
विद्यार्थी बुझाईः शिक्षामा कोभिड असर
विश्वमा हाल ८२ करोड ५० लाख विद्यार्थी पढाई-लेखाईबाट प्रभावित छन् ।
संवाद बस्नेत
कक्षा ११, सातदोबाटो, ललितपुर
विश्वलाई आज कोभिड १९ को महामारीले स्तब्ध बनाएको पनि लगभग डेढ वर्ष भयो । आजसम्म कोभिड १९ ले लाखौंको ज्यान लिएको छ र अझै भयावह हुन सक्ने स्थिति छ भनेर विज्ञहरुका भनाई पनि सार्वजनिक हुन्छन् बेला बेलामा । सबै क्षेत्रमा असर गरेको कोभिडले शिक्षा क्षेत्रलाई पनि बाँकी भने राखेको छैन । विद्यालय भनेको विद्यार्थीहरु, सिकारुहरुका लागि सामाजिक अन्तरकृया गर्ने थलो हो । अझ भन्नुपर्दा विद्यालयले एकअर्कासंग सम्बन्ध बनाई सामाजिकीकरणमा सहयोग पनि पुर्याउँछ ।
सन् २०१९ नोभेम्बरमा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरस नेपाल आइपुग्न पनि धेरै समय लागेन् । नेपालमा देखिए लगत्तै सम्पूर्ण क्षेत्रहरु बन्द भए र देशमा लकडाउन भयो । फलस्वरुप केही समयका लागि शिक्षा आदानप्रदान गर्ने विधि रोकियो । हामीलाई वैकल्पिक उपाय खोज्न केही समय लाग्यो र आजको दिनसम्म पनि तिनै बैकल्पिक माध्यमबाट हामी शिक्षा आर्जन गरिराखेका छौं । बीचमा केही समय स्थिति नियन्त्रणमा आएको हुनाले शैक्षिक संस्थाहरु सुचारु गरे पनि कोरोनाको दोश्रो संस्करणले हामीलाई घरैमा बस्न बाध्य बनायो । यसले हामी विद्यार्थीहरुको पढाई लेखाईमा भने बढी नै प्रभाव पारेको छ । सरकारले पनि सबैभन्दा जोखिम क्षेत्र विद्यालय पनि एक हो भनेर विद्यालय भौतिक रुपमा सञ्चालन गर्न नपाउने नियम बनाएको छ । हुन पनि कोरोना भाइरस नै त्यस्तै छ भीडभाडबाटै एकअर्कोमा सर्ने । यो परिस्थितिले शिक्षा दिने र लिने दुबै पक्ष मर्कामा परेका छन् । एक अध्ययनले बताए अनुसार विश्वमा हाल करिब ८२ करोड ५० लाख विद्यार्थीहरु पढाई लेखाईबाट प्रभावित भएका छन् ।
कतिपय विषयहरु अनलाईनका माध्यमबाट पढ्न त्यति प्रभावकारी नभएको र भौतिक उपस्थिति सम्भव नरहेकोले प्रभावकारी पढाई र सिकाईमा पनि अप्ठेरो परेको छ । सहरीया क्षेत्रमा प्रायःको हातमा मोबाईल फोन र ईन्टरनेटको सुविधा भएकोले पढ्न खासै अप्ठेरो नहोला तर सबैतिर उस्तै अवस्था रहँदैन् । दुर्गम क्षेत्रमा पढ्ने विद्यार्थीहरु जसलाई विद्यालय व्यक्तिगत विकास र वृद्धिको लागि सहायक हुन्थ्यो । तर, डेढ वर्षदेखिको विद्यालय बन्दले उनीहरुको सिकाईमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको छ । कति ग्रामिण भेगमा राम्ररी बिजुली बत्ती पुगेको हुँदैन् । त्यहाँ हामीले कसरी अनलाईनको माध्यमबाट पढाउने ? शिक्षकहरुलाई पनि बानी नभएकोले विद्यार्थीले नबुझ्ने, पढाईमा समस्या आउने हुन्छ । त्यही माथि हाम्रो देशमा बत्ती र ईन्टरनेट बेला बेलामा नचल्ने, निभिरहने हुनाले पढाएको कुरा छुट्ने गर्दछ । यसरी अव्यवस्थित ईन्टरनेटको पढाईले विद्यार्थीले पढेको कुराहरु विर्सने, दिमागमा नरहने जस्ता समस्या पनि देखिईरहेका छन् ।
हुनत हामीले बैकल्पिक शिक्षालाई अप्नाएर नै अगाडि बढ्नुपर्ने छ । अनलाईन शिक्षा प्रणालीलाई नै पनि संयमित भएर, रेकर्ड गरेर ध्यान दिएर पढ्नुको विकल्प तत्कालको लागि अरु छैन् । यो शिक्षा पद्दति ग्रामीण, दूरदराजका विद्यार्थीमाझ कसरी पुर्याउने, शिक्षकहरुले पनि यो पद्दतिबारे तालिम लिने गर्नु आजको आवश्यकता भएको छ । यसमा शिक्षा क्षेत्रसँग सम्बन्धित निकायहरुले योजनाहरु ल्याएर अगाडि बढ्नुपर्ने हुन्छ । हामी विद्यार्थीहरुले चाँहि परिस्थितिहरुलाई बुझ्दै सिक्ने र पढ्ने काम जारी राख्नुपर्ने हुन्छ । शिक्षा आर्जनको यस बैकल्पिक उपायलाई पनि सकारात्मक ढंगले लिएर पढ्दै अगाडि नबढ्ने हो भने त फेरि हाम्रो करियर र गतिशिल भविष्य पनि कमजोर हुन जानेछ । विद्यमान शिक्षामा बैकल्पिक उपायहरु पनि खोजिदै र अप्नाईदै जानेछन् । ध्यान दिएर पढ्न र नबुझेका कुराहरु शिक्षकवर्गहरुसंग सोध्न र छलफल गर्न नछोडौं । आशा गरौं यो कोरानाकाल छिट्टै हराएर जानेछ । अनि हामी विद्यार्थीहरुले प्रत्यक्ष अन्तरकृया गरेर पढ्न लेख्न पाउनेछौं ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)