
फेसन गर्न र पोजपोजको फोटो लिन मन पराउँछु
भावना संगीतप्रेमी
प्रेम केवल आत्मानन्द हो । कोहि फूल रोपेर रमाउँछन् त कोहि फूल फुलेको हेरेर वा टिपेर रमाउँछन् । कोहि पाएर रमाउँछन् त कोहि गुमाएर पनि रमाउँछन् । मन रमाउन सकेन भने त्यहाँ प्रेमको कुनै औचित्य बाँकी रहँदैन । प्रेममा केवल खुशीको श्रोत हुन्छ । ग्लानी, दुख, पछुतो, ईर्ष्या, लालच, हानी, नोक्सानी वा वासना मिसिएको प्रेम हुन सक्दैन ।
मलाई मेरो कामसँग प्रेम छ । मेरो मोबाइलसँग पनि माया छ । मलाई फेसबुकसँग पनि प्रेम छ । र, फेसबुकका साथीहरूसँग पनि प्रेम छ । म सबथोकसँग रमाइरहेको छु । प्रेम वा माया आध्यात्मिक विषय हो । आध्यात्ममा आत्मानन्दको श्रोत हुन्छ । कति कुकुरप्रेमीहरू मान्छे ढाडमा कुकुर बोकेर पनि रमाएका हुन्छन् । प्रेम आत्माबाट प्रष्फुटित असीम आनन्दको अनुभूति हो ।
धेरै पहिला मैले गुमाइसकेका मेरा बाबा, आमा र ठुली दिदी सम्झेर अझै पनि खुसी हुन्छु । मेरा पुरानो परिवार, जोसँग मेरो आज कुनै नातै छैन तर पनि सम्झेर अझै म आनन्दित छु । हो, म उहाँहरूलाई अझै पनि प्रेम गर्छु, मभित्र अझै पनि त्यो परिवार, त्यो समाजको मुटुभरी माया छ । म सम्झिरहन्छु । सानोमा पनि म बुवासँगसँगै बोटबिरुवा खुब रोप्थें । गीत सुन्ने, सुन्न नपाउँदा आफै गाउने, लेख्ने गर्थे र आज पनि गरिरहेको छु ।
खोलाखोल्सा, जंगल र पाखा घुम्न मनपराउँथे । अहिले पनि मलाई मन पर्छ र त्यस्तै ठाउँमा घुम्न, गीतहरु सुन्न, सुन्न नपाउँदा आफै गाउन, लेख्न, हिँड्दाहिँड्दै अनि काम गर्दा पनि गीत गाउँदै नाच्दै उफ्रिदै हिँड्न अनि फेसन गर्न, पोजपोजको तस्बिरहरू लिन अझै पनि मन पराउँछु । सबैको आ-आफ्नो जिउने र रमाउने तरिका हुन्छ । कसैको व्यक्तिगत जीवननलाई हस्तक्षेप नगरौं, कसैले कसैलाई चोट पुग्ने काम नगरौं, अथवा खिल्ली उडाउने काम नगरौ, सबैको भलो चिताऊँ । नराम्रो भन्ने केही हुन्न, नराम्रो त हाम्रो सोच मात्र हो ।
विश्वस्त छु कि म गीत, संगीत अनि प्रकृतिप्रेमी रहेछु । मलाई यस्तै लागिरहेको छ कि मभित्र माया र स्नेहको खानी रहेछ अनि त तपाईहरूसँग प्रेममा छु, मायामा छु । तपाईहरूको फेसबुकको उपस्थितिले पनि मेरो निम्ति खुसी भईदिएको हुन्छ । प्रेम वस्तु-व्यक्तिपरक रुपले फरक छैन । किनभने आनन्दको कुनै प्रकार नै हुँदैन ।
लामखुट्टेले टोकेको ठाउँ कन्याउँदा जति आनन्द आउँछ, टोकिरहेको लामखुट्टेलाई प्याट्ट मार्न पाउँदा पनि उत्ति नै आनन्द आउँछ । यसमा पनि प्रेम छ । हामी सबै प्रेमको श्रोत हौं । कसैलाई विश्वासघात नगरौं । कसैको भावनासँग नखेलौ, झुठो नबोलौं । हाम्रो मनका आखामा सेतो सफा चश्मा लगाउने गरौं । हामी सबैसंग प्रेम गर्दै जाऊँ । अझ धेरै आनन्दका श्रोतहरू खोज्दै जाउँ ।
प्रेममा हराइरहौँ, सधैंभरी मुस्कुराइरहौं ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



