई तस्याई छिड्की लाइवरी ढाल्या ? म एक्कासी रुँदै कुलेलम ठोकेँ । आँगनको पर्खालको कुनोमा गई निक्कै रुन थालेँ । धेरै दुखेरभन्दा पनि आमाले मेरो विरुद्धमा निर्णय लिनुभएकोले मेरो झुटो सोचाइ र विश्वासको पर्खाल पूर्णरूपमा ध्वस्त भएको थियो । मैले जे गरे पनि आमाले मेरै साथ लिएर बचाउनुहुन्छ भन्ने आस्था चकनाचुर भएको थियो । धेरै बेर रिसाएजस्तो गरेर रोइरहेँ तर आमाले अरू केही भन्नुभएन । तुरुन्तै भाइ नन्ददेवलाई उठाएर एउटा सानो थाङ्नामा बसाएर आँसु पुछिदिनुभयो, गाला र टाउको मुसार्नु भयो र के के भनिराख्नुभयो ।

म टाढैबाट झन रिसले चुर भएर हेरीमात्र रहेँ । त्यसपछि भाइ नन्ददेव शान्त भयो र आमा फेरि आफ्नो कामतिर लाग्नुभयो । अनि चुलोभाँडो सकेपछि र नन्ददेव केही नभएजस्तै शान्त भएर एक्लै खेल्न थालेपछि मात्रै आमाले सुरुमा केही नभनेर मेरो हात हलुकासँग समातेर आँगनबाट घरतिर लग्नुभयो । मेरो आँसु पुछ्दै भन्नुभयो, ‘तसो अब कसैलाई जिन गरेँ । छिड्की लाइवरी ढाल्ल नाइँ हुनो, त्यो निको काम नाइँ हो । गट्टो कसैलाई गद्दो नाइँ हुनो, आफू है नानानको कभै ननिको जिन गरेँ… ।’ मेरो रिसमा ठूलो दरार आयो । म भित्री लाजले त्यसैमा आफैँ भासिएँ । अहिलेको जमानामा भए मलाई र भाइ नन्ददेवलाईसँगै राखेर बिस्कुट, चकलेट खान दिनुहुन्थ्यो होला । त्यो थियो अनिकालको समय । हामी बच्चाहरू केही नभए पनि दुई छाक खान्थ्यौँ, ठूलाहरू त सधँै एकादशी मनाएर आफ्नो दैनिक काममा लाग्न बाध्य थिए ।

त्यसपछि म निकै सुध्रेँ । जब म त्यो क्षण सम्झन्छु, लाग्छ मेरी आमा एउटी इमानदार कसैको पक्ष नलिएर इन्साफ गर्ने निष्पक्ष न्यायाधीश हुनुहुँदो रहेछ ।

यो थियो २००८ साल तिरको कुरा । म र भीम दाजु जौ लगाएको खेतमा गएर जौका झुसिला र दुधिला बाला काँचै खाने प्रयत्न गथ्र्यौं । हामीमा त्यति पनि ज्ञान थिएन कि छिप्पिएका जौका बाला पोलेर मात्र ‘उमा’ भन्ने स्वादिलो खाने कुरा बन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button