
काठमाडौंमा राहुल साँकृत्यायन
साँकृत्यायनबारे थप केही
अरविन्द रिमाल
‘नेपालनाम्चा’मा सुविख्यात भारतीय परिव्राजक साहित्यकार स्वनामधन्य राहुल साँकृत्यायनका सम्बन्धमा सुशीला शर्माकाे सुन्दर परिचय प्रस्तुति पढ्दा आनन्द लाग्याे । अनि २००८-९ सालमा दुई पटक उनीसँग निकट सान्निध्य पाएका घटना सम्झनामा आए ।
त्यसाे त नेपाल कम्युनिष्ट पार्टीका संस्थापक- महासचिव पुष्पलालकाे कलकत्ता काडर भएर काठमाडौँ फर्केर प्रगतिशील अध्ययन मण्डल खाेल्दा नै राहुलजीसँग विशेषगरी उनका ‘भाेल्गा से गङ्गा तक’ बाट नै परिचय भइसकेकाे थियाे । त्यसपछि गाेविन्दप्रसाद लाेहनीबाट उनकाेबारेमा थप परिचय पाइयाे– अरु प्रसिद्ध रचनाहरुद्धारा !
‘भागाे नहीँ, दुनियाँकाे बदलाे !’ उनकाे एउटा रचना त हामी तिनताकका कम्युनिष्ट कार्यकर्ताका लागि एउटा प्रमुख नारा बनिसकेकाे थियाे । हाम्रा टाेले अग्रज श्यामदास वैष्णव– प्रिय श्यामदाइले त बराबर यही नाराकाे महत्त्व बताउँदा झन आनन्द हुन्थ्याे ।
२००८ सालकाे एकदिन हामीले राहुलजी पत्नी कमलाजीसहित काठमाडौँ आउनुभएकाे खबर प्रगतिशील अध्ययन मण्डलकाे नियमित दैनिक कार्यक्रमकाे बेला लाेहनीजीबाट पायाैँ । उनलाई नेपाल साँस्कृतिक संघकाे कालीकास्थानस्थित कार्यालयमा स्वागत- प्रवचन गराउने विचार सुझ्याे । नेसाँसका सहायक सचिव मित्र चन्द्रधर उप्रेतीमार्फत साे कार्यक्रम सुसम्पन्न पनि भयाे जसमा सँघका अनेक सदस्यहरुसहित श्यामदाइ, लाेहनी गरी हामी ठूलै संख्यामा भेला भएका थियाैँ । अत्यन्त मिलनसार, मृदुभाषी एवम् प्रखर वक्ताकाे भाषण विषयकाे व्यापकता तथा गहनताका कारण, अर्थात् सँस्कृति र साहित्यकाे अनन्य सम्बन्धका कारण अत्यन्तै प्रभावशाली थियाे । आफ्ना माझ युवाहरुलाई पाउँदा राहुल दम्पती दुवै नाैजवान भएका थिए । हामी त त्यसै पनि गद्गद् थियाैँ– यस्ता सुविख्यात मनीषीहरुलाई स्वागत- भेट गर्न पाउँदा ।
दाेस्राे भेट हाम्राे आफ्नै प्रख्यात डिल्लीबजारकाे लप्टनकाे हाेटलकाे नामले अत्यन्तै साधारण भइकन पनि हामीलाई शानदार लाग्ने चियापसलमा भएकाे थियाे– प्रगतिशील अध्ययन मण्डलकाे तत्त्वावधानमा । धेरैसँग पहिला नै चिनिएका पुराना युवा मित्रहरुलाई एक वर्षपछि उत्साहजनक वातावरणमा पाउँदा राहुल दम्पतीकाे प्रसन्नता स्वत: स्पष्ट भएकाे आज पनि यस लेखकलाई अनुभूत भइरहेछ ।
राहुलजीकाे अन्वेषण-अनुसन्धान नेपाल यात्रा राणा प्रधानमन्त्री चन्द्रशम्शेरकाे पालादेखि भएकाे ठानिन्छ । यसमा सहायक आफैँ पनि विद्वान् रहेका प्रभावशाली सल्लाहकार माहिलागुरुज्यू हेमराज पाण्डे रहेका थिए । फलस्वरूप ,राहुलजीकाे अनेक पटक तिब्बत – भाेट यात्रा उनैकाे साैजन्यबाट काठमाडौँ हुँदै सम्पन्न भएकाे थियाे । राहुलजी पनि यसप्रति समुचित आभार व्यक्त गर्न पछि परेनन् । तर काठमाडौँ भ्रमणकालमा उनी सुविख्यात कम्युनिष्ट साहित्यकार भइसकेका थिए ।
यस्ता प्रख्यात प्रगतिशील साहित्यकार तात्कालिक भारतीय कम्युनिष्ट राजनीतिमा महासचिव बी. टी. रणदिवेकाे चरम जडसूत्रवादी ‘वामपन्थ’वादका शिकार बनी उनका साहित्यिक बेरिया डा. रामविलाश पाण्डेकाे काेपभाजन बने । राहुलजी ‘संशाेधनवादी’काे डाम लगाईए, पार्टी तथा भारतीय प्रगतिशील लेखक संघबाट निकालिए । तिनताक अनेक लब्धप्रतिष्ठ साहित्यकारहरु त्यसैगरी अपमानित भई निकालिएका थिए ।
यसपछि राहुलजी स्वतन्त्र वामपन्थी साहित्यकारकाे रूपमा प्रतिष्ठित रहे । उनी आफ्ना गहन रचनाहरुद्धारा कालजयी भए ।
‘नेपालनाम्चा’काे साैजन्यबाट उनकाबारे आफ्ना निजी सान्निध्यचर्चासहित श्रद्धासुमन अर्पण गर्न पाउँदाकाे आनन्द मित्रजनमा बाँड्दै सबैमा जय नेपालकाे अभिवादन !
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



