जेन्डर ‘जार्गन’ र महिला-पुरुष समविकास

प्रतिभा सुवेदी

विकास कार्यकर्ताहरूबीच अंग्रेजी शब्द ‘जेन्डर’ परिचित हुँदै थियो तर हामीले बुझ्ने मौका पाएका थिएनौं । बालिका र महिलाले सदैव डराएर त्रसित भएर हिड्न हुँदैन र उनीहरुमा आत्मविश्वासको विकास हुन पर्दछ भन्ने धारणाले कामचाहिँ गर्दथियौं । नारी वर्ष मनाइएको अवसरमा म स्नातक तहको विद्यार्थी थिएँ । महिला विकासका विषयहरु रेडियोमा समाचार भएको थियो अनि यस क्षेत्रमा काम गर्ने विचार आयो ।

तत्कालिन महिला विकास शाखाको स्थापना भएको थियो स्थानीय विकास मन्त्रालयअन्र्तगत । उपसचिव चाँदनी जोशी थिइन् । त्यस शाखाकी हाकिम म कलेजमा अध्ययन गर्दा अंग्रेजीकी प्राध्यापक भएकी रहिछिन् । मलाई काम गर्न मन छ भने आऊ भनेर मौका दिइन् । म प्रोजेक्ट मेनेजरका रुपमा काम गर्न खटाइएँ र दिलोज्यान दिएर काम गर्न थालेँ । नेपालको गाउँ–गाउँ हिडेर काम गर्न पर्दथियो र त्यो मेरा लागि नेपाली महिलाको वास्तविक जीवन बुझ्ने मौका थियो । त्यति बेलासम्म ‘जेन्डर’ शब्द त्यति चलनमा आएको थिएन ।

त्यसपछि विकासमा महिलाहरूको संलग्नताका कुरा उठे पनि उनीहरुको भूमिकालाई उपेक्षा गरिएको इस्यु चर्चामा आयो । अनि नेपाली समाजमा विकाससँग जेन्डर शब्द पनि आयो । हामीले पनि ग्रामीण महिला–पुरुषमाझ ‘महिलाको आत्मविश्वासको विकास’ शिर्षकमा महिलाको भूमिका, काम, महिलाका कामको गणना आदिबारे छलफल गर्न थाल्यौं । किन जति काम गरे पनि महिलाहरुका काम गणना हुँदैनन् जस्ता प्रश्न उठाउन थाल्यौं । त्यही रहेछ ‘जेन्डर एन्ड डेभलपमेन्ट’ भन्ने पछि अध्ययन गर्न गएपछि थाहा भयो ।

पहिलोपल्ट २०५० सालमा मैले पनि ‘जेन्डर एन्ड डेभलपमेन्ट ट्रेनिङ’मा भाग लिने मौका पाएँ । प्रशिक्षकहरु क्यानडाबाट आएका रहेछन् । एउटा घट्ना सम्झन्छु । प्रशिक्षकले हामीलाइ ‘यो’ शब्दबारे तपाईहरुलाई के ज्ञान छ भनेर सोधिन् । हामीमध्येका एकले उत्तर दिए । उनले भने, ‘सानोमा पढ्दा जेन्डर तीन किसिमको हुन्छ । ती हुन स्त्रीलिङ्ग, पुलिङ्ग, र नपुसंक लिङ्ग ।’ त्यो सुनेर प्रशिक्षक रिसाइन् । उनी थिइन् क्यानेडियन विदुषी । हामीजस्ता विकास कार्यकर्ता यो शब्दसँग त्यति अनभिज्ञ छन भन्ने उनलाई अनुमान भएन । प्रशिक्षक र प्रशिक्षर्थी दुवैको दोष थिएन ।

त्यो बेलासम्म ‘जेन्डर’ शब्द विकासविद्हरूको बीचमात्र परिचित थियो उनीहरुले चलनचल्तीमा ल्याएको ‘जेन्डर’ को नेपाली रूपान्तरण ‘लैंगिक’ले ठीकसँग अर्थ लगाउँदैन र भाव पनि बुझाउँदैन । हामीकxfF भने अनुवाद गर्दा यसको भावार्थमा लैंगिक समानता शब्द प्रयोग गरिएको छ । त्यसकारण नै यो शब्दको अर्थ नेपालीमा लगाउनुपर्दा विभिन्न उदाहरणहरू प्रस्तुत गर्नुपर्दछ ।

मलाई पनि विद्यालयमा समयमा पढ्दा जत्तिको बाहेक यो शब्दको विशाल अर्थ थाहा थिएन । विकासको जगतमा पनि अनेक ‘जार्गन’हरु आउन थालेको देखियो । जस्तो जेन्डर, सशक्तिकरण आदिआदि । यी विषयहरुमा ज्ञान हाँसिल गर्ने अभिलाषा आयो । क्यानडाको नोभस्कोसीया भन्ने स्थानमा सेन्ट फ्रान्सिस् जेभियर यूनिभर्सिटीको एक शाखाको रुपमा सामुदायिक विकासमा संलग्न मजस्ता व्यक्तिहरुले अध्ययन गर्न पाउने संस्थाबारे थाहा पाएर अध्ययन गर्ने कोशिस गरेँ । २०५५ सालमा क्यानडामा सोसल डेभलपमेन्टको ६ महिनाको कोर्स अध्ययन गर्ने मौका पाएँ । अध्ययन गर्न मन भए कुनै उमेरले छेक्दैन । मलाई पनि त्यति बेलामात्र अध्ययन गर्न जान अनुकुल भयो । छोराहरु स्कूलका विद्यार्थी जो टिन एजमा थिए उनीहरुलाई लामो समयका लागि छाडेर जान सक्दैन थिएँ । जब उनीहरुले १२ कक्षा पास गरे, त्यसपछि बल्ल मैले पुनअध्ययन गर्ने विचार गरेँ ।

त्यस समयको अध्ययनपछि मलाई विकासको जगतमा आएका जार्गनहरुसँग डर लाग्न छाड्यो । जस्तैः जेन्डर भन्दा महिलापुरुष समविकास शव्द सान्दर्भिक लाग्यो । यता मैलै २०५९ सालमा ‘महिला–पुरुष समविकास’ पुस्तक प्रकाशन गर्न पनि सफल भएँ । हामीजस्ता विकासमा संलग्न कार्यकर्ताले सरल तवरवाट बुझ्न कठिन परिवेश थियो । मलाई जस्तै अरुलाई त्यस्तो नपरोस भन्ने पनि लाग्यो । पुस्तकहरु अंग्रेजीमा मात्र उपलब्ध हुने । जेन्डर तालीम पनि केही ‘विज्ञ’हरुको कमाई खाने भाँडो जस्तो थियो । ठिक शब्द खोज्दै जाँदा कतिपय पश्चिमा विश्वविद्यालयहरूमा महिला–पुरुष र विकास ( जेन्डर एन्ड डेभलपमेन्ट) पनि भन्ने गरिएको पाएँ र म पनि विश्वस्त भएर जेन्डरको सट्टा महिला–पुरुष सम विकास प्रयोग गर्न थालेँ । २०५९ सालमा प्रकाशित आफ्नो पुस्तकको शिर्षक पनि ‘महिला–पुरुष सम विकास’ नै राखेँ । वास्तवमा ‘महिला–पुरुष समविकास’ नै जेन्डरको भावानुवाद हुनसक्छ । यो अवधारणाको उद्देश्य पनि महिला र पुरुषको समविकास प्रक्रिया नै हो ।

महिला–पुरुष समविकासको परिभाषाले महिला–पुरुष, धनी–गरिब, विभिन्न जाति र समुदायबीचको सम्बन्ध, भूमिका र योगदानको विश्लेषण गरेर यथास्थितिको जानकारी राखी ती सबैबीच शक्ति सम्बन्धमा सकारात्मक परिवर्तन गर्न मद्धत पु-याउदछ । शक्तिको उपभोग समानताका आधारमा गर्नु भनेको एकले अर्कालाई दबाउने र अधीनमा राख्ने भन्ने होइन । महिला र पुरुषका केही आवश्यकता भिन्न पनि छन्, केही समस्या भिन्न पनि छन् । महिला र पुरुषका आ–आफनै महत्व छन् र विशेषताहरु छन् । तसर्थ दुवै समान रुपमा अगाडि बढन पारस्परिकता वृद्धि गर्नैपर्दछ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button