
केपी ओलीले बिराएकै बाटोमा माधव नेपाल बरालिए
विचार आ-आफ्नोः समसामयिक राजनीति र नेताको भूमिका
कविता केशरी
नेपाली राजनीतिमा सत्ता सञ्चालन कौशलभन्दा बढी खुट्टा तान्ने प्रवृति हावी भयो । राजनीतिमा देखिने किचोलका कारण स्थिरता आउन सकेन । नेतृत्व वर्गमा कुनै त्यस्तो उच्च सोच देखिएन जसले गणतन्त्रको गुणस्तर थेग्न सकोस् । नेपालमा राजनीतिलाई पेशाका रुपमा अपनाइयो । राजनीतिमा पसेर केही कमाउनु रमाउनु पर्छ भन्ने सोचको युवाहरूमा प्रभाव पर्यो । ठेक्कापट्टा, कमिसन, कर छलीजस्ता विषयहरू भित्रभित्र फैलिएर गए । जात र धर्मका आधारमा वर्ग बन्यो ।यसले पनि राजनीतिलाई असर गर्यो । राज्यलाई एजेन्डामा राखेर छलफल हुन सकेन ।
नेपाली राजनीतिमा पटक पटक असफल ब्यक्तित्वहरू सत्तामा घुमिरहेको अवस्था छ । सैद्धान्तिक रूपमा फरक मत विचारबाट प्रारम्भ भएको एमाले नेताहरूको वादविवाद माधव नेपाल पार्टीको महासचिव बनेका समयबाट झन विकसित भयो । माधव नेपालको काम गराइबाट असन्तुष्ट केपी ओलीले पार्टीभित्र आफ्नो प्रभाव जमाउन शक्तिका रुपमा गुटको विकास गरे । त्यही शक्तिशाली गुटका सहायताले उनी सफल भएर पार्टीको नेतृत्व पनि हात पारे ।पाटीमा शक्तिशाली देखिएँ भन्ने लागे पनि केपीले चुनावी नतिजाबाट आफ्नो पार्टीलाई बहुमत प्राप्त दल बनाउन सकेको थिएन । बडो बुद्धिमानी तरिकाले माओवादी केन्द्रसँग एकिकरण गरेर पार्टीलाई चुनावी आधारमा सबैभन्दा ठूलो दल बनाउन सफल भए ।
सत्ता सञ्चालन सन्दर्भमा केपी ओली आफूले तयार गरेको गुटका पञ्जामा च्यापिए । गुटले दायाँ बायाँ गर्न दिएन । पार्टीका सबै जिम्मेवार ठाउँमा र देशका प्रमुख पदजति सबैमा गुट भर्ना गरे । उनीसँग भएका अन्य दुई शक्ति प्रचण्ड र माधवलाई उनले समेटेर लान सकेनन् । यहीबाट उनको राजनीति धरापमा पर्दै गयो । असन्तुष्ट दुई शक्तिले उनलाई दुख दिइरह्यो । अन्त्यमा उनले आफ्नो गुट लिएर चुनावमा जाने निर्णय गरेर पार्टी भङ्ग गरे । माधव नेपालाई कार्वाही गरे । सदन भङ्ग गरे । प्रमजस्तो संवेदनशील पदबाट यस्ता काम गरिएपछि गुटबाहेक सबै जनता तथा अन्य दलहरू समेत ओलीसँग रुष्ट भए । सदन भङ्ग गरिएपछि सबै जनप्रतिनिधिहरू समेत उनीसँग रिसाए । ओलीले गरेका कामहरू असंवैधानिक हुन भनी अदालतबाट पटक पटक उनका विरुद्धमा फैसला भयो । यत्रो राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका मानिस गुटिय राजनीतिक सँस्कारबाट माथि उठ्न नसक्नु, एकिकरण भएको दल र माधव नेपाललाई समाल्न नसक्नु ओलीको ठूलो कमजोरी देखियो । आफ्ना पार्टीले सत्ता सञ्चालन गरिरहेको पनि हेर्न नसकेर अन्य शक्तिसँग मिलेर ईगो छ भन्दैमा, आफूले पद पाइन भन्दैमा कुटनैतिक ढङ्गले पार्टीलाई सत्ताबाट च्युत गराउन सहयोग गर्ने माधव नेपालबाट पनि देश, जनता र पार्टीले केही पाउँदैनन् भन्ने कुरा जनताले राम्ररी बुझेको छ ।
सबै नेताहरूले आफ्ना विचारहरू फराकिला बनाएर आफूलाई होइन, देशलाई केन्द्रमा राखेर काम गर्ने बानी बसाल्न सके राजनीतिले स्थिरता पाउला ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



