श्रीमानको आर्थिक अवस्था जस्तो होस्, गहना त चाहियो नै

सुप्रिया खनाल

मानव जीवन पनि अचम्मको छ । हुँदै नहुँदा पनि चित्त बुझाउन सकिन्छ अनि भएपछि त्योभन्दा बढी आशा राखिन्छ । यो त हरेक मानवको स्वभाव नै हो ।

हिजोआजको मोर्डन जमाना अनि यो मोर्डन जमानामा राम्री त सबैलाई बन्न पर्ने । राम्री बन्नका लागि सबैभन्दा अगाडि कुरा आउँछ गहनाको । गहनामा पनि सुन । त्यही भएर होला सुनको भाउ पनि तोलाको १ लाख पुगिसक्यो ।

आर्थिक स्थिति जति नै कमजोर होस् तर गहना लगाउने इच्छा सबैको हुन्छ । अरु त के कुरा मेरी आमालाई घर चलाउन एकदम गाह्रो छ तर उहाँ भन्नुहुन्छ, ‘नानी घाँटीमा १ तोलाको मङ्गलसुत्र बनाएर लगाउने मेरो इच्छा त यसपाली पनि पुरा नहोला जस्तो छ ।’

कसैको बिहे होस्, सबैभन्दा अगाडि गहनाकै कुरा । बिहेको खर्चभन्दा बढी त गहना बनाएर नै सकिन्छ । तीज आयो गहना । दशैं आयो गहना । तिहार आयो गहना । हे भगवान ! अहिले त हुँदाहुँदा सामाजिक सञ्जालमा समेत गहना देखाएर प्रस्तुत हुने ट्रेन्ड नै चलिसक्यो ।

एक दिन लगाएर दराजमा सजाएर राख्नको लागि किन यत्रो खर्च ? कसैको बिहेमा निम्तो आउँछ, श्रीमान जान नपाउँदा ‘म जान भ्याइन, तँ यसो पुगेर आइजो है’ भनेर श्रीमतीलाई भन्दा श्रीमतीको जबाफ हुन्छ, ‘जान्नँ म त । दुनियाँ गहनाले ढकमक्क भएर आउँछन् । आफ्नो भने घाँटीमा एउटा सिक्री समेत छैन ।’

किन बुझ्दैनन् नारीको गहना भनेको सुन्दर र सुशील स्वाभाव हो । श्रीमानको आर्थिक अवस्था जस्तो होस् गहना त चाहियो नै । दुनियाँ जति नै विकसित भए पनि यति बुझ्न सकेका छैनन् मान्छेले कि गहना लगाएर, महँगा कपडा लगाएर प्रतिष्ठित हुने होइन । राम्रो हुनका लागि सभ्य बानी व्यवहार आवश्यक पर्दछ ।

गहना लगाउनु नराम्रो होइन तर आफ्नो स्थिति हेरेर चल्नु सबैभन्दा ठूलो कुरा हो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button