सज्जनवृन्द ! शुभप्रभात, उहाँ श्री अरविन्द रिमाल हुनुहुन्छ ​

‘रिमालजी, ‘साेभियत भूमि’लाई अब कसरी साँच्चि नै नेपाली पत्रिका बनाउने हो, तपाई नै जान्नुहोस् । अहिलेसम्म त यो भारतीय-नेपाली पत्रिका रहेको थियो । अनि अन्त्यमा ‘Well, all the best to you’ (ल त, तपाईलाई सफलताको हार्दिक शुभकामना ।) And now, I will take you to your room and introduce you with your Indian collegues’ (कोठामा जाऔं, र तपाईका भारतीय सहयोगीहरूसँग भेट- परिचय गराउँ) भन्दै फेरि प्रेमपूर्वक हात मिलाउनुभयो । बीचको बरण्डाले सम्पादक र अबउप्रान्त उसकाे अर्थात उनीहरुकाे काेठालाई छुट्याउँथ्यो ।

बन्द कोठाको ढोकामा दुईपटक ट्वाकट्वाक औंलोले हिर्काएपछि बेनुखले आफै ढोका खोलेर ‘Well gentlemen, Good Morning to you all. Let me introduce Mr. Arvind Rimal to you, He is your new Nepali colleague. He is a young man with quite a fame behind him but new to our office, so please help him. Thank you.’ (सज्जनवृन्द, शुभप्रभात । उहाँ श्री अरविन्द रिमाल हुनुहुन्छ । निकै ख्याति पाइसक्नुभएका व्यक्ति हुनुहुँदो रहेछ । तर, हाम्रो अफिसमा काम गर्न आउनुभएका नयाँ मानिस हुनुहुन्छ । कृपया ! उहाँलाई मद्दत गर्नुहोला । धन्यवाद) भनेर उसलाई एकएक गरी हिन्दी, मलयाली, तमील, तेलेगु, कन्नड भाषामा छापिने ‘सोभियत भूमि’ पत्रिकाका अनुवादकहरूसँग परिचय गराए । उनीहरूमा एकजना मलयाली समाचार बुलेटिनका अनुवादक पनि थिए । यसरी हिन्दीका सुरेन्द्रकुमार शर्मा, मलयालीका एम.एम. राजेन्द्रन तथा सिद्धरन, तमीलका गिरी, कन्नडका कृष्णैया र तेलेगुका सेट्टीसँग हात मिलायाे, उसले । यसपछि बेनुख उसलाई त्यहीं छाडेर गए ।

ऊ अलि नर्भस भएर केही बेर टोलाएको जस्तै भएर उभ्भिरहेको थियाे । सबैजना उसलाई एकटक लगाईकन हेरिरहेका थिए । त्यो हेराई, अनि त्यो हेराईमा मिसिएको केही रोष, केही कौतूहलताको भेउ उसले उत्तिखेरै पाइहाल्याे । यत्तिकैमा फेरि ढोका खोलेर एकजना अलि वयस्क, निधारमाथिको कपाल अलि खुइलिएको, ठीक्कको कदका देख्दैमा भलाद्मी, गोरा चेहराका व्यक्तिले ‘तपाई रिमालजी ? म शिवप्रसाद उपाध्याय,’सोभियत भूमि’को प्राविधिक सम्पादक’ भन्दै आफूलाई चिनाएर हात मिलाए । अनि ‘मिस्टर बेनुखले हिजो मलाई तपाई आजका दिनदेखि काममा आउनुहुने, र तपाईंलाई पत्रिकाको काम बताइदिन भन्नुभा’थ्यो । हामी एकछिन यहीं बसौं, ल’ भनेर कोठामा रहेको एउटा खाली मेच सार्दै उसलाई मेच- टेबुल देखाइदिए । उनी काठमाडौंको त होइन, तर कुन ठाउँको भन्ने छुट्याउन उसलाई गाह्रो परिरहेको थियो । उनको उच्चारणबाट उनी पूर्व झापातिरका हुन् क्यारे भन्ने लाग्यो, उसलाई । दुवै जना सँगसँगैजसो बसे उपाध्यायजीले उसलाई नेपालीमा गर्नुपर्ने अनुवादका अंग्रेजी लेखहरू दिए ।

‘यी कागज र कलम यहाँ छन् र डिक्शनरीहरू पनि’ भनेर उनले आफू दिउँसो ११ बजेतिर आएर साँझ ५-६ बजेसम्म काम गर्ने आफ्नो दैनिक रुटिन भएको पनि बताए । अर्थात् त्यसदिन उनी उसँग भेट्न छिटाे आएका रहेछन् ।

‘लौ त, म आफ्नो कोठामा लागे, फेरि भटिहालिन्छ नि’ भनेर उनी गए ।

यसबीच ऊ आफ्ना नयाँ साथीहरूलाई आ-आफ्नो काममा व्यस्त भएकाे देखिराखेको थियाे । उपाध्यायजी गएपछि ऊ एक्लो पर्याे ।

Part 4

ऊ उपाध्यायले दिएका लेखहरु हेर्न थाल्याे । टेबुलमाथि दुइटा डिक्शनरी रहेछन्– पुष्करशम्शेर जङ्गबहादुर राणाको अंग्रेजीबाट नेपालीमा र अर्को भार्गवको अंग्रेजीबाट हिन्दीमा । नयाँ साथीहरू उतिर पल्याकपुलुक्क हेर्दै थिए भने ऊचाहिँ आफ्नो नयाँ कामको जिम्मेवारी बुझ्नमा घाेत्लियाे । उनीहरुका लागि डिक्शनरीकाे जरुरत नै रहेन छ । कसैले त्यसको प्रयोग गरेको देखेन, उसले । उसलाई चाहिँ आवश्यक अनुवादकको काम त भाषण गर्नु र ‘नवयुग’मा लेखहरू लेख्नु जस्ताे थिएन । के ऊ नयाँ कामकाे विश्वास- योग्य हुँला ? ऊ यति नर्भस त आफ्नो एसएलसी होस् वा बीए कुनै जाँचमा पनि पहिले कहिल्यै भएको थिएन ।

यसबीच उसले आफ्नो प्यान्टको बगलीबाट पानामा चुरोट र सलाइको बट्टा झिकेर टेबुलको घर्रामा राख्न त्यसलाई खोले । घर्राभित्र मिस क्षेत्रीले छाडेर गएकी केही नासोहरू रहेछन्– स्यानो पाकेर रुमाल, रित्तिन लागेको खुला लिपस्टिक, केही खुद्रा सिक्काहरू । त्यतिन्जेलसम्म काेठामा केही मित्रहरूले खाएको चुरोटको धुवाँ र धुवाँबाट निस्कन गन्धपट्टि उसकाे ध्यान गएकै थिएन । अब एकजना मित्रलाई किमती अमेरिका चुरोट ‘लक्की स्ट्राइक’ खाइरहेको देख्याे । त्यसको स्वादसँग ऊ पूर्वपरिचित थियाे । अनि उसले पनि घर्राबाट आफ्नो पानामा चुरोट झिक्याे, सल्कायाे र धित मर्नेगरी तानेर धुवाँ बुङ्ग फाल्याे । तर, मित्रहरूसँग उसकाे कुराकानी भने शुरु भएको थिएन । उसले कलम उठायाे, कागतका ताउहरू आफ्नो सामुन्ने राख्याे, देब्रेतिर अनुवाद गरिनुपर्ने अंग्रेजी लेख । उसले कामको श्रीगणेश भने गरेको थिएन । यतिकैमा कोठामा अरु शाखाका सहयोगीहरू एकएक गरी आँउदै ऊ कतै चिडियाखानामा राखेको कुनै नयाँ जन्तु हाे कि भन्या जस्तै गरी उसलाई हेर्न थाले । अनि उनीहरू पल्याकपुलुक्क उतिर हेर्दै अरु साथीहरूसँग कुरा गर्दै वा कसैसँग चुरोट मागेर सल्काउन थाले । बीचबीचमा कुनै न कुनै सहयोगी साथी तलको क्यान्टिनबाट चिया कोठामा मगाउने गर्थे । त्यसदिन उसले ‘फुल सेट’ भनेर मगाइएको चिया पहिलो पटक खायाे । बीचबीचमा उपाध्यायी आएर ‘ठीक छ, रिमालजी ?’ भनी सोध्थे ।

उसले अन्ततः आफ्नो कामको थालनी गर्याे । त्यो अन्तर्राष्ट्रिय विषयको कुनै लेख थियो । कलम हातमा पर्नासाथ उसले आफूलाई नयाँ स्फूर्तिमा पायाे– एक-एकगरी उसकाे पहिलाको नर्भसपन हट्दै गयो । ऊ धमाधम चुरोट खाँदै काम गर्दै गयाे । अनुवादको शैली र विधि पछिपछि सुधारिएला, अहिले त आफूले जानेबुझे अनुसार अनुवाद गर्नुछ भन्ने लाग्यो र उसलाई ।कोठाको शुरुशुरुको चीसोपन पनि हट्दै गएकाे थियाे ।

(भोल क्रमशः)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button