थाना त थानै हाे, त्याे न प्रजातान्त्रिक, न त सामन्ती

ओहाे, त्याँ त त्यस्ताे विभत्स फाेहाेर छ

अरविन्द रिमाल

अचेल ऊ ‘वर्तमान’ र ‘अतीत’काे अद्भुत् द्वन्द्वमा परेकाे छ- अध्यात्म वर्तमानमाथि जाेड दिन्छ, सांसारिक जीवन- विचार अतीतमा‌ रमाउनमै तम्सिन्छ, भलै त्याे अतीत आफैमा कम दुःखदायी , कष्टकर किन नहाेस्। उसमाथि उसकाे परिवारमाथि निरन्तर सदाशयता वर्षाउने एक मूर्धन्य सन्त महीधराचार्य उसकाे नाम लिँदै: ‘आफ्नाे अतीतकाे कदापि अवमूल्यन नगराैँ, है ! त्याे त तपस्या हाे, तपस्या !’ भन्छन् ।

वर्तमानप्रति नकारात्मता अवधारणा हाेइन, याे । उसले वर्तमानबाट धेरै वरदान पाएकाे छ- बाबुआमाकाे असीम माया- स्नेह, परिवारबाट वर्णनातीत सुख, आफन्तबाट अगाध प्यार, मैत्रीपूर्ण जीवनकाे अटूट गाँठाे, जीवनकाे अर्थ एवम् महत्त्व, संघर्ष तथा त्यागकाे अनुपम राेमाञ्चकता, कम्युनिष्ट हुनाकाे गर्व एवम् सार्थकता, त्यसपछि स्वतन्त्रजीवन यापनकाे अतुल्य गरिमा अनि परम आनन्दतत्त्व प्राप्ति- सद्गुरु एवम् गुरुदीक्षा ! तर आजकाे जस्ताे कलुषित, प्रदूषित, निर्मम,भ्रष्ट, दानवी भई सडेगलेकाे वा गिरेकाे, सम्भवत:, याेभन्दा तल गिर्ने ठाउँ पनि नभएकाे वर्तमानले गर्दा ऊ अतीतप्रति ‘माेहित’ हुन पुगेकाे हाे । त्यसमाथि उसले २०५८ काे असाेज महिनाकाे एक दिन श्रीगुरुदेवबाट बिहानकाे सत्सङ्गमा अभिव्यक्त सन्देश सम्झ्याे, र ‘गुरुवाणी अमृतप्रवाह’ पुस्तकबाट ती वचन सारी हाल्याे: ‘विश्वमा धार्मिक समाजहरुमाे कमी छैन र धर्माचारीहरुकाे पनि कमी छैन ! तैपनि विश्व समाज यति पापी, यति दुष्ट, यति भ्रष्टाचारी किन भयाे ? जिवन्त विषयहरु यसाे गर्नु, त्यस्तो नगर्नु भनेर मात्र सफल हुँदैनन् । त्यसका लागि ती शब्द प्रयाेग गर्नेहरूले इमान्दारी र सज्जनतालाई आफ्नाे जीवनमा आउन दिनुपर्दछ ।’

यत्तिकै चिन्तन गरिरहेकै क्षणमा उसले आफ्नाे बीच ढाडमा कसैले जब्बर घुस्सा हानेकाे पाउँदा ऊ झसङ्ग नै भयाे भन्न पनि कम्ती हुनेछ । यसाे फर्केर हेर्दा, एउटा डरलाग्दाे कालाे अनुहारकाे जीव क्रुद्ध भएर चाेर औंला उतिर ठड्याइरहेकाे थियाे ।

‘के गर्नुभा´ माड्साब, तपाईँले ?’, उसले कडैसँग साेध्याे, नराम्ररी दुखेकाे सहँदै ।

त्याे जीवले आफ्नाे गालीगलाैचकाे ‘समृद्ध’ शब्दकाेशबाट छाडा प्रयाेग गर्दै: ‘तँ, भाेटेकाे लिण्डा खाने ! लाठसा´बलाई जिस्काउने, लाठसा´बलाई !’ भन्याे ।

‘किन र ! के भाे’ र त्यस्ताे ?’

‘अझ बाझ्छस्, तैँले ? लाठसा´बसँग भकभकाएर कुरा गर्‍या हाेइनस् ?’

‘ए, त्यस्ताे भा’ रै छ र !’

उसले सम्झ्यो, ‘हाे त्यस्तै भा’थ्याे !’

२००४ सालमा म्याट्रिक पास गरेबापत लाठसा’ब पूर्वतर्फका कमाण्डिङ्ग जर्नेल बबरशम्शेरकाे बबरमहलमा उसकाे ब्याचका सबै उत्तीर्ण छात्र, तिनताक काेही छात्रा हुँदैनथ्ये, दाम राख्न लगिएका थिए, तीनै काला जीवद्वारा, र ती थिए, छात्रहरुमाथि धम्की ,पिटाईबाट ‘किर्तिमान’ राखेका दरबार स्कूलका भूगाेल पढाउने माष्टर अम्बरेन्द्र बसु, अमरबाबु !

बबरशम्शेरले उसलाई त्यस्तै अलि भकभकाउने बानीले ‘तिमी कस्का छाेरा ?’ भनी साेद्धा तर्सिएर उसले पनि अलि भकभकाएरै बताएकाे थियाे । न बबरले यसलाई अन्यथा लिएका थिए, न त उसले जानाजन कुनै अभद्रता गरेकाे थियाे ।

‘तर अमरबाबुकाे के कुरा ! जान दिउँ’ भन्ने साेच्दै ऊ २००४ सालकाे मंसीरमा एसएलसी परीक्षामा जाँच दिएर २००४ सालकाे पुषमा १३ वर्ष ४ महीना पुगेकाे अरविन्द्रनाथ रिमाल उत्तीर्ण भएकाे लेखिएकाे प्रमाणपत्र पाएकाे छात्रप्रति यस्ताे अनुचित व्यवहारबाट धेरैसम्म आहात भएकाे थियाे ।

प्रमाणपत्रमा मृगेन्द्रशमशेर जङ्गबहादुर राणा, डाइरेक्टर जनरल अफ पब्लिक एजुकेशन तथा हरमणि अचार्यदीक्षित, परीक्षा नियन्त्रककाे सही थियाे ।

म्याट्रिक पास छाेरा बाबुआमाका साथ भाइ कुमारसहित माघ महीनामा जनकपुर लाग्याे, थानकाेटदेखि भीमफेदी ओलिनकाठमा, भीमफेदीदेखि अमलेखगञ्ज बस, अमलेखगञ्जदेखि वीरगञ्ज- रक्साेलवारीसम्म रेलकाे सवारीद्वारा, अनि मुगलान छिछाेल्दै । जनकपुर पुगेकाे केही दिनमै भारतका महात्मा गान्धीकाे जघन्य हत्याबाट ऊ मर्माहत हुन्छ ।सबै वर्णन विस्तारमा उही ‘१९९७ देखि २०१७ साल- एक अवलाेकन’मा !

मीनपचासकाे छुट्टीबाट ऊ घर फर्क्याे । रानीपाेखरी तरिसकेकाेले कलेजमा भर्ना भयाे, IA 1st year– Civics, History English विषय लिएर !

अब उसका दिन, महिना र वर्षका flash backहरु full fast speed बाट दगुर्न थाले– जयतु सँस्कृतम् छात्र संघर्ष,त्रिचन्द्र कलेज विद्यार्थी आन्दाेलन, सरकारी दमन, दमन प्रतिराेध, पद्मशम्शेर संविधान, पद्मविरुद्ध माेहनमण्डलीकाे ‘कू’, भारतकाे कलकत्तैमा अलग मिति र स्थलमा नेपाली काङ्ग्रेस तथा नेपाल कम्युनिष्ट पार्टीको गठन, आखिरी राणा प्रधानमन्त्री ‘श्री ३ महाराज’ माेहनशम्शेरद्वारा पारिवारिक सत्ता बचाउन दिल्लीमा नेपाल सार्वभौमसत्ता समर्पण, तर २००७ काे पञपञ्चकमा काठमाडौँमा २००७ काे प्रजातान्त्रिक क्रान्ति प्रारम्भ घाेषणा पर्चावर्षात, राजा त्रिभुवन भारतीय दूतावासमा राजनीतिक शरण, अनेक राष्ट्रिय -अन्तर्राष्ट्रिय चलखेल, त्रिपक्षीय दिल्ली सम्झाैताबाट क्रान्ति सम्पन्न, विश्वेश्वरप्रसाद काेइरालामाथि घातक हमला, सिँहदरबार फुटबल काण्ड चिनियाँ काजी हत्या, उसकाे पहिलाे गिरफ्तारी, संयुक्त राणा-काङ्ग्रेस सरकार विघटन, मातृकाप्रसाद काेइराला नेतृत्वमा एकल नेकां सरकार, प्रत्यक्ष शाही शासन प्रारम्भ, नेकाँ विखण्डन, माप्र काेइराला राष्ट्रिय प्रजा पार्टी सरकार ।

यति उल्लेख गर्दागर्दै पनि ऊ २०१० सालमा त हाे तर कुन विषयमा एउटा अर्थपूर्ण कालखण्डीय नाटककाे अन्तिम परेदा खस्ने भन्ने निर्क्याैल गर्नसकेकाे थिएन ! मनमा त कता कता खेलेकाे तर लिपिबद्ध हुन नसकिरहेकाे समयमा ऊ तेस्राेपटक हनुमानढाेका पुलिसथानामा जाकिनुकाे एक दिन साँझ अनाैठाेसँग ‘प्रजातान्त्रिक’ पुलिसथानामा दुई वर्गशत्रुमाझ ‘साैहाद्रता’काे कथा बन्न वा घट्न पुगेकाे !

थाना त थानै हाे, त्याे न प्रजातान्त्रिक, न त सामन्ती हुनसक्छ, तर परिस्थिति जनाउन, याे आवश्यक भएकाे हाे भनी आफैँले आफूलाई सम्झायाे, उसले ! अर्थात्,याे २०१० सालकाे कुरा हाे, महिना उसले बिर्स्याे ! यही घटनाकाे सेराेफेरामा याे कथा अब यसरी अघि बढ्दै छ ।

२००६ सालतिर भरतशम्शेर ‘र्‍याडिकल’ राणाको रूपमा चर्चित थिए र उनका अभिन्न मित्र ‘आधुनिक विचारका भनिने युवा प्रोफेसर ऋषिकेश ।’ गृहमन्त्री विप्र कोइरालामाथिको घातक हमलाबाट भरतशम्शेरको नाम गिर्नुसम्म तल गिरिसकेको थियो । त्यसैले गर्दा उनले लप्टनको होटेलमा प्रवेशको सम्मान कहिल्यै पाउन सकेनन् । तर उनका पिता जर्नेल मृगेन्द्रशम्शेरलाई चाहिँ लप्टनको होटेलको चिया खाने चासो उतिविघ्न नभए पनि त्यसको ‘फेनोमेना’ जान्ने रहरचाहिँ रहेछ । तर सोध्ने कसलाई ? ऋषिकेश शाहसँग सोध्नु त ‘मान-प्रतिष्ठा’को कुरा हुनेथ्यो । रोचक कुरा के भने सो रहर उनले उसैबाट मेट्ने मौका पाए । मातृकाप्रसाद कोइरालाको दोस्रो प्रधानमन्त्रित्वकाल २०१० सालतिरको कुरा हो । वाकीटकी राखेको अभियोगमा गोर्खा परिषद्का नेता जर्नेल मृगेन्द्रशम्शेर राणा हनुमानढोका पुलिसथानामा थुनिए । यसलाई सरकारी पक्षले निकै सनसनीदार बनाएर मानौँ गोर्खा परिषद् फेरि कुनै ‘कू’को तयारी गर्दैछ भन्ने जस्तो गरी प्रचार गर्यो । ऊ पनि कुनै अभियोगमा समातिएर फेरि त्यही खोरमा जाकिएको थियाे ।

पुलिसथानाको दोस्रो तल्लामा उनीहरु दुईकाे जम्काभेट भयो । एक-अर्कालाई त्यहाँ देख्दा दुबैजना झस्किए । केही समयपछि दुबै स्वाभाविक मनस्थितिमा फर्किए । साँझ पर्‍याे अनि रातमा त्यही कोठामा सँगसँगै उनीहरुकाे ओछ्यान बिछ्याइयो । थानामा सुत्न दिइने कोठाका पलङ्मा उडूस, उपियाँ त मामूली नै भयो तर अहिलेको खुला चर्पी त पहिलाको रौरव नर्कलाई पनि माथ गर्ने भएको रहेछ । पीडित राणा जर्नेलको हाल कसले जानोस् ? यस्तो बन्दोबस्त त विचरा उनैका ‘बुबा महाराजहरु’का पालादेखि नै चल्दै आएकाे हाे । कमसेकम एक जना घरानियाँले त देख्याे यस्ताे नारकीय जीवन भन्ने लाग्याे, उसलाई ।

नारकीय जीवनकाे भाेग !

रात जसाेतसाे कटाए हाेलान्, जर्नेलले । उसकाे त यस्ताेमा बानी परिसकेकाे थियाे । बिहानकाे चियाकाे साैगात उनैबाट प्राप्त भयाे । अनि ऊ यसाे तलतिर जाने तरखर गर्दा जर्नेलले उसलाई अड्याएर एउटा बलेकाे सुगन्धित धूप दिए । उसले अनायास उनैसँग अङ्ग्रेजीमा साेध्याे, ‘But, what for, GeneralSahib ? (किन र याे धूप, जरसा`ब?) अघिल्लाे रातै उनीहरुबीच अङ्ग्रेजी भाषामा कुराकानी शुरु भइसकेकाे थियाे, सम्बाेधनकाे तटस्थ लाभका कारण । याे सुन्दा पुलीस कम्पूहरु त झनै चकित परेका । खुँखार कम्युनिष्ट पनि अङ्ग्रेजी बाेल्न जान्ने देखेर हाे क्या र ! जर्नेलले बडाे अकमकाउँदै भने, ‘Oh it’s so horrible, there! (ओहाे,कस्ताे विभत्स फाेहाेर दुर्गन्ध छ, त्याँ´ त !)

उसले भन्याे, ‘Wouldn’t this fragrance make the smell more horrendous!? (याे बास्ना मिसिँदा त दुर्गन्ध अरु खपिनसक्नु हुन्न र ?)

‘Yes, yes! How true! That would exactly be so! (हाे, कस्ताे ठीक भन्नुभाे`, यहाँले !)

ऊ धूप नलिइकनै तल गयाे ।

(क्रमश:)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button