
‘तिमी हामीले भनेको टेर्दैनस् ? अनि खान्छौ भात’
बीरबहादुरको स्वतन्त्रता
प्रहलाद दवाडी
लिङ्गमो, दक्षिण सिक्किम, भारत ।
बीरबहादुरले जङ्गलको बाटो तल सोमबारे दोकानबाट एक बोरा चामल नाम्लोमा बोकेर एक झोला सौदा हातमा झुण्डाएर बल गरेर सडकमा उक्लियो । सडकका भित्तामा भारी बिसाएर खुई गर्दै टुप्पीसम्मको ठूलो निधार सुम्सुम्यायो । हातभरी पसिना लागेर चोर अम्लाले सोरेर फ्याँक्यो । साँझ परिसकेको थियो, कति बेला घर पुगेर खाना पकाउन दिनु, गाइको धन्दा पनि गर्नुछ ।
त्यति नै बेला उता बाटोबाट एउटा सेतो गाडी आएर ठप्प रोकियो । बीरबहादुरले गाडी चिनेन । गाडीवालाले पैसा पो दिन्छन् कि भनेर हतारहतार बीरबहादुरले नमस्कार गर्यो ।
गाडीबाट एउटा कालो चश्मा लगाएको मान्छेले सोध्यो, ‘के को भारी बोकेको ?’
बीबहादुरको मनमा धेरै कुरा उम्रिन थाले । सोच्यो, ‘दुःख बिसायो भने पैसा पाइन्छ होला, भोलि स्वतन्त्रता दिवस नानीहरूसँग मनाइन्छ ।’
‘चामल हो हजुर, तल दोकानबाट फिरिको चामल ।’
‘कति जनाको ?’
‘हजुर ७ छोरा, ३ छोरी गरेर जम्मा १२ जनाको ६० केजी पाउँछ, सरकारले देको ।’
‘बाजे, हो त्यो चामल हामीले दिएको फिरिमा । हामीले बाँडेको हो । छोराछोरी जन्माउन त बीर रहेछौ त । चामलकै लागि जन्मायौ कि क्या हो ? (गाडीभित्र जोडले हाँस्छन्) अनि छोरी छोरा कत्रा कत्रा छन् ?’
‘बर्सेनिका हुन्, सानु छ बर्षको अनि ठूलो १६ बर्षको ।’
‘अनि के गर्दैछन् ?’
‘पढ्दै छन् स्कुलमा ।’
‘तिमीले चै कति पढेको ?’
‘पढेको भा त किन नई, दुक्खले पैसा चै चिन्छु । पढेर पनि के गरी खान्छन्, आफूसहित छोराछोरीको थाप्लो भरी ॠण छ ।’
‘विचरा बाजे, अनि अरू के के ल्यायो त ? तिमी जस्ता सिधासाधा जनताको निम्ति त पाँच सय रूपिया पनि दिएको छ दोकानमा, ल्यायौ ?’
‘होइन हजुर, चामल मात्र पाउँछ ।’
‘त्यो चामल त्यही छोडेर जाऊ, पैसा थापेर लिएर आऊ ।’
बीरबहादुरलाई विश्वास लागेन, एकमा कहिले पनि नसुनेको कुरो, अर्को सदादिनको साहुले नठग्नु पर्ने ।
‘हजुर, दोकान टाडो छ, जंगलको बाटो, घर पुग्न पनि अँध्यारो हुन्छ, भोलि स्वतन्त्रता दिवस हेर्न जानु छ, उतै भेट्छु कन्जुमरे माईला ।’
‘भोलीको मुख्य अतिथि मै हुँ । त्यो दोकानमा तिम्रो लागि कपडा पनि दिएको छ, यो चामल पट्टा यही छोडेर लिएर आऊ, जाऊ ।’
बीरबहादुरले पत्याएन, जान मानेन ।
‘होइन, भोली नै जाँउला ।’
कालो चस्मा लाउनेले गाडीबाटै ठूलो स्वरले करायो, ‘तिमी हामीले भनेको टेर्दैनस् ? खुरुक्क गईहाल । नत्र यो पाउँदै गरेको चामल पनि काटिएला अनि खान्छौ भात ।’
चामल काटिने डरले जबरजस्ती पत्याउनु पर्ने र जानु पर्ने अवस्था आयो । बीरबहादुर चामलको बोरा त्यही छोडेर सडकबाट ओर्लेर दोकानतिर लाग्यो । अलिक तल पुगेपछि गाडी गएको चाल पायो र फनक्क फर्किएर ऊ सडकको डिलमा उक्लियो, गाडी नदेख्दा ऊ खुशी भयो । घर जानलाई छिटो छिटो चामल बिसाएको ठाउँमा गयो, तर उसले चामलको बोरा भेट्टाएन । धेरै छामछाम छुमछुम गर्यो तर कहि भेट्न सकेन । बीरबहादुरलाई झाडा पिसाब आउला जस्तो भयो, बान्ता आउला जस्तो भयो । रिङगटा लाग्यो र भुई समातेर थचक्क बस्यो । उसको अचेतन सपनामा स्वतन्त्रता दिवसको हल्ला आइरहेको थियो । उसका नानीहरु भोकै भुईमा लडिरहेका थिए अनि माथि झण्डा फहराइरहेका थिए ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



