कर्म गर, फलको आशा नगर
ब्राह्मणपुत्रको लकडाउन डायरी–६५
भरत शर्मा
के तपाईले श्रीमद्भगवतगीता अध्ययन गर्नुभएको छ ? साथीसंगातीमा भेटेका मित्रहरुलाई सोध्ने गर्छु । सबैले गीता पढेर एउटा कुरा मात्र बुझेको छु भन्ने गरेका छन्, ‘कर्म गर फलको आशा नगर ।’
यो श्रीकृष्णले अर्जुनलाई दिएको एउटा उपदेश हो । जन–जनको मनमा गीताको यही वाक्यले छोएको छ । तर, वास्तवमा श्रीमद्भगवतगीताको ज्ञान कसैले पढेर पनि नसक्ने, बुझेर, जानेर र ब्याख्या गरेर नसक्ने शास्त्र हो ।
बर्षा ऋतुमा हरेक दिन बर्षा भइरहेको छ । वर्षाले पु¥याएको क्षति सुनेर, पढेर मनमा दुःख छाएको छ । एकातिर महामारीको पिरलो अर्कोतिर बर्षाको चपेटामा रहेका बेला हामी भित्रको आत्मिक शक्ति बलियो बनाउनका लागि श्रीमद्भगवत गीताका उपदेश पढ्दा मन हलुको हुन्छ ।
कलिकालमा यस्ता महामारी र समस्या विगतमा पनि आएका थिए । अहिले पनि भोगिरहेका छौं, भविष्यमा पनि यस्ता महामारी आउने छन् । त्यसैले यस्ता समस्यासँग जुध्नका लागि हामी सधैं तयार हुनुपर्छ । महाभूकम्प, महामारी र अहिले आइरहेको प्राकृतिक विपत्तिहरु सहन सक्ने क्षमता हामीसँग हुनुपर्छ । विषय विपत्तिहरु आइ नैंै रहन्छन् ।
आज श्रीमद्भागवत गीताको बारेमा लेख्न खोजिएको होइन । संसारका सबैभन्दा बढी भाषामा अनुवाद भएको र सबैभन्दा बढी पढिएको गीताको बारेमा लेख्न ठूला सन्त महन्तहरुले जीवन अर्पण गरेका छन् ।
हामीले गीता पढेर बुझेको एउटै कुरा हो, ‘फलको आशा नराखी कर्म निरन्तर गरिरहनु ।’
आजको शनिवार नेपाली साहित्यका बारेमा लेखौं भनेर लागेको विहानैंदेखि गीता अध्ययनमा रुचि जागेर आयो । कसैको आदेश र निर्देशनमा होइन, लेखकले मनमौजी चिन्तनधारामा बगेर लेख्नुपर्छ ।
‘भगवान मलाई सधै दुःख दिनुहोस्’, यो कुरा मैले भनेको होइन हैं । श्रीकृष्णका परम मित्र–शिष्य अर्जुनकी आमा कुन्तीले भनेकी हुन् । ‘कुन्तीस्तुति’ श्रीमद्भागवत महापुराणमा पढ्न पाइन्छ ।
‘हे भगवान जिन्दगीभर दुःख दिनुहोस्, सुख कहिल्यै नदिनुहोस् ।’ कालिकालको समयमा यस्तो भन्ने कोही मानव भेटिदैन तर पनि मानिसले दुःख नपरोस् भनेर कामना गर्दागर्दै पनि दुःख पछिपछि आइरहेको हुन्छ । किन कुन्तीले जीवनमा दुःख मात्र आइपरोस् भनेकी होलान् ? शनिवार बिहानदेखि चिन्तन गर्दै थिएँ ।
हरेक शनिवार बिहान पिपलको बृक्षको दर्शनका लागि जाने गरेको महिनौं भयो । दर्शनपछि मनमा निकै आनन्द आउँछ । आज विहान वर्षा हुँदा पनि त्यो क्रम रोकिएन । बिहान न्यूरोडनजिक रहेको महाँकाल मन्दिर अगाडिको पिपलको वृक्षमा फेरो लगाउने सोच भयो ।
त्यहाँ एकजना महिला (अनुहारमा मास्क लगाएको) ४० कटे जस्तो थियो । उनी पिपलको बृक्ष परिक्रमा गर्दै विलौना गर्दै थिइन्, ‘भगवान ! मलाई कति दुःख दिन सकेको ? मैले कहिलेसम्म दुःख भोग्नु पर्ने हो ? उनको आँखाबाट खसेको आँसुले मुखमा लगाएमो माक्स भिजेको थियो । म अलि टाँढा बसेर दृश्यलाई नियाल्दै थिएँ ।
उनीसँग केही कुरा गरौं कि भनेर अघि सर्दासर्दै त्यो दृश्य देखेपछि म पनि भावुक भएछु । वृक्ष परिक्रमा गर्दै थिएँ, उनी एकैछिन पछि कता अलप भइन्, चारैतिर हेरेँ देख्दै देखिनँ ।
कुन्तीले जीवनमा सधै दुःख र विपत्ति आइपरोस् भनेर भन्नुको कारण भनेको सधै भगवानको स्मरण गर्न पाइने भएर हो । यो कलिकालमा सुख भोग्नेहरुले हाम्रो मेहतन र परिश्रमले गर्दा हो घमण्ड गर्छन् । दुःख भोग्नेहरु भगवानलाई स्मरण गर्न खोज्छन् तर विधि र नियम पुग्दैन । उनीहरु एकोहोरो भगवानको नाममा विलौना मात्र गर्छन् । सुख भोग्नेहरु यो त कर्मको फल हो भन्छन् । दुःख भोग्नेहरु हामीलाई मात्र किन दुःख दिएको भनेर आक्रोश व्यक्त गर्छन् । यी दुवै भगवानका भक्त हुँदै हुँदैनन् ।
सनातन शास्त्रले भनेको छ, दुःख र सुखमा समान रुपले भगवानको स्मरण गर्दा नै फल हुन्छ ।
आज धेरै आर्दशका कुरा मात्र भयो भन्दै सम्पादक झन्किने भए । शनिवार साहित्यको विषयमा लेख्नु भनेको थिए । तर साहित्य लेखे जस्तो भयो बरु दर्शनका कुरा बढी भयो भनेर मजाले कैंची चलाउने भए । लेख लेख्नुको मज्जा नै बेग्लै छ । लेखको आत्मा बुझेर शव्दहरुका विन्यास मिलाउने काम सम्पादकको हो ।
‘साहित्य लेखन, समाचार लेखन र विचार लेखनमा फरक विषयहरु हुन्छन्’, शनिवार बिहान नेपालनाम्चाका सम्पादक श्रीमद्भागवत गीताको सार भन्दै थिए, ‘कर्म गर्ने हो, रोप्ने हो, गोड्ने हो, शब्द केलाउने हो, निरन्तर अभ्यास गर्ने हो । फल कहाँबाट कहिले, कसरी आउँछ भन्नेतिर नलाग्ने हो ।’
उनलाई ‘तपाईले गीता पढ्न भएको छ’ भनेर सोध्न मात्र लागेको थिएँ, उनैले गीताको एउटा श्लोक भन्न खोजे तर बीचमा अड्किए । त्यतिबेला मैले पनि श्लोक भुलेजस्तो गरी गललल हाँसो भरिदिएँ ।
अहिलेको समय नैं दुःखको सागर जस्तो भएको छ । दुःखका मात्र कुरा लेख्ने हो महाभारत जस्तो ग्रन्थ लेख्न सकिन्छ । तर दुःखभित्र सुख लुकेको हुन्छ भन्ने कुरा शास्त्र अध्ययन, चिन्तन, मनन र श्रवण गरेपछि मात्र थाहा लाग्छ ।
सनातन शास्त्रमा दुइ ग्रन्थ छन्– श्रीमद्भगवत गीता र श्रीमद्भागवत महापुराण दुवै ग्रन्थ कहिल्यै पढेर नसकिने, सुनेर नअघाउने, मनन र चिन्तन गरेर नसकिने तर त्यसभित्रको एउटा मात्र श्लोक र एउटा मात्र कथा सुन्दा श्री प्राप्त भएको अनुभव हुने शास्त्रको सहारामा पुग्नेहरुले जीवनमा जस्तै दुःख आइपर्दा पनि दुःख उनीहरु सुखी नै हुन्छन् ।
कुन्तीले स्तुति गरेजस्तै हे भगवान मलाई जीवनभर दुःख मात्र दिनुहोस् भन्नेहरुलाई स्वागत छ ।
जसले दुःखको कामना गर्छ, उसभित्र सुख प्राप्त हुन्छ । किनकी ऊभित्र भगवान–भक्त संवाद भइरहेको हुन्छ ।
त्यसै हाम्रा महान नाट्यसम्राट बालकृष्ण समले लेख्नुभएको होइन नि ?
दुःखीका घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर, दयाँ राखी मलाई अझ दुःख दे ।
हामी पनि यही पुकारा गरौं, भगवान हामीलाई कहिलेसम्म, कति र कस्ता दुःख दिनुहुन्छ, हामी सहन गर्न तयार छौं । जय श्रीकृष्ण !
आज शनिवार श्रीकृष्णको गाथा गाएँ । साँझ पाशुपत क्षेत्रमा गएर शिवजीलाई एउटा प्रश्न सोध्न मन छ, हामीलाई दयाँ राखी कहिलेसम्म दुःख दिने हो ?
उत्तरचाहिँ भोलि लेख्नु पर्ला । कसो सम्पादकज्यू !