‘पोइल जाओ केटी हो’

अचेल रुपा सुनार र सरस्वती प्रधान प्रकरण सामाजिक संजालमा भाइरल छ तर यो नौलो विषय होइन । यो भन्दा दर्दनाक कथा धेरै छन् । किन सम्बोधन भएनन् ?

समविकास

प्रतिभा सुवेदी

त्यो तालिम अवधिभर हामी महिलाहरु अरुले बनाई तुल्याई दिएको दालभात तरकारी खान र दुखसुखका कुरा गर्न पाएर खुसी थियौ । तर, कुरा दुखकै बढी थियो । खासगरी झमकुमारीको कुराले मनै झम्झमायो ।

ओखलढुँगाका ग्रामीण महिलाहरुका लागि महिला विकासका विषयमा जानकारी गराउने तालीम गर्न पर्ने भएपछि त्यहाँको हस्पिटलमा काम गरिरहेकी एक जर्मन महिला नारी चेतना केन्द्रमा हामीलाई भेट्न आईन । हामीले जाने निधो गर्यौं । पहिला पटक म र शान्ता श्रेष्ठ गयौं भने दोस्रो पटक मसगं सृजना शर्मा गईन् । त्यहाँका ग्रामीण महिलाहरुका लागि यूनाईटेड मिसन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम संचालन गरेको रहेछ । विभिन्न गाविसका महिलाहरुलाई युनाईटेड मिसनको हस्पिटल भएको स्थानमा बोलाइएको थियो । टाढा टाढाका गाविसहरुबाट आएका हुँदा त्यहीँ सँगै बस्ने व्यवस्था मिलाईएको थियो । दिनभर तालीम हुने गर्दथियो भने बेलुका हामी सँगै बसेर कुराकानी गर्ने गर्दथ्यो ।

स्थानीय ग्रामीण महिलाहरुले आ–आफना कथा सुनाए । झमकुमारी सार्र्कीले आफनो अनुभव यसरी यसरी व्यक्त गरेकी थिइन् ।

किन आईमाइ भएर जन्मिएछ नि !

‘दुवै दिदीबहिनी जवान भइसक्यौ । तिमीहरुको विहेको कुरा त्यति सुनेको छैन, कोही माग्न आएका पनि छैनन् ? अहिलेसम्म बिक्ने भएनौ कि क्या हो ? बरु पोइल जाओ केटी हो’, त्यसो भन्नेहरु कति कति !

‘अहिलेलाई त ठिकै होला तर लाहुरबाट तिमीहरुको दाजु र भाउजुहरु आएपछि तिमीहरुलाई लघार्छन है लघार्छन्’, त्यसो भनेर तर्साउनेहरु पनि धेरै थिए ।

‘बुढी पनि भैसक्छौ, कहाँ जाउला हँ त्यति बेला ?’, छिमेककी एकजना पाकी महिलाले हाम्रो भविष्यको चिन्ता गर्दथिन् ।

विभिन्न तवरबाट एक प्रकारको त्रास देखाउने र मनमा भय जगाई दिन्थे ।

सुरुसुरुमा त माया गरेर भनेझैं पनि लाग्थ्यो ।

यी सबै कुरा सुनेर किन आइमाई भएर जन्मिइएछ भन्ने लाग्थ्यो । छोरा भएर जन्मिएको भए त मनमा यतिको त्रास लिनु पर्ने थिएन, विवाह भएन भनेर छरछिमेकीलाई समेत धन्दा पर्ने थिएन । जहाँ जान मन लागे पनि घरबाट फुत्त हिँड्न सकिन्थ्यो ।

दाजुहरु भने लाहुर गएका रहेछन् किनकी उनीहरु त छोरामान्छे भए । तर उनी र बहिनी भने गाउँमा नै थिए । बिहान झिसमिसेदेखि राती अबेलासम्म काम गरेको ग¥यै गर्दा पनि भ्याउँदैनौ भन्छिन झमकुमारी । धनबहादुर सार्कीका परिवारमा ३ छोरा ३ छोरी, २ बुहारी र बुढाबुढीसहित १० जनाको परिवार रहेछ ।

जेठा र माहिला छोरा आ–आफना जहानसमहित कामको खोजीमा भारत गएका रहेछन् । तीभन्दा मुनिकी छोरी विवाहित । अहिले घरमा झमकुमारी, उनकी एक बहिनी र एक भाई छन् । झमकुमारी २० वर्ष उमेर अनि उनकी बहिनी त्यतिबेला १८ वर्षकी । घरबारीको काम, ज्याला, पर्म गरी जीविका चलाएका रहेछन् ।

’बुबाले खाने चामल नहुँदा, समयमा बाली लगाउन नसक्दा, विरामी पर्दा र चाडवाड टार्न साहुसँग ऋण काढेका रहेछन् । अहिलसम्म ऋण भने चोखै तिर्न बाँकी छ, बालीपिच्छै कोदो फलेको समयमा ५० पाथीमा २ पाथीको र ५० पाथी धानमा २ पाथीको दरले ऋणको व्याज बुझाउन पर्छ’, उनले सुनाइन् । ऋणचाहिं दाजुहरु लाहुरेबाट आएर तिर्लान कि भनी ठानेकी छन् उनले ।

घर चलाउने जिम्मेवारी र साहूको ऋण सम्झेर अतालिएका बेला दाजुहरुलाई चिठ्ठी लेख्न मन लाग्थ्यो तर उनले पढेकी थिइनन् । गाउँमा प्रौढ कक्षा खुलेपछि पढने मौका पाइछन् । प्रौढ कक्षा संचालन भएपछि उनले पटक पटक गरी ६ महिना दोहोराएर पढिन् । त्यति गरेपछि बल्ल आफनो नाम लेख्न र कनीकुथी पढ्न सक्ने भएको बताईन । पढ्ने इच्छा तीब्र हुनको कारण दाजुहरुलाई घरको हालतबारे पत्र लेख्नसक्ने हुनु थियो । तर, पढेपछि अब विकासको काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा पनि लागेको उनले बताइन् ।

उनले टुटेफुटेको भाषामा पत्र लेख्न थालेकी छन् । भनिन् ‘करीब ६ घण्टाको बटो हिंडेर ओखलढुँगा आएर चिठ्ठी पठाएँ, जवाफ भने कहिले पाइनँ । कति पटक चिठ्ठी लेखेर खसाउन गएँ । फेरि केउरेनी खोलामा बाढी आउँदा बाटोमा पर्ने गाउमा बास बस्न पर्छ । जातले सार्की भइयो जहाँतहिं बास पाउन गाह्रो छ । उनी भन्दै थिइन्, ‘हाम्रो यहा त तल्लो जातलाई बहुत निन्दा गर्छन् ।’

जिल्ला सदरमुकाम जाँदा जातकै कारण बास पाउन कठिन थियो र झमकुमारीको अनुभवकथा त्यस्तै दारुण । ‘सबभन्दा समस्या बास बस्ने ठाउँको हुनेरहेछ’, उनले एकहोरो आफ्नो कथा भन्दै गरिरहिन र म सुनिरहेँ अवाक् परेर । उनले थपिन्, ‘हाम्रो आमाबाबुका पनि जोरीपारी धेरै छन्, हामीले बाबु र आमा पालेर बसेकोमा डाहा गर्छन्, यी बुढाबुढीको विजोग हेर्न हामीलाई बूढीकन्या नबस, बरु पोइला जाओ भनी उकास्छन् । फेरि कसैले भने धनबहादुरका छोरा त तिमीहरु पो रहेछौ । छोराहरुले के लछारे र पनि भन्छन् ।’

त्यतिबेला चाहिं झमकुमारीलाई राम्रो काम गरेकी रहिछु भन्ने लाग्छ रे । कुराको सिलसिलामा भन्दै थिइन्, ‘हाम्रो जातमा मनमिलेको केटासँग गएर घरबार बसाउन पनि सकिन्छ, बाबु आमाले दाईजो दिन नसक्दामा विवाह नै नहुने त होइन तर विहे गरेकी दिदीलाई पनि सुख छैन । त्यो देख्दा त्यसै मन मर्छ । त्यसमाथि म नभए यी भाई, बहिनी र बाबुआमाको मुखमा माड लाग्दैन ।’

शारीरिक परिश्रम र मानसिक दुःखका कारण उनीहरुमा आत्मविश्वासको कमी थियो । कैयौं नेपाली छोरीहरु सामाजिक रुढीवाद र आर्थिक अभावको शिकार भएका छन् । झमकुमकुमारीलाई आफू वरिपरीको संसारबाहेक अन्यत्रको परिस्थितिबारे के थाहा ? कमाई खानसक्ने, परिवार पाल्नसक्ने, आफनो खुट्टामा उभिएका समर्थ व्यक्ति भएर पनि यस्ता झमकुमारीहरु अझै आफ्नो पाखुरामा बाँचेकोमा गर्व गर्न सकिरहेका छैनन् । यी अवोध युवतीहरु, यी परिश्रमी केटीहरुलाई कमाई खाने आफ्नै शक्तिको ज्ञान छैन । यी युवतीहरुले अवसर पाए अझै कति कर्मठ हुने थिए होलान् ? तर, हाम्रो समाजले बाँच्नका लागि विवाहलाई नै आधार ठान्दछ ।

अचेल रुपा सुनार र सरस्वती प्रधान प्रकरण सामाजिक संजालमा भाइरल छ तर यो नौलो विषय होइन । यो भन्दा दर्दनाक कथा धेरै छन् । किन सम्बोधन भएनन् ?

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button