
भजन सुनौं न यार !
ब्राह्मणपुत्रका लकडाउन डायरी–५२
भरत शर्मा
माटोको विछौना, माटोको सिरानी
मिल्नु छ, माटोमा नै बनेर खरानी ।
श्यामदास खरेलको रचना, संगीत एवं गायन धर्मदास बुढाथोकीले स्वर दिएको यो भजनलाई मेरा संगीत गुरु अर्जुन शर्मा गौतमले शनिवार विहान भाव, लय र संगीतको धुन भरेर गाएको सुन्दा मन चङ्गा भयो ।
भजन सुन्दै गर्दा शनिवार मुख्य समाचार के रहेछ भनेर एकसरो शीर्षक पढेँ, समाचार पढ्ने मन भएन ।
१) तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्
२) पहिरोले मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो ।
३) रोङ्सी नदी खुलाउन चिनियाँ टोली सक्रिय, तामाकोशी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह ।
तीनैवटा समाचार दैवीप्रकोपको रहेछ । यस्ता धेरै समाचार थिए तर म समाचारतिर हैन माथिको भजन सुनेर मग्न भएँ । आज त शनिवार हो । त्यसैले आज समाचार भन्दा पनि साहित्य र भजनतिर मन लागाउनु पर्छ भनेर समाचार पढ्न, हेर्न, सुन्न छोडेर भजन सुनेर दिन बिताउने सोच भयो ।
…
मेलम्ची नदी उर्लेर आउँदा त्यहाँका स्थानीय बासिन्दाहरुको माटो कटान भयो, घरभित्र माटो प्रवेश ग¥यो । आफ्नो आँखा अगाडि सुन्दर सपनाको घरमा माटोले भरिएपछि त्यो मन कस्तो भयो होला ?
पछिल्लो दिनमा सबैभन्दा दर्दनाक कथा मेलम्चीको छ । काठमाडौंवासीहरुका लागि ‘मेलम्ची’ नाम प्यारो छ । दुई दशकदेखि मेलम्चीको पानी खाउने आश गरेका उपत्यकावासी केही समय पहिले मेलम्चीको पानी आउँदा खुसीले दश वित्ता उफ्रेका थिए । दैवीसत्ताले मेलम्ची क्षेत्रमा विनास गरेको खबर सुन्दा उपत्यकावासी पनि दुःखी भएका छन् ।
मेलम्चीमा ‘पानी र माटो’ सरावरी भएको छ । सयौं मानिसका घरबारविहीन भएको छ । तर अझै संकट टरेका छैन । सिन्धुपाल्चोक मेलम्चीको दुःख छिमेक जिल्ला दोलखामा पनि निम्तने हो कि भन्ने त्रास फैलिएको छ । तामाकोशी नदीको तटीय क्षेत्रमा सार्वजनिक सूचनामार्फत सुरक्षित रहन अनुरोध समेत गरिएको छ ।
मेलम्चीले गरेको विनास तामाकोशीबाट नहोस् ।
…
शनिवार बिहान भजन गुनगुनाउदै बित्यो ।
साहित्य, संगीत र कला भनेको जीवन हो । भनिन्छ, अनलाइन समाचार र देशका प्रमुख दैनिकहरुमा पनि शनिवार साहित्यका खजनाहरु प्रकाशन र प्रशारण हुने गर्छ । त्यो राम्रो कुरा हो । कमसेकम हप्ताको एक दिन र महिनाको चार दिन साहित्य, संगीत र कलामा मन लगाउँदा मनमित्रको मैलो पखाल्न सकिन्छ ।
शरीर फोहोर हुँदा नुहाउनु पर्ने भएजस्तै मनभित्रको दुःख र पीडा पखाल्न साहित्य, संगीत र कलामित्रको अन्तरङ्गभित्र प्रवेश गर्दा हामी सबैको भलो हुन्छ । त्यसैले शनिवारको दिनलाई विदा मनाउने, साहित्य र भजन सुन्ने दिनका रुपमा सदुपयोग गर्दा नैं मन भित्रको मैलो हटाउन सकिने रहेछ ।
…
लकडाउन भनेर सुनेको १८ महिना भयो । स्मार्ट लकडाउन गर्ने भन्ने चर्चा भएको एकसाता भयो । घरका सदस्य, दुध किन्न जाँदा डेरीका ग्राहक, साथीभाई, मित्रमण्डली के हो स्मार्ट लकडाउन भनेर प्रश्न गर्छन् ।
हिजो साँझ एक मित्रले स्मार्ट लकडाउनमा महलमित्रको पसल खोल्न पाइने हो कि होइन भनेर सोधे ? म बबुरोसँग पनि के उत्तर हुनु ?
उनी भन्दै थिए, ‘अब पनि पसल खोल्न नपाइने हो भने जिन्दगी वर्वाद छ । घरभित्र बस्न मनलाग्न छोड्यो । कति बस्ने, कति खाने, घरभित्रको काम कति गर्ने ? मोवाइल हेर्दा–हेर्दा ढाड र कम्मर दुख्ने समस्या भयो ।’
मित्रलाई सम्झाउनु प-यो, ‘हेर्नुस, तपाईलाई मात्र होइन, हजारौं मानिसलाई लकडाउनले ढाड, कम्मर र आँखा दुख्ने समस्या सुरु भएको छ ।’
‘तपाईलाई कस्तो छ ?’ मित्रले सोधे ।
‘मलाई पनि आँखाको अलि समस्या होला जस्तो छ, पुस्तक र कप्युटर हेर्दा र कुर्चीमा बस्दा म पनि रोगी भएँ ।’
स्मार्ट लकडाउन भएपछि अस्पताल जानेको लाइन लाग्न सक्छ । म पनि एकपटक आँखाको डाक्टरलाई जाँच गराउन जानु छ भनेपछि मित्र चुप लागे ।
हेर्नुस् त समस्या, अहिले डाक्टरलाई भेट्न पनि सकिन्न । त्यसैले आफैले एउटा जुक्ति निकालेँ आज । एक घण्टासम्म स्थिर आसनमा बसेर आँखा बन्द गरेर भजन सुन्दा मेरो शरीरमा स्फूर्ति आएको, आँखामा तेज बढेको अनुभव गरेँ ।
घरभित्र गर्ने योग र प्रणायमले मात्र पुग्दैन, हिँड्नु जस्तो राम्रो केही रहेनछ । गाउँघरतिर बस्ने मानिसलाई रोग कम हुनुको कारण हिँडाई र कर्मकिसानी नै रहेछ । कुरो अहिले आएर बुझिँदै छ ।
…
स्मार्ट लकडाउन भनेको के हो ?
केही अनलाइन सञ्चारमाध्यममा सीसीएमसीका पदाधिकारी तथा उद्योग मन्त्रालयका सहसचिव कृष्णहरि पुष्करले स्वास्थ्य मापदण्डको कडाईका साथ लागू गरेर आर्थिक सामाजिक क्रियाकपाल निरन्तता दिने योजनालाई लकडाउन भनिन्छ भनेर परिभाषा दिएका रहेछन् ।
गजब लाग्यो परिभाषा । मनमा लागेको थियो, स्मार्ट लकडाउन भनको अर्थ संकलन नै हो । असार लागिसक्यो, सरकारले कर उठाउन मौसम हो । यस्तो बेला अब केही उपाय गरेर करको दायरामा ल्याउनका लागि सरकारले निकालेको जुक्तिलाई सलाम छ ।
त्यसो पनि रहेछ, स्मार्ट भनेको स्रोत र साधनले भ्याएसम्म सबै काम अनलाइनबाट गर्ने ।सरकारले सोचेको छ रे, सकेसम्म धेरै काम मानिसको भौतिक उपस्थिति कम हुने गरी अनलाइनबाट गर्न सक्ने व्यवस्था गरिने छ । सरकारी निकायमा पनि थोरै कर्मचारी उपस्थिति गराएर भए पनि कर उठाउने छ ।
…
नेपाली लोक भजन सुनेँ–
छोरा भन्यो, छोरी भन्यो, दुःख सधै मरी
छोरो भयो बुहारीलाई
ज्वाईलाई चाहियो छोरी….
धन सम्पत्ति जति नै छ,
पैसा खाए पुग्छ, अनेक थरी रोग छ जिउमा
बसे घोडाँ दुग्छ…
तीर्थ, व्रत, जान सकिन्न, मुखले माग्छ मिठो–मिठो
खान सकिन्न…
तीर्थ सापकोटा र पूर्णकला विसीको स्वरको यो भजनमा समाजको यर्थाथ झल्कन्छ ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



